उपभोक्ता समितिका अध्यक्षले नै योजनाको ठेक्का लिएपछी, भ्रष्टाचार नभए के हुन्छ ?

बसपार्क अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिन भित्र नहटाए बल प्रयोग गरिने !

राम सुवेदी, बुर्तिबाङ २०७३ फागुन २० । बुर्तिवाङ नगर विकास समितिको आज सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकमा सरोकारवालाहरुले नयाँ शहर आयोजना अन्तरगत बुर्तिवाङमा भएका निर्माण कार्यहरुमा पारदर्शी नभएको भनी खुलेरै विरोध जनाएका छन् । उपभोक्ता समितिका अध्यक्षले नै योजनाको ठेक्का लिएपछी, भ्रष्टाचार नभए के हुन्छ ? सरोकारवालाहरुले बैठकमा गम्भीर प्रश्न उठाएका छन् ।

बैठकमा स्थानीय जनताले आयोजनाको काम मापदण्ड अनुसार नभएको, आयोजना सम्पन्न गर्दा त्यसको सूचना बोर्ड नागरिकले देख्ने ठाउँमा नराखिएको, तोकिएको समयसीमासम्म पनि ठेकेदार कम्पनीहरुले काम नगरेको, भए गरेका कामहरु समेत मापदण्डका नभएको भन्दै गुनासो व्यक्त गरेका थिए ।

नेकपा एमालका टंक प्रसाद पौडेलले, नयाँ शहर आयोजनाले ठेकेदारलाई नै निर्माण समिमितिको अध्यक्ष बनाएर गरेका काम कति पारदर्शी भए होलान ? भनी प्रश्न गर्दै आफै उपभोक्ता समितिको अध्यक्ष बन्ने र त्यही व्यक्तिले कामको ठेक्का लिनु कुनै पनि हालतमा ऐन नियमसँगत नहुने बताए ।

उनले गाउँ विकास समिति र नगर विकास समितिले कसरी वजेट फरछ्यौट गर्न सक्छ भन्दै यहाँ समिति र ठेकेदारबीच मिलेमतो भएको आशंका समेत देखिएकोे आक्रोश व्यक्त गरेका थिए ।

उता नगर विकास समितिका पूर्व अध्यक्ष तुल्सीराम अर्यालले, तत्काल काम सम्पन्न गरिने आयोजना स्थलमा सर्व साधारण जनताले देख्ने गरि आयोजनाको सबै विवरण खुल्ने गरि सूचना पाटी राख्नु पर्ने, शहरी आयोजनाको वजेट फ्रिज गराउन नहुने र सबैको पायक पर्ने स्थानमा सार्वजनिक महत्वका कार्यलयहरु राखिने गरि जग्गा व्यवस्थापन गर्न नगर विकास समितिले पहल थाल्न आग्रह गरे ।

बैठकमा गत असार महिनामा बुर्तिबाङ दुले हुँदै पुर्कोट जोड्ने सडक स्तरउन्नतिमा यस अघिनै ट्रयाक खोलिएको बाटोमा ३ दिन काम गरेर २८ लाख वजेट खर्चभएको देखाईएको थियो । उक्त सडक निर्माणमा धौलागिरी रोयल विल्डर्सका सञ्चालक थमप्रकास पुन आफै उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेको भन्दै सरोकारवालाहरुले विरोध गरेका थिए ।

आजको बैठकमा बुर्तिबाङ लक्ष्मी कुण्डघाट हुँदै कुत्थाप्ला जोड्ने २५ लाख वजेट खर्च गर्दा उपभोक्ता समितिको अध्यक्षका रुपमा विनोद कुवँर रहेको र कुवँरले नै उक्त सडकको ठेक्काको जिम्मा लिई काम गरेको भन्दै जनस्तरबाट उपभोक्ता समितिको अध्यक्ष र ठेकेदार एकै व्यक्ति हुनु राम्रो नभएको आवाज उठेको थियो ।

यस विषयमा कामको जिम्मा लिएका थम प्रकास पुन र विनोद कुवँरले भने आफूहरुले गरेको काम मापदण्ड विपरित भए नभएको अनुगमन गरेर आउ भन्दै अन्यथा यसखालको आरोप लगाउन नहुने चेतावनी दिएका थिए ।

आज सम्पन्न बैठकले केहि महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । बसपार्क वर परका स्थानीयबाटै अतिक्रमणमा परेको बुर्तिबाङ बसपार्क अवको ३५ दिनभित्र आफै नछाडे नयाँ शहर आयोजनाले बल प्रयोग गरि हटाउने भएको छ , नगर विकास समितिका अध्यक्ष सहित सरोकारवालाबीच आज नगर विकास समितिको कार्यालयमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

नगर विकास समितिले यस अघि नै बुर्तिबाङ बसपार्क क्षेत्रमा वसपार्कको जग्गा मिचेर बनाइएका घर टहरा हटाउन आग्रह गरिसकेको छ । मालपोत तथा नापी कार्यालयले कस कसले जग्गा मिचेर घर टहरा बनाएका छन भनी नक्साङ्कन गरि आयोजनाको कार्यालयमा एक रिपोर्ट समेत पेश गरेको छ । उता वसपार्क वरपर रहेका घरहरु के कति भत्काईनु पर्छ भनी चिन्ह समेत लगाइएको छ ।

नगर विकास समितिले वसपार्क अतिक्रमण गरेका घरहरु आफै भत्काउनका लागि अव आइतबार ३५ दिने सूचना टाँस गरि जानाकारी गराउने पहिलो प्रक्रियामा जाने निर्णय गरेको छ । यदी उक्त समय सिमामा त्यस स्थानबाट बसपार्क अतिक्रमण गरिब बनाइएका घर टहरा नहटाए आयोजनाकै पहलमा बल प्रयोग गरि भत्काईने भएको छ । यस अघि प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे सहित स्थानीय विकास अधिकारी सहितको बैठकले वसपार्क एरियाको जग्गा खाली गराउने र उक्त स्थानमा नयाँ संरचना बनाउने निर्णय गरिएकोले यसखालको निर्णय गरिएको समितिका अध्यक्ष अर्जुन शेरचनले बताए ।

यसैबीच आजकै बैठकले, निर्माणाधीन अवस्थामा रहेका योजना तत्काल सम्पन्न गर्न र टेन्डर प्रक्रियाबाट आफ्नो मातहतमा लिएको सबै योजनाहरु तत्काल निर्माण सम्पन्न गर्नका लागि छिटो छरितो ढंगले काम गर्न ठेकेदार कम्पनी सञ्चालकहरुलाई निर्देहन गर्ने निर्णय गरेको छ र उता बुर्तिबाङ बजार क्षेत्रमा कार्यालय व्यवस्थापन गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन तथा खरिद प्रक्रियामा ल्याउनका लागि नगर विकास समितिका सदस्य दलबहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय जग्गा व्यवस्थापन समितिको समेत गठन गरिएको छ ।

यही फागुन मसान्तसम्म अन्तिम म्याद रहेको नयाँ शहर आयोजना अन्तरगतको नगर विकास समिति बुर्तिबाङको आजको अन्तिम बैठकमा आजसम्म गरेका काम र भावी कार्ययोजनाका विषयमा स्थानीय सरोकारवाला सहितको बैठकलाई जानकारी गराएको छ ।

नगर विकास समितिका अध्यक्ष अर्जुन शेरचनको अध्यक्षतामा बसेको बैठकमा, नयाँ शहर आयोजनाका कार्यक्रमहरु कसरी सञ्चालन हुँदै छन र भए गरेका कामहरुमा के कस्ता समस्या छन भन्ने सवालमा समेत उपस्थित सरोकारवालाबीच जानाकारी आदान प्रदान तथा स्थानीयको गुनासो सुनुवाई भएको थियो ।
नगर विकास समितिले आयोजना गरेको बैठकमा नयाँ शहर आयोजना प्रमुख, प्रविण प्रताप अधिकारीले आयोजनाको तत्कालीन कार्यक्रम, भावी कार्ययोजनाका विषयमा जानाकारी दिएका थिए ।

अधिकारीका अनुसार आयोजनाले गत आर्थिक वर्षमा तय गरिएका पूर्वाधार विकास निर्माणका योजना मध्ये बुर्तिबाङ बसपार्क हुँदै उपल्लो बजार तथा पुल्चोकसम्मको सडक स्तर उन्नतिमा २० लाख विनियोजन भएकोमा, ठेकेदारले निश्चित समयमा काम पुरा नगरेको हुँदा १२ लाखको मात्र वजेट फरछ्यौट भएको छ । वाँकी वजेट फ्रिज भएको आयोजना प्रमुख अधिकारीले बताए । उक्त सडकको कालोपत्रे सहितका लागि यस आर्थिक वर्षमा ७० लाख वजेटको कार्यक्रम रहेको उनले बताए । सोही वजेटले भगवती मन्दिर हुँदै बुर्तिबाङ उपल्लो बजारको सडक स्तरउन्नति हुने अधिकारीले जानाकारी दिए ।

यस्तै यसै आर्थिक वर्षमा सोरवोट हुँदै भब्रेटा जोडने सडक स्तरउन्नतिका लागि ६५ लाखको कार्यक्रम राखिएको छ भने बुर्तिबाङ बजार, वरपिपल हुँदै भव्रेटा सम्मको सिँढी निर्माणमा ६० लाखको कार्यक्रम रहेको त्यस अवसरमा बताइएको छ ।

त्यस्तै यसै आर्थिक वर्षबाट बुर्तिबाङ कुत्थाप्लामा आयोजनाले वहुवर्षिय आयोजना अन्तरगत २ वटा ४ तले भवन बन्ने भएको छ । जस्को काम तत्काल थालनी भएको आयोजना प्रमुखले बताए । त्यस स्थानमा नयाँ शहरी आयोजना र नगर विकास समितिको भवन बन्ने नगर विकास समितिका अध्यक्ष अर्जुन शेरचनको भनाई थियो ।

उता बुर्तिबाङको वडा नं. २ तारिखेतमा जग्गा व्यवस्थापन तथा वस्ती व्यवस्थापनका लागि विनियोजन भएको ६५ लाख वजेट भने त्यहाँ विवाद भएको भन्दै स्थानान्तरण गरिने भएको छ । उक्त वजेटले बडीगाड खोलामा तटबन्ध गरिने कार्यक्रम ल्याईने अध्यक्ष शेरचनले बताए ।
यता नगर विकास समितिका अध्यक्ष शेरचनलाई पनि उपभोक्ता समितिको अध्यक्ष पनि आफै हुने र ठेक्का पट्टा पनि आफैले लिनु राम्रो काम नभएको भन्दै गाउँ विकास समितिबाट आएको सिफारिसका आधारमा यस्तो हुन गएको भन्दै त्यस्तो गल्ती गाविस कार्यलयबाट हुन नदिन सबै सचेत रहन आग्रह गरेका छन् ।

बैठकमा यहाँ स्थित राजनैतिक पार्टी प्रतिनिधि, एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना, पूर्व नगर विकास समिति अध्यक्ष तुल्सीराम अर्याल लगायत बुर्तिबाङ बजार स्थित सबै स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *