साताको तस्वीर : त्यस बखतको ढोरपाटन !

२०७३ साल फागुन ३ गते, मेरा सम्वन्धी सन्तोष पाण्डेको बिबाहमा जन्ती जाँदा काठमाडौँको टेकुमा २०३३/३४ सालमा बागलुङ लोकसेवा आयोगका तत्कालीन हाकिम कृष्णबाबु तिवारीसंग भेट भयो । अर्थमन्त्रालयको सहसचिव पदबाट निबृत्त हुनुभएका तिवारीजी संग यस अघिपनि एकदुई चोटी भेट भएको हो तर फागुन ३ गतेको भेटमा उहाँले, ढोरपाटनमा त मोटर पुग्यो रे नि बिदुरजी ? भनेर सोध्दा झण्डै चालीस वर्ष पहिलेको अतीतलाई संझायो । हो त, चालीस वर्ष पहिले उहाँ, म र अरु एक दर्जन भन्दा बढी कार्यालय प्रमुखहरु ढोरपाटन यात्रामा गएका थियौँ ।

मित्र कृष्णबाबु तिवारी (दायाँ)संग ।

खासगरी श्रद्धालुहरु ढोरमा रहेको प्रशिद्ध ढोर बराह मन्दिरमा लाग्ने जनै पूर्णिमा मेला भर्न बढीमात्रामा पुग्ने गर्छन् भने बैशाख पूर्णिमा अर्थात चण्डि पूर्णिमापनि मेला भर्न श्रद्धालुहरु ढोरमा जान्छन् । जनै पूर्णिमाको मेला भर्नेगरी ढोरमा पुग्दा एकातिर धार्मिक दृष्टिले उपयुक्त हुने, अर्को तिर बागलुङ जिल्लाको पश्चिम भागको दृश्यावलोकन र ढोरको प्राकृतिक सौन्दर्यको रसस्वादन पनि गर्न पाईने हुँदा एक पन्थ दुई काम हुने ठानी हामीहरु २०३४ साउन महिनामा ढोर लाग्यौँ ।

२०७२ साल फागुन महिनामा ढोरको देउरालीमा पुगेपछीको सामुहिक तस्वीर ।

धौलागिरी अन्चलाधीश कार्यालयका तत्कालीन सहायक अन्चलाधीश परशुराम उपाध्याय, अन्चल प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी रामविनोद सिँह लगायत लोकसेवा आयोग, कृषि विकास कार्यालय, परिवार नियोजन कार्यालय, कृषि विकास बैँक लगायत एक दर्जन कार्यालयका तत्कालीन प्रमुखहरु सहित यो हरफकारको टोली जनैपुर्णिमाको मेला भर्न ढोर प्रस्थान गयो । सहायक अन्चलाधीश उपाध्याय र एसपी सिँह घोँडामा सवार थिए भने अरु हामी दर्जन साथीहरु पैदल हिड्यौँ । दुई दिनको पैदल यात्रा पछी हामी बुर्तिवाङ बासबस्न पुग्यौँ । भोलिपल्ट विहान ९ बजे बुर्तिवाङमै खानपिन गरी ढोर लाग्यौँ । साँझ पर्नु अघि ५ बजे तिर हामी ढोर देउराली उक्लियौँ ।

२०३९ साल जेठ महिनामा ढोरपाटन घुम्दा ।

ढोरमा सिमसिम पानी परिरहेको थियो, बाटो हिलाम्मे थियो, शरीर पानीले भिजेको खुटमा हिलैहिलो लिएर हामी बास बस्ने ठाउँ गोठमा छिर्दा हाम्रो स्वागतमा धुपी सल्लाको सोतर बिछ्याईएको थियो । त्यहिँमाथी बसियो, राति एकदुई वटा काम्ला र पाखी कसैले ल्याएर दियो र घन्चमन्च गरेर पल्टियो पनि । किनकि राति वरपर कतै डुल्ने घुम्ने अवस्था देखिएन । जताततै जाँडपानीले माहौल तातेको देखिन्थ्यो, सबै आआफनै सुरतालमा लट्ठ थिए । भट्टी भट्टी गोठगोठमा दोहोरी गीत घन्किएको थियो । कतै कसैको अनाबश्यक कोपभाजनको शिकार भैएलाकी भन्ने त्रास । हामीलाई सचेत गराईएको पनि थियो, जाँडपानी खाएकाहरुसंग टाढै रहनु बेस

लोपोन्मुख स्थानीय झाँक्री नाँच तथा तिव्वती युवतीहरुको नृत्य ।

आसपासका गोठ र छाप्राहरुबाट तन्नेरी तरुनीहरुले गाएका लोकगीतका मीठा र सुरिला भाका बाहिर आईरहेका थिए । लोकगीतका पारखीहरुलाई के को निद लागोस ।

विहान सवेरै हामी ती लोककलाकारहरुको खोजीमा निस्कियौँ । सुनौँ सुनौँ लाग्ने, मीठा भाका र लयका गीत गुन्जिरहेका थिए । छाप्रो भित्र पानी चुहिएर हिलैहिलो भएको ठाउँमा ती लोक कलाकारहरु अति मीठोगरी एकापसमा शिर जोडेर सुरिलो भाकामा कर्णप्रिय गीत गाईरहेका थिए, केहिबेर छेउमै उभिएर सुनिरह्यौँ ।

जनै पूर्णिमाको मेला र ढोरको स्यालपाखे लगायतका स्थानहरु घुम्यौँ । सात दिनको त्यो यात्रा कष्टकर भएरपनि अति सुखद स्मृति दायक रह्यो । कहिल्यै बिर्सन नसकिने, अहिले पनि झलझल संझनामा आईरहने रमणीय यात्रानुभव बन्यो । बागलुङ बजारबाट हिँडेपछी चाहे त्यो बास बसेको ठाउँ किन नहोस, चिया नास्ता लिने पसल होस या दिउँसो अर्निपर्नि लिने ठाउँ, जहाँपनि अति न्यानो स्वागतले हामीलाई निकै प्रफुल्लित तुल्याएको थियो ।
२०३९ सालको निसेलढोर र अहिलेको निसेलढोर ।

“मोटर पुगेपछी तपाई ढोरपाटन पुग्नु भयो बिदुरजी ?”

स्मृतिमा डुबुल्की मारिरहेको यो हरफकार तिवारीजीको प्रश्नले झस्कियो ।

“म त गत वर्ष फागुनमापनि गएको थिएँ, मोटर चढेर ।”

म सम्हालिएँ ।

“त्यो ढोरपाटन र अहिलेको ढोरपाटनमा कति फरक छ ?”

उहाँले स्वभाविक जिज्ञासा राख्नु भयो ।

“…चार दशक पहिले हामी ढोरपाटनलाई धार्मिक एवं पर्यटकीय दृष्टिले जति महत्व दिन्थ्यौँ, त्यो कायमै छ । तर अहिले धेरै कुरामा फरक (परिवर्तन) आएको छ…”

मैले जाने बुझेका केहि कुराहरुले उहाँको चित्त बुझाउने प्रयास गरेँ ।


ढोर बराहमा जनै पूर्णिमा मेला र ढोरका आलु ।

“चीनले तिब्बत कब्जा गरेपछी त्यहाँबाट भागेर आएका तिब्बती शरणार्थी (खम्पा)हरुको बाख्लो उपस्थितिका कारण ढोरपाटनमा हामीले देखेको चहल पहल अहिले धेरै कम छ । तिब्बती शरणार्थीहरुका कारण ढोरपाटन विदेशी दातृनिकायहरुको आँखामा परेको थियो । स्वीज स्वयंसेवक (भोलिन्टियर)हरुले ढोरपाटन ह्याण्डिक्राफ्ट सेन्टर खोलेर तिव्वतीहरुलाई गलैचा बुन्ने काममा सगाएका थिए । ढोपाटनमा बुनिएको गलैँचा नेपालमात्र नभएर विदेशमा पनि लोकप्रिय मानिन्थ्यो । त्यसबखत तिब्बती शरणार्थीहरुका लागि भारतको धर्मशालबाट तिब्बती प्रशासक खटि आउथे ।

२०३९ सालमा स्वामी रमेशानन्द दाजी, सिगानाका भाई महेन्द्र खड्का, प्राविधिक भाई नारायण गौतम र शंकर शर्मा (जिल्ला पन्चायत)को टोली ढोरपाटन र निसेल ढोर घुमेका थियौँ । त्यतिबेला स्वीस स्वयं सेवकहरु फर्किसकेका थिए । स्थानीयवासीले स्वीसहरुले भुजेल ढोरबाट निसेल ढोरसम्म मोटर साईकल कुदाएको कुरा सुनाएका थिए ।

ढोरपाटन ह्याण्डिक्राफ्ट सेन्टरका मास्टर मास्टर्नी र गलैँचा कारखाना, २०४३ ।

त्यसपछी २०४३ सालमा सपरिवार ढोरपाटन पुग्दा सम्म ढोरपाटनमा गलैँचा कारखाना सन्चालनमै रहेको थियो । गलैँचा कारखानाका सन्चालिका र उनका श्रीमान (मास्टर मास्टर्नी)संग भेट्यौँ । परोपकारव्दारा सन्चालित स्वास्थ्य केन्द्रका प्रमुख, बागलुङ सदरमुकाममा पढन बसेका तिव्वती युवाहरुको आतिथ्यतामा झण्डै २ हप्ता ढोरबास गरेर फकिएको थिएँ ।

यतिबेला ढोरपाटनको पहिचान बनेको गलैँचा भन्ने शव्द नै सुन्न छोडिएको छ । ढोरपाटन ह्याण्डीक्राफट सेन्टरलाई निरन्तरता दिएर स्थानीय युवयुवतीहरुलाई त्यस्को प्रशिक्षण दिन सकेको भए ढोरपाटन अहिले सुनमा सुगन्ध हुन्थ्यो । यो मेरो कल्पना मात्र हो ।

तपाई-हामी जाँदाका बखत अधिकारीचौर गाविस भुजीखोलामा देखिएको स्थानीय प्रविधियुक्त काठेपुल अस्तित्वमा छैन, न ढोरपाटनको नवी खोलामा बनाईएको पुलहरु नै देखिन्छन् । खोलाको बहाव परिवर्तन भैरहदा वर्षैपिच्छे नयाँ नयाँ घाटमा पुल बनाउनु पर्ने बाध्यता रहेको छ ।

अधिकारीचौर भुजीखोलाको काठे पुल र ढोर नवीखोलाको पुल जुन अहिले अस्तित्वमा छैनन् ।

दुई चार वर्षको अन्तरालमा पुग्दै गर्दा ढोरपाटनमा भैरहेको परिवर्तन रहरलाग्दो मात्र नभएर उत्तिकै डरलाग्दो पनि छ । झण्डै चालीस वर्ष पहिलेको हराभरा ढोरपाटन अहिले खोजेर कहाँ पाउनु ?

बगरमा परिणत हुँदै ढोरपाटन ।

एक वर्ष पहिले यसै महिनामा ढोरमा पुग्दा खेतीयोग्य जमीन बगर बनेको देख्दा त मन कुटुक्क खायो । ढोरपाटनलाई जलाशय बनाई विद्युत उत्पादन गर्ने सरकारी योजना अघि बढेकोले निकट भविष्यमा ढोरपाटन उपत्यकाको कायापलट हुने देखिन्छ । यहि भएर नै होला, ढोरपाटन बगरमा परिणत भैरहदापनि स्थानीय चिन्तित देखिन्नन् ।

ढोरपाटनमा बसोवास गर्ने तिव्वती, र स्थानीय युवती र जेष्ठ नागरिक ।

तिब्बतीहरु ढोरपाटनबाट पलायन हुने क्रम बढेको छ । अहिले थोरै मात्रामा शरणार्थीहरु ढोरपाटनमा रहेका छन् । तिब्बतीहरुले निर्माण गरेको गुम्बामा बस्ने लामा (गुरु)को केहि वर्ष पहिले हत्या गरिएपछी त शरणार्थीहरु पलायन हुने क्रम ह्वात्तै बढ्यो । गुम्बाहरु बन्द छन् । तिब्बतीहरुले स्थानीय जडीबुटीबाट औषधि उपचार गर्ने अस्पताल बन्द छ । परोपकार संस्थाव्दारा सन्चालित हेल्थ पोष्टपनि बन्द छ । पुराना भवनहरु भग्नाबशेषमा परिवर्तन भएका छन् । शरणार्थीहरुको चहलपहल न्यून रहेको छ । जो छन बृद्ध र अशक्तहरुनै बढी छन् ।
बन्द तिव्वती गुम्वा,भग्नावशेषमा परिणत भवन र स्थानीय प्रविधबाट बनेका घर ।

हाम्रो टोली ढोरमा पुग्दा त्यहा देखिने स्थानीयका घरहरु बिलुप्तप्राय: छन्, जो छन् ती भत्किएका वा भत्किने अवस्था छन् ।

केहि वर्ष पहिले सम्म ढोरपाटनमा ट्विन्वटर विमान अवतरण हुन्थे तर अहिले नयाँ विमान स्थल निर्माण गरी तारवार गरिएपनि हवाई सेवा सन्चालनमा छैन । शिकारी टोलीले शिकारको बेला हेलिकप्टर ल्याउने गरेका छन् ।

ढोर बराहको मन्दिर पुरानो (२०३९) र अहिलेको मन्दिर (२०७२) ।

ढोर बराहको मन्दिर (स्थान) पहिले हामी पुग्दा सानो र साँघुरो थियो अनि छानो छाएको थियो । मन्दिर भित्र विभिन्न आकारका शिलाहरु थिए । २०४३ साल सम्म मन्दिर यहि अवस्थामा थियो तर अहिले पुननिर्माण गरेर ठुलो र फराकिलो बनाईएको छ । मन्दिर भित्र घण्टीहरु झुण्डाउने र रातो सेतो धजाहरु चढाउने गरिन्छ । नयाँ मन्दिर निर्माण गर्दा मन्दिर छाएको कर्कट पाता एकदुई पटक हावाले उडाएपछी स्थानीयले छानो छाएका छैनन् ।
उनिहरुले बराहा भगवानले मन्दिरमा टिनले छानो हालेको मन नपराएको भन्ने गरेका छन् । ढोर बराहप्रति जति श्रद्धालुहरुको आस्था र विश्वास बढिरहेको छ त्यहि अनुपातमा मन्दिरको जिर्णोद्धार वा व्यवस्थापन हुन नसकेको श्रद्धालुहरुले बताउने गर्छन । जनैपूर्णिमा र चण्डि पूर्णिमा मेलामा ढोर बराहा स्थानमा सयौँको संख्यामा भेँडाका साँढको बलि दिईने प्रचलन कायमै छ । पूर्णिमा मेलामा छेलो खेल प्रतियोगिता गरिने र जित्नेलाई माल भनिने प्रचलन अहिले सम्मनि जारी छ ।

अहिले ढोरपाटनमा मुलुककै एक मात्र शिकार आरक्षको कार्यालय स्थापना भएको छ । मलुककै एकमात्र शिकार आरक्ष भएकाले यसको प्रशिद्धि विश्वव्यापि छ । बन्य जन्तुको शिकारबाट वर्षेनि लाखौँ राजश्व संकलन हुने गरेको छ । २०३९ सालमा स्थापित शिकार आरक्ष कार्यालयको आवश्यकता महसूस गरेका छैनन यहाँका केहि स्थानीय वासिन्दाले । बेला बखत यसको विरोध हुने गरेको छ । हालै नेपाली सेनाको गुल्म स्थापित भएपछी स्थानीयले सुरक्षित महसूस गरेका छन् ।

त्यतिबेला हामीले उसिनेर खाएको ढोरको आलु, अहिले उत्तिकै मीठो मानेर खाने गरिन्छ । ढोरवासीको मुख्य खाद्यान्नबाली नै अहिलेसम्म आलु नै हो । सडक यातायातको सुविधा भएकाले यहाँको आलु विभिन्न जिल्लाहरुमा सहजै पुग्न थालेपछि यसको माग अति नै बढेको छ ।

आगन्तुक पाहुनाहरुका लागि होटलहरु बनेका छन् । बास बस्न र खानपिनका लागी खासै समस्या रहेको छैन । स्थानीयहरु पहिले भन्दा अतिथी प्रिय छन् । सरसफाई, रहनसहन, बसउठमा उल्लेख्य परिवर्तन आएको छ । त्यतिबेला जस्तो खाना पकाउने भाँडा देखाउँदै ‘ल्याप चाटिको होईन घोप खनाईको हो’ भन्ने शव्द कहिँकतै सुन्न पाईदैन ।

तिव्वती भाषा कुँदिएको शिला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा रहेको जाल्पा ताल ।

आज ढोर पुगेर भोलि फर्कने पाहुनाहरुले त्यहाँको जनजीवन बुझ्न कठीन छ । सतही दृश्यावलोन गरेर ढोरको बास्तविकताको बखान गर्न संभव हुँदैन । त्यहाँको लोपोन्मुख संस्कृति, संस्कार, परम्परा आदिको संरक्षणको खाँचो खट्किएको छ । स्थानीय युवाहरु यसतर्फ जागरुक देखिन्छन् तर उनिहरु यस दिशमा अझै सक्रिय रहर्नपर्ने आवश्यकता छ ।

ढोरपाटनमा गाडी दौडिन थालेपछी दिनहुँ जसो ढोरपाटन घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको संख्या बढ्दो छ । अहिले जो साथीहरु ढोर घुमेर फर्कनुहुन्छ नि, उहाँहरुले क्या राम्रो रहेछ ढोरपाटन भनेर सुनाउँदा खुशी लागेर आउँछ । पहिले ढोरपाटनको हरियाली देखेकाहरुले अहिले उजाड हुँदैछ ढोरपाटन भनेपनि पहिलो पटक ढोरपाटन पुुग्ने पर्यटकहरु ढोरपाटनलाई प्रकृतिको स्वर्णिम उपहार भन्न भूल्दैनन् । यहि रहेको छ ढोरपाटनको विशेषता ।

तपाईलाई थाहै छ, २०१८ सालमा भारतका लागि नेपालका राजदूत नरप्रताप थापा सहित अमेरिकी प्राविधिक समेत गरी १० जनालाई लिएर काठमाडौबाट भारतको राजधानी दिल्ली उडेको शाही नेपाल वायुसेवा निगमको विमान ढोरपाटनको डाँडामा दुर्घटनाग्रस्त भएको थियो । हराएको त्यस विमानको खोजी ((रेस्क्यू)मा चालक सहित ६ जनालाई लिएर उडेको शाही नेपाल वायुसेवा निगमको अर्को पिलाटस्पोर्टर विमानपनि ढोरपाटन नजिकैको तिलाचनको धुरीमा दुर्घटना भएपछी ढोरपाटन एक्कासी चर्चाको शिखरमा पुगेको हो ।

नेपाली सेनाको ढोरपाटनमा दुघटनाग्रस्त जहाज ।

त्यस्को ठीक ५० वर्ष पछी, २०६८ सालमा नेपाली सेनाको जहाज ढोरपाटन उपत्यका भन्दा केहि माथी पहरामा ठोक्किएर दुर्घटना हुँदा जहाजमा सवार चालक सहित सबै यात्रुको मृत्यु भएको थियो ।

अहिले संझदा थुइए.. भन्दै पछुतो लागेर आउँछ । त्यतिबेला हामीसंग केमरा रैनछ कि कुन्नि ? या कसैले तस्वीर नै खिचेका रहेनछौँ कि । अथवा भएर पनि शेयर गरनौँ कि । ढोरपाटनको त्यो स्मरणीय घुमाईको स्मरणका लागि कुनै तस्वीर मसंग भएन । तर त्यस पछी म ढोरमा पुग्दाका भने तस्वीरहरु छन् र केहि यहाँ प्रस्तुत गरेको छु । यहाँ प्रस्तुत केहि तस्वीरहरु इबागलुङका फोटो संपादक किरण आयार्चले खिचेका हुन् । अस्तु,

यहाँ प्रस्तुत माथीको ठुलो तस्वीर ढोरपाटनमा मोटर पुग्नु भन्दा पहिलेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.