आदर्श सञ्चार सहकारी लाई गण्डकी प्रदेशकै नमुना सहकारी बनाउने अध्यक्ष जीसीको प्रतिवद्धता !

बागलुङ, २०७५ भदौ २५ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको नयाँ अध्यक्षको पदभार ग्रहण गर्दै हुमाकुमारी जि.सी. (अञ्जु) ले सहकारीको मर्म र भावना अनुसार संस्थालाई अगाडि बढाउन सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

१२ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष जिसीले साधारणसभाले संस्थाको कार्यक्षेत्र बढाएर गण्डकी प्रदेश स्तरीय बनाउने निर्णय गरेको भन्दै उनले प्रदेशकै स्तरीय सञ्चार गृहका रुपमा आदर्श सञ्चार सहकारीलाई स्थापित गर्ने लक्ष्य पुरा गर्नका लागि संस्थाका शेयर सदस्यहरु, कर्मचारी र सञ्चालकहरुबीच समन्वय र सहकार्य तथा क्रियाशिलता आवश्यक रहेको बताईन् ।

संस्थाका निवर्तमान अध्यक्ष अमरबहादुर थापाले नवनिर्वाचित अध्यक्ष जिसी (अञ्जु) लाई वैठक पुस्तिका हस्तान्तरण गरेर पदस्थापन गराएका थिए । यस्तै लेखा समितिका संयोजक थानेन्द्रप्रसाद गौतमलाई निवर्तमान संयोजक मिलन केसीले वैठक पुस्तिका हस्तान्तरण गरेर पदस्थापन गराएका थिए । नवनिर्वाचत सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

लेखा समितिका संयोजक थानेन्द्रप्रसाद गौतमले सञ्चालक समिति र कर्मचारीलाई थप क्रियाशिल बनाउन लेखा समिति सदैव तत्परताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित सञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले धौलागिरि क्षेत्रको सहकारी अभियानलाई अगाडि बढाउन आदर्श सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताउदै गण्डकी प्रदेश स्तरीय सहकारी बनाएर सूचना र सञ्चारको क्षेत्रमा क्रियाशिल रहन सुझाव दिए ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, संस्थाका सल्लाहकार डिलबहादुर कार्की, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख शैली खड्का लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका निवर्तमान अध्यक्ष थापाको अध्यक्षता, निवर्तमान लेखा संयोजक मिलन केसीको स्वागत र संस्थाका सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा सर्वोत्कृष्ट कारोबार गर्ने शेयर सदस्य रेणु केसी सहित उत्कृष्ट कारोबार गर्ने ७८ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाको भदौ १६ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाले हुमाकुमारी जि.सी. (अञ्जु) को अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र थानेन्द्रप्रसाद गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको थियो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा अनन्तबहादुर खड्का, सचिव ललिता थापा, सहसचिव सरस्वती खड्का परियार र कोषाध्यक्ष पूर्णबहादुर कार्की चयन हुनु भएको छ । समितिका सदस्यहरुमा शान्ति श्रेष्ठ, राजेश श्रेष्ठ, गिता खड्का, सिर्जना थापा मगर, अम्बिका जि.सी., खीमबहादुर केसी, दुर्गाबहादुर क्षेत्री, कमल लामिछाने, सावित्री खड्का र देवी कार्की खड्का रहेका छन् । लेखा समितिको सदस्यहरुमा पुष्पाकुमारी क्षेत्री र राधाकृष्ण ज्ञवाली चयन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *