‘सिंहदारबारको अधिकार गाउघरमा’ कागजमा मात्रै प्राप्त – नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ १६ । सिंहदारबारको अधिकार गाउ गाउमा पुगेको छ भन्ने केन्द्रिय सरकारले जनतालाई आश्वासन दिए पनि स्थानिय तहले कागजमा मात्रै अधिकार प्राप्त गरेको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र गल्कोटको ९ औ बार्षिक साधारण सभाको उदघाटन गर्दै गैरेले यस्तो बताएका हुन् ।

जनप्रतिनिधिहरुले स्थानिय तहबाट सेवा प्रवाहलाई सहज बनाउने कोशिस गरे पनि सरकारले कर्मचारीतन्त्र आफनो काबुमा राख्न नसक्दा बिकासको गति अगाडि बढ्न नसकेको उनले आरोप लगाए ।

दुई तिहाईको सरकार नाममा मात्रै सीमित भएको भन्दै अहिलेको सरकार नाम र अस्तब्यस्तको सरकार भएको गैरेको भनाई छ । स्थानिय तहमा बिकास हुन नसक्नु जनप्रतिनिधि र कर्मचारी बिचको सोचाईमा एकता नहुनु प्रमुख कारण भएको गैरेको भनाई छ ।

यसैबिच गैरेले गल्कोटमा पछिल्लो समय सहकारी खोल्ने क्रम तिब्र रहेको भन्दै यसको ब्यवस्थापनका लागी नगरपालिकाले कदम चाल्ने बताए । अधिकांश सहकारीले बचत र ऋणको मात्रै कारोबार गर्ने गरेको भन्दै यसको अलाबा कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत सहकारीले लगानी गनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य तारा बहादुर बिक, गल्कोट बहुमुखि क्यापस प्रमुख कृष्णप्रसाद गौतम, बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाइ अध्यक्ष वीरेन्द्र श्रेष्ठ, सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मुक्तिप्रसाद शर्मा, महिला शेयर सदस्य कमला खड्का लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । साधारण सभामा सस्थाको आर्थिक कारोबारको बिषयमा प्रतिवेदन प्रस्तुत गरिएको थियो भने सेवा केन्द्र गल्कोटको बिषयमा सेवा केन्द्रका प्रमुख रिमा भण्डारीले जानकारी गराएकी थिईन् ।

२०६६ सालमा स्थापना भएको संस्थाले २०७२ साल चैत्र २६ गते गल्कोटमा सेवा केन्द्र बिस्तार गरेको थियो । गलकोटमा रहेर संस्थाले ३ सय ६५ दिने र सध्याकालिन काउण्टर सञ्चालन, संस्थाको सेयर सदस्यले जुनसुकै सेवा केन्द्र कार्यालय मार्फत बचत राख्न र झिक्न मिल्ने ब्यवस्था, रेमिटयान्सको सेवा, मोवाईल बैङकीङ सेवा दिईरहेको छ ।

आर्थिक बर्ष २०७४।०७५ मा संस्थामा १ करोड, २६ लाख ५८ हजार पुगेको संस्थाका प्रमुख रिमा भण्डारीले जानकारी दिईन । संस्थामा हालसम्म ४ सय ६२ जना महिला र ६ सय २० पुरुष गरि जम्मा १ हजार ८० जना सेयर सदस्य रहेको सहकारीका रोजिना गुरुङले जानकारी दिईन ।

कार्यक्रममा उत्कृष्ट बालबचत कर्ता दिपसना श्रेष्ठ, बालबचत कर्ता आर्जव श्रीस, उत्कृष्ट आवधिक बचतकर्ता मञ्जु शर्मा चालिसे, नियमित बचत कर्ता सिता शर्मा, असल ऋणि प्रेम बहादुर खत्री लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाको साधारण सभाको अवसरमा करिब १ दर्जन बढी नयाँ सेयर सदस्य बनेका छन । उनिहरुलाई नगरप्रमुख गैरेले टिका लगाएर सम्मान प्रदान गरेका थिए । प्रमुख अतिथी नगरप्रमुख गैरेलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको सहकारीले जनाएको छ ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । कार्यक्रम सेवा केन्द्रका संयोजक राम बहादुर खत्रीको अध्यक्षता र मिना चोखालको सञ्चालनमा सम्पन्न भएको थियो । सोहि अवसरमा सिवाइसी साकोस को प्रोडक्ट को बारेमा सेवाकेन्द्र संचालक उपसमितीका कोषाध्यक्ष लक्ष्मी खड्काले जानकारी गराएकी थिईन् । साधारण सभामा संस्थाका सञ्चालक समिति सदस्य, सेयर सदस्य, बिभिन्न उपसमिति लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *