प्रजिअ खरेलले भने- गल्कोट एफएम, समाजमा पिल्सिएका महिलाहरुको आवाज बनोस !
हटियाको तीज उत्सवमा सांसद केसीले उठाईन, रुपा हत्या काण्डका दोषिलाई कार्बाहीको माग !

महिलाहरुमा तीजको नाममा बिकृत बिसंगति बढ्न थालेकोमा नगरप्रमुख गैरेको चिन्ता !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ २३ । सामुदायिक रेडियो गल्कोट एफएमको आयोजनामा हटियामा जारी तीज उत्सव २०७५को अवसरमा बोल्दै सांसद मन कुमारी केसी (जीसी)ले २०७१ साल भदौ १२ गते तीजका दिन हत्या गरिएकी रुपा गौतमका काण्डको बिषयमा बागलुङका सरोबारबालाहरु अग्रसर बन्नुपर्ने बताईन् । गल्कोट एफ एमका पत्रकारहरुले समाचार समाग्री र गीत मार्फत रुपा हत्या काण्डको बिषयमा हालसम्म दोषिलाई सम्बन्धित निकायले कार्वाहिको दायरामा ल्याउन नसकेको उल्लेख गरेपछि सांसद केसीले दोषिलाई कार्वाहि गर्नका लागी अब प्रहरी प्रशासन, स्थानिय निकाय र बागलुङका सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् । तीज उत्सवमा प्रस्तुत समाचार समाग्रीमा ४ बर्ष सम्म पनि रुपा हत्यामा संलग्न अपराधीलाई कार्वाही नगरि सम्बन्धित निकाय मौन बसेको प्रति खवरदारी गरिएको थियो ।

कार्यक्रममा बोल्दै साँसद केसीले गल्कोटमा २०६६ साल माघ १९ गते भएको सुशिला साहानी हत्या काण्ड पनि महिलाप्रतिको दमनको एक उदाहरण भएको बताउदै आगामि दिनमा सुशिला हत्या काण्ड देखि रुपा हत्या काण्ड जस्ता महिला सम्बन्धि घटनालाई कम गर्नका लागी आफनो क्षेत्रबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । सांसद केसीले नेपाल जस्तो देशमा महिलाले पनि काम गर्न सक्छन भन्ने उदाहरण राष्ट्रपति, सभामुख र प्रध्यानन्यायाधीश भएर उदाहरण पेस गरेको उल्लेख गर्दै आफु सांसद भएको हुदाँ संसद बैठकमा गल्कोटे चेलिहरुले गीत तथा नृत्य मार्फत प्रस्तुत गरेको दुख र बेदनालाई राख्ने प्रतिबद्धता ब्यक्त गरिन । कार्यक्रममा केसीले गीत मार्फत ताराखोला गाउपालिका र गल्कोट नगरपालिकाका जनप्रतिनिधिसँग यहाँका जनताको सुख, शान्ति र समृद्धिका लागी हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले आफु जिल्लामा रहदाँ सम्म कुनै पनि महिलाले समाज र परिवारको दमन सहन नपर्ने बताउदै महिलाहरुलाई आफनो लोग्ने, परिवार र समाजले दमन गरे आफुले यस्ता ब्यक्ति, समाजलाई कार्वाहि गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गल्कोट एफएमलाई गल्कोटेहरुले साथी बनाउनुपर्ने उल्लेख गर्दै रेडियोले जसले आफनो आवाज बोल्न सक्दैनन उनिहरुको आवाजलाई बुलन्द बनाउन आग्रह पनि गरे । समाजमा पिल्सिएका महिलाहरु, पीडामा परेका ब्यक्तिको आवाज बन्न समेत खरेलको आग्रह थियो । समाजमा अझै पनि पीडामा परेका महिलाहरुले राहत पाउन नसकेको भन्दै प्रजिअ खरेलले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन रेडियोले सकरात्मक भुमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पछिल्लो समय महिलाहरुमा तीजको नाममा बिकृत बिसंगति बढ्न थालेको भन्दै महिलाहरुले तीजलाई सभ्य तरिकाले मनाउनुपर्नेमा जोड दिए । देखासिकी र भड्किलो तरिकाले भन्दा पनि महिलाहरुले तीजलाई मर्यादितरुपमा आफना दुख पीडालाई उजागर गर्ने गरि मनाउनुपर्ने उनको सल्लाहा थियो ।

कार्यक्रममा खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता सञ्चालन भईरहेको छ भने ५० बर्ष माथिका महिलाहरुका लागी सञ्चालन गरिएको प्रतियोगितामा टुल्की थापा प्रथम, ईन्द्रकली बुढाथोकी व्दितिय, हातेमालो आमा समुह तृतिय र भुमा गौतम सान्त्वना भएका छन ।

त्यस्तै खुल्ला तीजगीत तथा नृत्य प्रतियोगितामा २३ समुहको सहभागीता रहेको छ । महिला अभिभावकका लागी सञ्चालन गरिएको नृत्य भने कार्यक्रमको आकर्षण बनेको थियो । महिलाहरुले आफुहरुलाई समेत रेडियोले नाँच्ने अवसर दिएको भन्दै खुसी ब्यक्त गरेका थिए । उपस्थित अतिथी तथा दर्शकहरुले समेत उनिहरुको नाँचलाई उत्कृष्ट मानेको थिए ।

कार्यक्रमका अवसरमा प्रमुख अतिथी, बिशिष्ट अतिथिहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । सोहि अवसरमा कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य मञ्जु शर्मा चालिसेको अध्यक्षता, सदस्य बिजुली श्रेष्ठको स्वागत मन्तब्य, सरिता खत्री र शर्मिला बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *