गल्कोट नगरपालिका ४ मा बिद्युतीय जोखिम कमगर्न काठेपोल बिस्थापित !

गुमानसिँह भण्डारी गल्कोट २०७५ भदौ २ । गल्कोट नगरपालिका ४ ले विद्युतीय जोखिम कम गर्न विद्युत प्रशारण लाईनका काठेपोल विस्थापन गरेको छ । कम टिक्ने र हावाहुरी तथा बर्षाको समयमा जोखिम बढी हुने भएकाले काठका पोल विस्थापन गरिएको वडाध्यक्ष बल बहादुर खत्रीले बताए । वडाले नगरपालिका र नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र बागलुङको सहयोगमा काठका पोलहरुको ठाउँमा फलामे पोल जडान गरेको छ ।

आफु निर्वाचित भएपछि वडामा भएका १ सय ३८ ओटा काठका पोल बिस्थापन गरि फलामको पोल राखिएको खत्रीले बताए । ‘सुरुमा टोल–टोलमा विद्युत विस्तारका लागि काठेपोलको प्रयोग गरिएको थियो’ खत्रीले भने ‘लागतका हिसाब महंगो पर्ने भएकाले फलामे पोल जडान गर्न सकिएको थिएन ।’

विद्युत विस्तारका बेला विद्युत प्राधिकरणले ठुलो संख्यामा फलामे पोल उपलव्ध गराउन नसक्ने भएकाले काठेपोलले काम चलाईएको खत्रीको भनाई छ । काठेपोल विस्थापन भएपछि बिद्युतीय जोखिम कम भएको वडा कार्यालयले जनाएको छ । ठुलो हावा हुरी चल्दा र बर्षातको समयमा बिद्युत चुहावट भएर सर्वसाधारणलाई करेण्ट लाग्ने जोखिम समेत रहेको थियो ।

यसैबिच वडा भित्र १ करोड ७ लाखको लागतमा डिभिजन कार्यालय बागलुङको सहयोगमा बृहत गल्कोट खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको जानकारी दिँदै वडाध्यक्ष खत्रीले उक्त खानेपानी आयोजना निर्माण भएपछि ओखरबोट, डिहि, भलाबोट, काउले र डाडाँखेतका करिब ३ सय घरधुरी उपभोक्ता लाभाम्भित हुने बताए ।

त्यस्तै गल्कोट बृहत खानेपानी आयोजना अन्तर्गत ९५ लाखको लागतमा अर्को आयोजना समेत निर्माणधीन अवस्थामा रहेको छ । उक्त आयोजना निर्माण भएपछि खरुवा र चमुवाका करिब १ सय ४० घरधुरीका उपभोक्ता लाभाम्बित हुने बताईएको छ । वडाध्यक्ष खत्रीका अनुसार केन्द्रबाट स्विकृत २ करोड भन्दा बढिको सिचाई आयोजनाको काम समेत सञ्चालन भईरहेको छ । क्रमागत योजना अन्तर्गत डिभिजन कार्यालय बागलुङको सिचाई योजनाको सर्वेको काम सकिएको उनले जानकारी दिए । सिचाई आयोजना निर्माण भएपछि चमुवाफाँट र ओखरबोट फाँटका स्थानियहरु लाभाम्बित हुने अध्यक्ष खत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *