विशेषज्ञ टोलीको अध्ययन पछी तालको पानीको निकास खोजिन्छ : प्रजिअ
लोकमार्ग सूचारु हुन महिना लाग्ने, उपभोग्य बस्तुहरुको अभावसँगै मुल्यबृद्धिको चपेटामा उपभोक्ता !

दिनेश शर्मा, बागलुङ (भिङगिठे), २०७५ भदौ ३१ । तुरतुरेको भीषण पहिरोले मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेपछी स्थानीयको जनजीवन कष्टकर बनेको छ । दशैँ तिहार जस्ता चाडपर्वको पूर्व सन्ध्यामा दैनिक उपभोग्य बस्तुहरुको अभाव देखिनुका साथै मुल्य बृद्धि भएको अवस्था छ । मध्यपहाडी लोकमार्ग भएर रुकुम सम्म यात्रा गर्ने हजारौँ यात्रुहरु पहिरो छिचोल्न नसक्दा समस्यामा परेका छन । सवारी साधनहरु भिङगिठेमै रोकिएका छन् । आधा किलोमिटर लामो पहिरोको वारी र पारी सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्न समेत यात्रुहरुलाई महाकष्ट छ । स्थानीयवासी एवं यात्रुहरुलाई पैदल बुर्तिवाङ देखी भिङगिठे र भिङगिठे देखी बुर्तिवाङ आउन जान ढोरपाटन २ को सिमलचौर हुँदै बडीगाड ९ दर्लिङ मालारानी र बडीगाड ६ को बल्घास कालीरहको पुल तरेर भिङगिठे बजारमा पुग्न २ घण्टा भन्दा बढी समय लाग्छ ।

बुर्तिवाङ बजारबाट देविस्थान हुँदै राजकुत, मालारानी भएर सिस्नेरीको पुल सम्म सवारी साधन चल्ने बैकल्पिक सडक भएपनि राजकुतमा पहिरोले सडक विग्रिएकोले हाललाई यो सम्भव नरहेको स्थानीयले बताए ।

अहिले बुर्तिवाङका लागि छुटेका सवारी साधनहरु भिङगिठेमा रोकिएका छन् भने बुर्तिवाङ देखी बागलुङ, काठमाडौ बुटवललाई छुट्ने साना ठुला सवारी साधनहरु बुर्तिवाङ बजारमा थन्किएका छन् ।

तस्वीरमा दायाँबाट बायाँ, प्रहरी उपरीक्षक दीपक रेग्मी, प्रजिअ बेदप्रसाद खरेल र गणपति भुवनराज देवकोटा पहिरो अवलोकन गर्दै ।
पहिरो पन्छाएर लोकमार्ग सन्चालनमा ल्याउन करिव एक महिना लाग्ने श्रोतको दावी छ । लोकमार्ग सुचारु नहुँदा सम्म अस्थायी पैदलमार्ग बनाउने प्रयासमा रहेको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले वडा नं ५, ६ र ७ का अध्यक्षहरु क्रमश अर्जुन प्रसाद खरेल, मौसमकाजी क्षत्री र कृष्ण गुरुङ सहितको टोली भरखरमात्र पहिरोले पुरिएको लोकमार्ग बाटै ढुंगा पन्छाएर पहिरो क्रस गरेको जानकारी दिए ।
माथीबाट ढुंगाहरु खसेर पैदल मार्ग असुरक्षित हुन्छ कि ? भन्ने ईबागलुङको जिज्ञासमा अध्यक्ष पाईजाले त्यस्तो संभावना नरहेको बताए ।

उता तालमा रहेको पानीको सतह घटेको छैन । तालबाट ओभरफ्लो भएर बडीगाड खोलाको पानी आफ्नै साईजमा बगिरहेकोले तत्काललाई ताल तलको भागलाई कुनै खतरा नदेखिएपनि पहिरोको माथी अझैपनि विशालकाय ढुंगाहरु अड्की रहेको हुनाले ठुलो पानी परेमा पुन पहिरो खस्न सक्ने र बडीगाड खोला पुन थुनिन सक्ने संभावना रहेकोले स्थानीयवासीमा सन्त्रास भने कायमै रहेको छ ।

तुरतुरेको पहिरोले बडीगाड खोला थुनिएर बनेको ताल (जलाशय) अहिले आकर्षणको केन्द्र बनेको छ । तस्वीर खिच्ने र सामाजिक सन्जालमा पोष्ट गर्ने लहर नै चलेको छ । तालको बीचमा दुईवटा घरहरु डुवानमा छन् । त्यस घरका मानिसहरुलाई उद्धार गरिएको छ ।

स्मरणीयछ, गत भदौ २९ गते राति ११ बजेको समयमा तुरतुरे देउरालीबाट भीषण पहिरो झरेपछी बडीगाड खोला थुनिएर बिशाल ताल बन्दै गएपछी स्थानीयवासीमा कोलाहल मच्चिएको थियो । ताल देखी तलको तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कतामा रहन आग्रह गर्नुका साथै राति १ बजे नै बागलुङ सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको समन्वयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी तथा नेपाली सेनाको अर्जुनवाणका गणपति भुवनराज देवकोटा सहितको टोली घटना स्थल तर्फ प्रस्थान गरी विहान ५ बजे तुरतुरे आईपुगेको थियो ।

सवारी साधनहरु भिङगिठेमा यसरी थन्किएका छन् । तस्वीर मायाँ केसी, भिङगिठे ।
अहिले बडीगाड खोलाको पानी ओभरफ्लो भएर छेउबाट बगिरहेको छ, यो समाचार लेख्दै गर्दा सम्म तालको पानीको सतह भने नघटेको स्थानीयले बताएका छन् ।

तालको पानीलाई सुरक्षित तवरले निकास दिन के प्रयास भैरहेको छ भनी हामीले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसंग जिज्ञासा राख्दा पहिरो गएको ठाउँको विशेषज्ञ टोलीबाट अनुगमन अध्ययन गरेरमात्र तालको पानीको निकास खोज्नु उपयुक्त हुने हुनाले यस सम्वन्धमा गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको जानकारी दिए । हतारमा अत्तिएर काम गर्दा भविष्यमा झन आपत आईलाग्ने हुनाले संयमतापूर्वक संकटको निकाश खोज्नु समयसापेक्ष भएकाले आजै वा भोलि सम्म माथीबाट आएको निर्देशन अनुसार तालको पानीको निकास खोजिने प्रजिअ खरेलले बताए ।

मध्यपहाडी लोकमार्ग जतिसक्यो छिटो सन्चालनमा ल्याउन लोकमार्गको बागलुङ खण्डका डिभिजन ईन्जिनियरसंग कुरा भैरहेको पनि प्रजिअ खरेलले जानकारी दिए ।

तस्वीर- अर्जुन ढकाल बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *