एकहप्ता देखी लोकमार्ग अवरुद्ध, बैकल्पिक मार्ग नहुँदा जनजीवन कष्टकर !
सुदूर पश्चिम (निसीभूजी) क्षेत्रका जनताको जीवनरेखा मध्य पहाडी लोकमार्ग सुचारु कहिले ?

दिनेश शर्मा, बागलुङ (भिङगिठे) २०७५ असोज ४ । बागलुङ जिल्लाको सुदूर पश्चिम क्षेत्र निसी, भुजी, तमान तथा रुकुम, प्यूठान, रोल्पा जिल्ला सम्मका जनताको जीवन रेखा (Life Line) मानिने मध्यपहाडी लोकमार्ग सात दिन देखी अवरुद्ध हुँदा त्यस क्षेत्रका लाखौँ जनताको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । पहिरोले गर्दा एक साता देखी अवरुद्ध लोकमार्गका साईड ईफेक्टहरु देखिन थालेका छन् ।

अत्यावश्यक उपभोग्य सामानहरुको अभावका साथै मुल्य बृद्धिले चर्को रुप लिन थालेको छ । लोकमार्गको ३३० मिटर खण्ड पहिरोले बगाएपछी अर्को बैकल्पिक सडक नहुँदा व्यापारी एवं आम नागरिक (यात्रुहरु) दैनिक उपभोग्य सामानहरुको ढुवानीमा ठुलो समस्या झेलिरहेका छन् । सडक मार्गको कुरा मात्र होईन, बैकल्पिक पैदलमार्ग समेत नहुँदा यस क्षेत्रका जनताले थप पीडा भोग्न बाध्य छन् ।

पहिरो छिचोलेरै पैदल यात्रा गर्दा पहिरोमाथीबाट ठुलो चट्टान खसेर एक महिलाको मृत्यु भएपछी पहिरोबाट आवत जावत गर्न रोक लगाईएको छ । जम्मा तीन सय तीस मिटर सडक खण्ड पहिरोले बगाउदा अहिले यात्रुहरु बैकल्पिक पदमार्ग बाट बुर्तिवाङ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ भने बुर्तिवाङ देविस्थान राजकुत, मालरानी हुँदै छिस बडीगाडको पुल तरेर भिङगिठे बैकल्पिक सडक मार्ग खुलाउने प्रयास भैरहेको जानकारीमा आएको छ ।

गत भदौ २९ गते राति ११ बजेको समयमा तुरतुरे देउरालीको पहिरो खसेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको छिटो पहिरो हटाएर लोकमार्ग सुचारु गर्ने र तालको पानीलाई सुरक्षित तवरले फाल्ने भन्ने बारे प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको समन्वयमा नेपाली सेनाको प्रविधिक टोली, नेपाल प्रहरी, मध्यपहाडी लोकमार्गका डिभनन प्रमुख समेतको टोलीले निरीक्षण अवलोकन गरेर फर्किएको थियो ।

नेपाली सेना पश्चिमान्चल पृतना कार्यालय पोखराबाट आएको नेपाली सेनाको ईन्जिनियरिङ टोलीले पहिरोको क्षुष्म अध्ययन गरेको थियो । निरीक्षणमा आएका मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका डिभिजन ईन्जिनियर रमेश दृष्टिले पहिरोले भत्काएको लोकमार्गको मर्मत गरी सडक खुलाउन निकै समस्या रहेको बताएका थिए ।

पहिरो रोकथामको काम पुरा नगरी केवल सडकको ढुंगाहरु पन्छाएर सडक सुचारु गर्नुमात्र समस्याको समाधान नहुने भन्दै पहिरोले नछोएको ५०/६० मिटर सम्म लोकमार्ग बीचबाट चीरा परेको र सडकको कुनातिर पनि सडक फाटेको हुनाले थप समस्या देखिएको उनको भनाई थियो । पहिरोमा खसेका ठुला ठुला चट्टान (ढुंगा)हरु बडीगाड खोलामा फाले खोला थुनिने भएकाले कहाँ व्यवस्थापन गर्ने ? भन्ने जटील समस्या रहेको उनले बताएका थिए ।

प्रजिअ खरेलको समन्वयमा आएको निरीक्षण अनुगमन टोली फर्किएपछी पहिरो प्रभावित सडक खण्डको मर्मत, बडीगाड खोलामा बनेको विशाल तालको पानी फाल्ने काम मध्यपहाडी लोकमार्ग आयोजना वा नेपाली सेना कसले लिन्छ भन्ने कौतुहलताका वीच पछिल्लो समय पहिरो प्रभावित सडक, सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन ले गर्ने कुरा प्रकाशमा आएको छ ।

यस सम्वन्धमा भएका पछिल्लो प्रयासहरुका सम्वन्धमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसंग ईबागलुङले संज्ञान लिन खोज्दा उनले सडक विभागको हेभी हेभी इक्विपमेन्ट डिभिजन कार्यालयले सो सडक खुलाउने र बडीगाड खोलामा बनेको तालको पानीको निकास भने नेपाली सेनाले गर्ने बारे बिचार भैरहेको आफुले जानकारी पाएको बताए ।

द्रष्टव्य: केहि तस्वीर सहकर्मी अर्जुन ढकालले खिचेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *