साउन लागेपछी निर्माण कार्यहरु ठप्प : गल्कोटका मोटरेबल पुलहरुमा स्थानीयको चासो !

बागलुङ २०७५ भदौ १३ । बागलुङ जिल्लाका बिभिन्न गाउ तथा नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेका योजनाहरु साउन लागेपछी करीब करीब ठप्प छन् । कहिँ कहिँ त महिनौ वा वर्षौँ दिन देखी विविध समस्याले गर्दा निर्माण कार्य रोकिएको अवस्था छ । ठेकदार र कार्यालयबीचको सम्वन्ध जति सुमधुर बन्छ निर्माण कार्यको गति पनि उत्तिकै सीमित हुने अनुभव उपभोक्ताहरुको देखिन्छ ।

खासगरी सडक डिभिजन कार्यालय अन्तरगत निर्माण भैरहेका मोटरेबल पुलहरु मध्य गल्कोट नगरपालिका ३ हटिया गौदी खोलाको शिवालय घाटको पुल केहि महिना देखी अलपत्र अवस्थामा छ । २०७५ बैशाख २०, बिहीबार ईबागलुङले सो पुलका ठेकदारसंग पुल निर्माणको कार्यमा ढिलाई भएको विषयमा संज्ञान लिँदा ठेक्का सम्झौता गरि काम अगाडि बढाएको महिना देखि सड्क डिभिजन कार्यालयमा बेरिङको माग गर्दै आईरहेको भए पनि सुनुवाई नभएको निर्माण कम्पनीका सञ्चालक कुमार खड्काले बताए । खड्काले दिएको जानकारी अनुसार बेरिङ भारतबाट ल्याउनुपर्ने र सडक डिभिजन कार्यालयले अनुमति नदिएसम्म काम अगाडि बढाउन नसकिने बताएका थिए । तर सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी एवं उक्त पुलका साईट ईन्चार्ज चन्द्रेश्वर शाहले बेरिङको विषयलाई अस्वीकार गर्दै ठेकदारले समयमै निर्माण कार्य नगरेको आरोप लगाएका छन् । उनले बारम्वार पत्राचार गरिएको जानकारी दिँदै गत असार महिना भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए । बेरिङ भित्र निकै रहस्य छिपेको हुन सक्ने स्थानीयवासीको बुझाई रहेको छ ।

केहि दिन पहिले गल्कोट एफएमले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसंग लिएको अन्तर्वार्तामा यस विषयले प्रवेश पाएको थियो । गल्कोटबासीहरु पुल निर्माणमा भएको ढिलाई सम्वन्धमा प्रशासनबाट तत्कालै छानविन हुने विश्वासमा छन् ।

गल्कोट नगरपालिकाको मल्म र काँडेवास पचुवा जोड्ने मोटरेबल पुलपनि ठेकदारले एकातिरको पिलरमा रड ठडाएर भुक्तानी लिएपछी एक वर्ष देखी बेबारिसे अवस्थामा रह्यो । सन्चारमाध्यमहरुले ठेकदारले बीचैमा काम छोडेर गएको विषयमा समाचार सम्प्रेषण गर्दा समेत सडक डिभिजन कार्यालयले खासै चासो देखाएन ।

असार महिनाको अन्त्यतिर आएका ठेकदारलाई अनुगमनको सिलसिलामा निर्माणस्थलमा पुगेका प्रजिअ खरेलले सडक डिभिजनका प्रमुखकै अगाडीे तत्काल काम नगरे कार्बाही गर्ने चेतावनी दिएका थिए । एक महिना पुलको कार्य गरेपछी अहिले वर्षाको बहानामा निर्माण कार्य ठप्प छ । सूचना अधिकारी शाहका अनुसार वर्षातले गर्दा काम रोहिएको हो । तर स्थानीय जनता भने असार मसान्तमा रकम बुझेर ठेकदार हिँडेको बताउछन् ।

सो पुलका साइट इन्चार्ज दीपक पौडेलले अहिलेकै गतिमा निर्माण कार्य गर्ने हो भने यो मोटरेबल पुल अझै तीन वर्ष बन्दैन भनेर ईबागलुङलाई बताएका थिए । यो योजना सम्पन्न गर्नु पर्ने समय आगामी माघ महिना रहेको कार्यालयले जनाएको छ ।

ठेकदारको लापर्बाहीको गाथा त मुलुक भरनै सुनिन्छ, तर निर्माण कार्य समय मै सम्पन्न नहुनुमा ठेगदारलाई नै चुस्ने ठगदारहरुको चलखेलको पनि महत्वपूर्ण योगदान रहेको धेरैको बुझाई छ ।

कार्यालय र ठेकदार कम्पनि बीचको सम्वन्धले निर्माण कार्यले गति लिन नसकेका धेरै उदाहरणहरु बागलुङमा देखिन्छन्, जस्को पछिल्लो ज्वलन्त उदाहरण गल्कोट नगरपालिका हटिया र काँडेवास पचुवाको मोटरेबल पुल हुन् ।

निसीखोला गाउपालिका ४ मा निर्माणाधीन मोटरेबल पुलको ९५ प्रतिशत कार्य सम्पन्न भएको सूचना अधिकारी शाहले ईबागलुङलाई जानकारी दिए । पुलको दुबै साईडको स्लाब हालेपछी सम्पन्न हुने उनले बताए । केहि महिना पहिले उक्त पुलमा रहेका सब ओभरसियरलाई निर्माण कम्पनिका ईन्जिनियरले कुटपिट गरेको समाचार प्रकाशमा आएको थियो ।

ताराखोलाको साँबोटमा निर्माणाधीन मोटरेबल पुल । तस्वीर- मन्दिप निउरे, हिल ।
यसैगरी ढोरपाटन नगरपालिकाको भूजीखोला (रु ३ करोड) ताराखोला गाउपालिका साँबोट (रु ५ करोड) र बुर्तिवाङको लक्ष्मीकुण्ड बडीगाड खोलाको मोटरेबल पुल (रु ६ करोड) निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी शाहले बताए ।

गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणधीन भवन । तस्वीर- दिनेश खत्री, हरिचौर गल्कोट ।
उता शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङ अन्तरगत निर्माणाधीन अवस्थामा रहेको गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरको भवन एक महिना देखी ठप्प छ, रकम निकासा सहज नभएपछी विवाद बढेको स्थानीयले बताए । तर सूचना अधिकारी तेजेन्द्र शर्मा पौडेलले कुनै विवाद नभएको जानकारी दिए ।

हिल स्वास्थ्य चौकीको निर्माणाधीन भवन । तस्वीर- मन्दिप निउरे, हिल ।

ताराखोलाको हिल र गल्कोटको हटियामा निर्माणाधीन हेल्थपोष्ट भवनहरुपनि निर्माण सम्पन्न हुने अवस्थामा रहेको पौडेलले बताए । तर हिलका स्थानीयवासीले भने भवन ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताएका छन् ।

सूचना अधिकारी ईन्जिनियर पौडेलले धौलागिरी अन्चल अस्पतालको बहुचर्चित बी ब्लकको निर्माण कार्य केहि महिना पछि सम्पन्न हुने बताए । उनले बी ब्लकको निर्माण कार्य सम्पन्न भएपछी मात्र सी ब्लकको निर्माण कार्य शुरु गरिने पनि जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवन भने आगामी केहि महिना भित्र सम्पन्न हुने पौडेलको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *