दुर्गम छोरेगाँउ स्थित खुंगा स्वास्थ्य चौकीमा २२ वर्ष नि:शुल्क सेवागर्ने स्वयं सेविका अर्गेजाको भावपूर्ण बिदाई !

सुमन सुनार, बुर्तिवाङ २०७५ भदौ २५ । ढोरपाटन नगरपालिका वडा नं. ४ छोरेगाँउ स्थित खुंगा स्वास्थ्य चौकीमा २२ वर्ष देखी निशुल्क सेवा गर्दै आएकी स्वयंसेविका राजकुमारी अर्गेजालाई चौकीले आईतबार एक विशेष कार्यक्रमको आयोजना गरी भावपूर्ण बिदाई गरेको छ ।
स्वास्थ्य चौकीको प्रांगणमा बिदाई कार्यक्रमको आयोजना गरी सेवाबाट विदा लिएकी महिला स्वयम् सेविका अर्गेजालाई विदाई गरिएको खुंगा स्वास्थ्य चौकीका प्रमुख रामेश्वर ठाकुरले बताए ।


साविक खुंगा गाँउविकास समितिको वडा नं. ८ हुन्द्रफेदीलाई आफ्नो सेवा क्षेत्र बनाएर विगत २२ वर्ष देखि निःशुल्क रुपमा सेवा गर्दै आएकी स्वयम् सेविका अर्गेजाले आफुले विभिन्न समस्या कारण काम गर्न नसक्ने भन्दै सेवाबाट विदा लिएकी हुन् । विदाई कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु स्थानिय समाजसेवी बुद्धिजिवीले फुलमाला र अविर लगाएर सम्मान गरेका थिए ।
यस्तै उनलाई नेपाल सरकारको ब्यवस्था अनुसार २० बर्ष भन्दा बढी स्वयम् सेविकाको रुपमा सेवा गरे बापत दिने सेवा शुल्क अन्तर्गत नगद रु २० हजार पनि आईतबार नै हस्तान्तरण गरिएको छ । उक्त रकम वडा नं. ४ की वडा सदस्य तथा खुंगा स्वास्थ्यचौकी सञ्चालन तथा ब्यवस्थापन समितिकी उपाध्यक्ष कमला छवि विश्वकर्माले हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी विश्वकर्माले स्वयम् सेविका अर्गेजालाई रकम हस्तान्तरण गर्दै उनले पैसा भन्दा पनि आफ्नो धर्म सम्झेर चौविसै घण्टा खटिएर गाँउका महिला, बालबालिका तथा अन्य नागरिकको सेवा गरेको भन्दै प्रशंसा गर्दै धन्यवाद दिएकी थिईन ।

त्यस्तै स्वयम् सेविका अर्गेजाले २०५३ साल देखि अहिले सम्म झण्डै तिन दशक महिला स्वयम सेविकाको रुपमा आफु सेवामा रहदा निकै समस्या भोग्नु परे पनि गाँउका समुदायलाई धेरै कुरा आफुले सिकाएको र आफुले पनि धेरै कुरा सिक्ने मौका पाएको बताईन । आफ्नो घर परिवार केहि नभनि सेवा गर्दापनि राज्यले स्वयम् सेविकालाई खासै सेवा सुविधा दिन नसकेको अर्गेजाले गुनासो थियो । अर्गेजालाई महिला स्वास्थ्य स्वयम् सेविकाहरुले समेत १ थान प्रेसर कुक्कर हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।

त्यसैगरि विदाई कार्यक्रम कै अवसर पारेर नवनियुक्त दुई महिला स्वास्थ्य स्वयम सेविकालाई स्वागत तथा सम्मान गरिएको थियो । नवनियुक्त स्वास्थ्य स्वयम सेविकाहरु दुरमायाँ सापकोटा र हेमसरा गिरीलाई स्वागत गरिएको थियो ।

स्वास्थ्य चौकीका प्रमुख रामेश्वर ठाकुरको अध्यक्षता रहेको उक्त कार्यक्रममा अनमी मञ्जुसा घर्तिको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन अहेव सुमन चौरासीयाले गरेका थिए ।

तस्बिर – सुमन चौरासिया

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *