अस्तिको तस्वीर : के यो तस्वीर नक्कली (झुठ्ठा) हो ?

बागलुङ २०७५ भदौ ६ । ईबागलुङ डटकमले गत भदौ ३ गते एक जना फेसबुक मित्रले भदौ २ गते आफ्नो फेसबुक वालमा ‘दुर्त गतिमा बिकास भैरहेको देखियो’ भन्ने बाक्य सहित पोष्ट गरेको खानेपानी धाराको उद्घाटन गरिएको तस्वीरलाई आजको तस्वीर : बागलुङ नगरपालिकाको द्रुत विकास !’ शिर्षकमा सम्प्रेषण ग-यो । तत्पश्चात विभिन्न सन्चार माध्यमहरुले त्यस तस्वीरलाई आ-आफ्नै ढंगले समाचार बनाई सम्प्रेषण गरे । यहि प्रशंग अहिले चर्चामा छ र यसलाई लिएर एकापसका दोहोरी चलेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमले यो तस्वीर सामाजिक सन्जालमा भ्याईरल बनाउने त्यस वडाका कांग्रेस सभापति शशिधर उपाध्यका छोरा देबेन्द्र गौतमको काम हुन सक्ने आरोप सम्म लगाउन तम्सिए । बिचरा काठमाडौमा अध्ययनरत विद्यार्थी गौतमले आफुमाथी लगाएको आरोप गलत र निराधार भएको विज्ञप्ती नै प्रकाशित गरेका छन् भने उपभोक्ता समितिका अध्यक्ष गौतमले सामाजिक सञ्जालमा बाँसले अड्काएको धारा उद्घाटन गरे भनेर लेख्ने र फोटो राख्ने विरुद्ध कडा ढंगले पेश हुने विज्ञप्ती निकालेर चेतावनी दिएका छन् । को कसमाथी कस्तो कडा ढंगले प्रस्तुत हुनेहुन् त्यो भविष्यले देखाउला ।

सन्चार माध्यमहरुमा आएको समाचारलाई विश्वास गर्ने हो भने, तस्वीर कस्ले पोष्ट ग-यो, कसले भाईरल बनायो भनेर नेताहरुले न्वारन देखीको बल लगाएर छानविन मात्रै नभएर उत्खनन् नै गर्न लागेको देखिन्छ । यथार्थमा कसले फेसबुकमा पोष्ट गरेको हो ? कसले भाइरल बनाएको हो ? ईबागलुङमा हुबहु प्रकाशित नै छ भने कस्ले भाईरल बनायो ? भनेर न्वारन देखीको बल लगाउनु पर्ने अवस्था नै छैन ।

‘तस्वीर बास्तविक हो कि नक्कली ?’ ‘सत्य हो कि झुठ्ठा ?’ मुल कुरा त्यो हो । तस्वीर नक्कली भए नक्कली भन्न सक्नु पर्छ । होईन भने, यसरी हो त योजनाको उद्घाटन गर्ने ? तस्वीर बास्तविक हो भने कसले भाईरल बनायो …? भनेर हल्ला गर्नु भनेको आफ्नो आङको भैँसी नदेख्ने अरुको आङमा जुम्रा केलाउनु हो भन्ने नेताजीहरुले मनन गर्नु पर्छ ।

सामान्यतया, कुनैपनि योजना सम्पन्न भएपछी उद्घाटन गरिन्छ । सम्पन्न योजनाहरुको ठुलाबडाहरुका बाहुलीबाट उद्घाटन गराउने परम्परा रहिआएको छ । योजनाको उद्घाटन गरिने स्तम्भ, स्थल वा स्थान पछिसम्म रहने गरी निर्माण गरिएको हुन्छ । बागलुङ नगरपालिकाले वडा नं ७ ढिकीचौरमा निर्माण गरिएको खानेपानी योजनाको जसरी एउटा बाँसको ठेट्नो गाडेर खानेपानी धारालाई प्लाष्टिकको डोरीले बाँधेर उद्घाटन गरिएको छ, त्यो आफैमा हास्यास्पद छ । माननीय अतिथीज्यूहरुलाई झुक्काएर उद्घाटन गराईएको हो कि उहाँहरु आफैले जानीजानी धारो उद्घाटन गर्नु भएको हो, त्यो आफ्नै ठाउँमा छ तर उद्घाटनको लागि तयार पारिएको स्तम्भ, स्थल भनौँ या धारोले निश्चय पनि सकारातमक सन्देश प्रवाह गर्दैन । जसले तस्वीर देख्छ बागलुङ त अझै त्रेतायुगमै पो रहेछ भन्न करै लाग्छ । बाँसको ठेट्नोमा धारो झुण्डाएर योजनाको उद्घाटन गर्ने, अनि कसले तस्वीर भाईरल बनायो ? भनेर तर्साउने कुपमुण्डक मानसिकतालाई नेताजीहरुले त्याग्नु जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *