रणस्मृति पुरस्कारको रजत महोत्सव सम्पन्न : शिक्षा र साहित्यको क्षेत्रमा पुराएको योगादनको प्रजिअव्दारा प्रशंसा !

बागलुङ २०७५ भदौ १७ । रणस्मृति पुरस्कार संस्थाको २५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए ।

समाजसेवी शक्तिबहादुर खड्काले आफ्ना पिता शिक्षासेवी स्व रणबहादुर खडककाको स्मृतिमा स्थापना गरेको रणस्मृति पुरस्कार संस्थाले आज २५ औँ वार्षिकोत्सव मनाएको हो । संस्थाले बागलुङ नगरपालिकाका बिद्यालयहरुमा कक्षा ५ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको छ भने संस्थाले नै स्थापना गरेको शक्ति पुरस्कार २०७५ पनि आजै वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बागलुङ नगरपालिका १ नारायण स्थान स्थित गणेशमावि कक्षा ५ का सुजन नेपाली, बानपा १ रामरेखा आधारभूत विद्यालयकी पल्पसा बोहोरा तथा गणेश मावि कक्षा ८ का प्रविण शर्मा, प्रमिण रोका र गणेश माविकै सिन्धु रेग्मीलाई पुरस्कार राशी सहित प्रमाणपत्र वितरण गरेका थिए । कक्षा ५ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई जनही रु १ हजार ५ सय र कक्षा ८ मा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थीहरुलाई जनहीँ रु २ हजार पुरस्कार राशी प्रदान गरिएको थियो ।

सोहि कार्यक्रममा प्मुख अतिथी प्रजिअ खरेलले शक्ति पुरस्कार २०७५ रुपन्देही भैरहवाका साहित्यकार, समालोचक बालकृष्ण भट्टराईलाई नगद पुरस्कार एवं दोसल्ला र प्रमाणपत्र सहित खादा ओढाई सम्मानित गरेका थिए । कार्यक्रममा २५ वर्ष देखी अनवरतरुपमा सचिवमा कार्यरत भोजबहादुर खड्कालाई पनि प्रजिअ खरेलले सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं प्रजिअ खरेलले बागलुङ जिल्लामा विगत २५ वर्ष देखी शिक्षा र साहित्यको क्षेत्रमा अनवरत सेवा गरी यसको विकासमा महत्वपूण योगदान पुराएकोको रणस्मृति पुरस्कार संस्थाप्रति हार्दिक कृतज्ञता प्रकट गरेका थिए । प्रजिअ खरेलले संस्थाका यस्ता रचनात्मक कार्यहरुले राम्रो सुवास प्रबाह भएको पनि उल्लेख गरे ।

संस्थाका अध्यक्ष काजी रोशनको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेश मावि नारायणस्थानका प्रधानाध्यापक चुडामणि सुवेदी, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, गण्डकी प्रदेश होटेल व्यवसायी सघका संयोजक अर्जुन चोखाल, साहित्यकार प्रेम छोटा, पुरस्कृत व्यक्तित्व बालकृष्ण भट्टराई, पुरस्कृत विद्यार्थीका तर्फबाट सिन्धू रेग्मी लगायतले मन्तव्य दिएका थिए ।

संस्थाका राजु खडकाले स्वागत भाषण गरेको कार्यक्रमको सन्चालन संस्थाका सचिव भोजबहादुर खड्काले गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *