केन्द्रको नीति बिपरीत नेकपा नेतृत्वका लागि आ–आफ्नै नाम सिफारिस गरेपछी कार्यकर्ता असन्तुष्ट !

बागलुङ २०७५ साउन २७ । साविक एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को जिल्ला कमिटि नेतृत्व चयनका लागि कार्यदल सदस्यहरुले आ–आफ्नै नाम सिफारिस गरेका छन् । केन्द्रले अध्यक्ष र सचिवका लागि नाम पठाउन निर्देशन दिएपछि बागलुङबाटपनि नेतृत्वका लागि सम्भावित नामहरु पठाइएको हो ।

सम्भावित नेतृत्वको नाम पठाउँने जिम्मेवारी सहित पुर्व एमाले र पुर्व माओवादी केन्द्रका तर्फबाट पाँच–पाँच जना नेता सहभागी कार्यदलले कार्यदल भित्रका सबै नेताहरुको नाम सम्भावित नेतृत्वकर्ताको सूचीमा राखेर पठाउने निर्णय गरेका छन् । केन्द्रले संघीय तथा प्रादेशिक सांसद स्थानीय तहका प्रमुख, उपप्रमुखलाई जिल्लाको कार्यकारी पद नदिने निर्णय गरेपनि बागलुङबाट भने त्यस विपरीत नामहरु सिफारिस गरिएकोमा नेकपाकै कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् ।

कार्यदलमा पूर्व एमालेबाट मनकुमारी केसी, इन्द्रलाल सापकोटा, कृष्ण पाठक, लालबहादुर थापा र विष्णु भुषाल तथा पूर्व माओवादी केन्द्रबाट फमलाल निउरे, चन्द्रबहादुर बुढा, ज्ञामनाथ गैरे, प्रकाश घर्ती र राजिव घिमिरे सहभागी थिए । केन्द्रको निर्णयअनुसार कार्यदल सदस्य मध्य संघीय सांसद मनकुमारी केसी, प्रादेशिक सांसद इन्द्रलाल सापकोटा र चन्द्रबहादुर बुढा, जिल्ला समन्वय समितिका उपसभापति विष्णु भुषाल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जिल्लाको कार्यकारी पद नपाउने भएपनि प्रादेशिक सांसद इन्द्रलाल सापकोटाको नाम पुर्व एमालेका तर्फबाट अध्यक्षमा सिफारिस गरेको छ ।

कार्यदलले अध्यक्षमा दावी गरेका चार जना मध्य अध्यक्षमा चयन नहुने तीन जनालाई स्वतः प्रदेश कमिटिमा समावेश गर्ने गरी पुर्व एमालेका तर्फबाट इन्द्रलाल सापकोटा, कृष्ण पाठक पूर्व माओवादी केन्द्रबाट फमलाल निउरे र ज्ञामनाथ गैरे तथा सचिवका लागि पूर्व एमालेबाट लालबहादुर थापा र पूर्व माओवादी केन्द्रबाट राजिव घिमिरेको नाम सिफारिस गरेपनि प्रदेश समितिमा पनि पुर्व एमाले अध्यक्ष इन्द्रलाल सापकोटाको नाम राखिएको छ । ‘केन्द्रले जुन पदीय जिम्मेवारीमा रहेकालाई कार्यकारी पद नदिने भनेको छ त्यो विपरित सिफारिस भएछ, अध्यक्षमा नपर्ने स्वतः प्रदेश सदस्यमा सिफारिस मानिने निर्णय पनि गर्ने अनि प्रदेश समितिमा पनि नाम राख्ने काम सरासर गलत हो ।’ नेकपाका एक नेताले भने ।

नेकपाका नेता (पूर्व माओवादी नेता) कृष्ण बहादुर केसी आफ्नो फेसबुकमार्फत आफ्ना लागि आफैले गरेको निर्णय गलत भएको लेखेका छन् । केसीले निर्णय कमिटिमा आफै बस्ने अनि आफैलाई नेता गराइयोस भनि सिफारिस गर्ने कार्य केही जिल्लामा भइरहेको भन्दै प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको भन्दै यस्तो कार्यले आन्तरिक जनवाद्को हत्या हुने र पार्टीमा केही गुट स्वार्ग समुहले टाउको उठाउने स्थितिको सृजना हुँदै गएकाले नेतृत्वले यसलाई समयमै सच्चाउनु आवश्यक रहेको लेखेका छन् ।

पूर्व एमालेकातर्फबाट एकै व्यक्तिका नाममा दुई वटा निर्णय हुनुले पूर्व एमाले भित्रको गुटको चलखेल भएको हुनसक्ने नेताहरुले आशंका गरेका छन् । ‘पूर्व एमाले गुटले नै थलियो, अब कम्युनिष्ट एक भए, जिल्लाको पहिलो शक्ति बन्ने भयो भन्ने कार्यकर्तामा उत्साह थियो, तर पूर्व एमाले भित्रको गुटको राजनीतिले पार्टी थप धरासायी बन्ने भो, एक–दुई जनालाई रोक्नका लागि जसरी निर्णय भयो यो सरासर गलत हो ।’ पूर्व एमाले निकट एक नेताले भने ।
नेकपा नेतृत्वका लागि पूर्व एमालेका तर्फबाट हिराबहादुर केसी र श्रीप्रसाद शर्माले इच्छा देखाएका थिए तर ती दुवैजनाको नाम सिफारिसमा समेत नपरेपनि एक पक्ष असन्तुष्ट रहेको जनाइएको छ । केन्द्रको निर्णय अनुसार अगाडि बढेको भए पूर्व एमालेकातर्फबाट सापकोटाको ठाउँमा हिरा केसी वा श्रीप्रसाद शर्माको नाम जाने थियो, तर त्यसलाई रोक्नका लागि केन्द्रको निर्णय लत्ताइएको एक पक्षको आरोप छ ।

बागलुङका पत्रकार चन्द्र गणेशले पूर्व एमाले भित्रको गुट अहिलेसम्म अन्त्य नभएको भन्दै फेसबुकमा जिल्ला अधिवेशनताकाको गुटको लडाई अहिले आएर देखिएको लेखेका छन् । ‘तत्कालीन एमालेको जिल्ला अधिवेशनमा एक प्रकारको सहमति भएको हल्ला सुन्थ्या थे । आज प्रभाणित भयो, जे होस सहमति कडै रहेछ । सहमति दीर्घकालीनसम्म कायम नहोस । सबैलाई समेटेर लैजाने वातावरण अबको नेकपाले गरोस शुभकामना ।’ नेकपा निकट पत्रकार पौडेलले फेसबुकमार्फत गरेको संकेत तत्कालीन एमालेको जिल्ला अधिवेशनका बेला केही नेताहरुबीच अवसर बाँडफाँडका बारेमा सहमती गरेको र त्यही सहमति अनुसार अहिले अगाडि बढेको अनुमान गरिएको छ ।

तत्कालीन समयमै सापकोटालाई अध्यक्ष बनाउँन लागिपरेका गोविन्द नेपाली, जनक पौडेल, कृष्ण पाठक, डा. सूर्य पाठकबीच अवसर बाँडफाँड गर्नेगरी सापकोटा अध्यक्ष, गोविन्द नेपाली र डा. सूर्य पाठक संसदमा, कृष्ण पाठक जिसस प्रमुख, जनक पौडेल मेयर बन्ने सहमति भएको चर्चा गरिएको थियो । सोही सहमति अनुसार पाठक र पौडेलले अवसर प्राप्त गरेपनि दलीय गठबन्धनका कारण जिसस प्रमुख हुन नसकेका पाठकलाई अवसर दिनकै लागि पूर्व एमालेका अरु नेतालाई रोक्नका लागि सापकोटाको नाम केन्द्रमा पठाउँने निर्णय भएको हुनसक्ने पूर्व माओवादी नेताहरुले अनुमान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *