माधब पराजुली, पर्वत फलेवास २०७३ फागुन १९ । फलेवास—हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाय खोला सडक खण्डको निर्माण कार्य ठेकेदार भागेपछि अलपत्र परेको छ ।
मुडीकुवा देखि लमाय खोला सम्मको करिब ७.६ कि.मी.सडक खण्डमा २०७४ असार सम्म कालोपत्रे गर्ने काम सम्पन्न गर्ने गरि २०७२ सालमा सम्झौता भएको थियो । तर, सडक निर्माणको काम विचमै अलपत्र पारी ठेकेदार सम्पर्क बिहीन भएपछि कालोपत्रे गर्ने काम त्यसै अलपत्र परेको हो । स्थानियबासीहरु ठेकेदारले काम नगर्दा योजना निर्माणमा ढिलाई भएको भनी गुनासो गर्दै गर्दा ठेकदारनै भागेका छन् ।
क्षत्र नं. २ मा पहिलो पटक कालो पत्रे हुन लागेको दक्षिण पर्वत जोड्ने सबैभन्दा व्यस्त सो सडक खण्डको काम वसीफ ओभरसिज ईन्जिनियरिङ प्रा.लि.भरतपुर चितवनले. सडक कालोपत्रे गर्न रु.१२ करोड ३८ लाख ६२ हजारमा ठेक्का लिएको थियो ।
निर्माण व्यवसायी सम्पर्क बिहीन भएको जानकारी गराउदै डि.ई. लक्ष्मी प्रसाद मैनालीले सडक असार मसान्तमा सम्पन्न गरी सक्नुपर्नेमा ५० प्रतिशत काम बाँकी रहँदै फागुनको पहिलो साता तिर ठेकेदार फरार भएको बताए ।
ठेकेदारले पछिल्लो पटक यहिँ फागुन पहिलो साता रकम बुझेको देखिन्छ । ठेकेदारले २०७२÷०७३ को १ करोड ९६ लाख २६ हजार ९ सय र ०७३÷०७४ को २ करोड ४० लाख २४ हजार १ सय ५१ रुपैँया बुझिसकेको छ । तर, पैसा बुझेर ५० प्रतिशत काम अझै बाकीँ रहेकाले सममै काम नसकिने डरले फरार भएको स्थानीयले बताएका छन् ।
यता पर्वत क्षेत्र नं.२ का सांसद बिकास लम्सालले पर्वत क्षत्र नं. २ मा नै पहिलो पटक कालोपत्रे हुन लागेको दक्षीण जोड्ने सडक निर्माण कार्य अलपत्र पारी ठेकेदार फरार हुनु दुःखद भएको बताउँदै यो समस्या समाधानको लागि पहल गर्ने बताएका छन् ।