प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी कुनै पनि कानुनलाई स्वीकार्न नसकिने सञ्चारकर्मीको उद्घोष !

रबिना बोहरा, बागलुङ २०७५ भदौ १३ । भदौ १ गतेदेखि मुलुकमा लागु भएको मुलुकी अपराध संहित ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजेको भन्दै सञ्चारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरुले संहिताले समाचार संकलन देखि प्रकाशन, प्रशारण गर्ने अवस्था सम्म नै अप्ठ्यारो अवस्था सिर्जना गरेको भन्दै यसलाई सच्याउन सरकार संग माग गरेका छन् । राजनीतिक नेतृत्वको दबाबका कारण शासकले आफूलाई असहज महसूस गर्दा यस्ता कानुन बनाउने गरेको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए ।

वक्ताहरुले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने र पेशा नै धरासयी बनाउने उद्देश्यले यस्ता कानुन तयार गरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी कुनै पनि कानुनलाई स्वीकार्न नसकिने उनीहरुको भनाई रहेको छ । पत्रकारले फोटो खिच्ने, गोप्य सुचना लिने र फरक तस्विर जोडेर प्रकाशन गर्ने कार्यलाई बन्देज गर्ने नाममा प्रेस स्वतन्त्रतामा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।

उनिहरुले यस्ता कानुनले अन्यौल सिर्जना गरेको बताएका छन् । सञ्चार माध्यममाथि राज्य अनुदार हुँदा सञ्चार क्षेत्रलाई जोगाएर कानुन बनाउने प्रशस्त आधार हुँदा पनि सरकारले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न चाहेको उल्लेख गरे ।

कार्यक्रममा अधिवक्ताहरु केशव पराजुली, राम शर्मा, काजी गाउँले श्रेष्ठले संविधान बनेपछि मौलिक हकको व्यवस्थापन गर्न असोज ३ गते सम्म कानुन बनाउनुपर्ने बाध्यता रहेको बताएका थिए । उनीहरुले व्यक्तिगत रुपमा आक्षेप लाग्ने समाचार संकलन गर्न रोक लगाएपनि सार्वजनिक पद धारण गरेको व्यक्ति वा सार्वजनिक स्थानमा भएको समयमा तस्विर, भिडियो लिनबाट रोक नलगाएको बताए ।

कार्यक्रममा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल र प्रहरी उपरिक्षक दिपक रेग्मी भने कार्यक्रम बिच सत्रबाटै कार्यालयमा काम परेको भन्दै आफ्नो धारणा नराखी बाहिरिए पछी सञ्चारकर्मीका हक अधिकारका बिषयमा बोल्न नचाहेको भन्दै पछि टिप्पणी पनि भएको थियो ।

सो अवसरमा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालले मुलुकी संहिता तथा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, पत्रकार किरण आचार्य, तारानाथ आचार्य, प्रदिप पन्त लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषको अध्यक्षता, सहसचिव नबिन शिशिर बिकको स्वागत मन्तव्य र सचिव राम थापा ‘अबिरल’ को सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *