सबैले असल नागरिकको भुमिका निर्वाह गरे विकासले गति लिन्छ : अध्यक्ष थापा

बागलुङ, २०७५ साउन १३ । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले दिगो विकास र समृद्धिका लागि हरेक नागरिकले योजनामा असली श्रमदान र अपनत्व महुसूस गर्न जरुरी भएको बताएका छन् । । काठेखोला गाउपालिकाको बार्षिक समिक्षा गोष्ठीका अवसरमा बोल्दै उनले पछिल्लो समय योजनामा जनश्रमदान गर्ने संस्कार हराउदै गएको र हरेक समस्या जनप्रतिनिधिलाई देखाउने गरिएको भन्दै अध्यक्ष थापाले गुनासो मात्र गर्न भन्दा पनि हरेकले देशको असल नागरिकको भुमिका निर्वाह गरे विकासले गति लिने बताए ।

काठेखोला गाउँपालिका ४ तंग्रामले गत आर्थिक बर्षमा सम्पन्न योजना तथा कार्यक्रमको समिक्षा गरेको छ । वडा कार्यालयव्दारा शनिवार आयोजित बार्षिक समिक्षात्मक गोष्ठीमा आर्थिक बर्ष २०७४÷७५ मा बिनियोजित १ करोड १० लाख रुपैयाँको लागतमा सम्पन्न योजना तथा कार्यक्रमका बारेमा वडाबासीलाई जानकारी दिइएको छ ।

कार्यक्रममा वडा अध्यक्ष केशव थापाले गत आर्थिक बर्षमा वडामा प्राप्त बजेटबाट सबै योजना सफलतापूर्वक समयमै सम्पन्न गरिएको बताए । अध्यक्ष थापाका अनुसार, सडक तर्फ बिनियोजित ४१ लाख, शिक्षा तर्फ २२ लाख, खानेपानीमा ५ लाख, स्वाथ्य तर्फ १ लाख, कृषि तर्फ २ लाख, पर्यटन तर्फ ५ लाख, बिपद व्यवस्थापनमा २ लाख खर्च भएको छ ।

यसैगरी, समावेशी सशक्तिकरण तथा भ्रमण तर्फ ५ लाख, खेलकुदमा ४ लाख, सूचना प्रविधिमा ३ लाख, सामुदायिक लज निर्माणमा १४ लाख, बिद्युत तर्फ ५ लाख र हिम पाइपका लागि १ लाखको योजना रहेकोमा सबै काम असार मसान्त भित्रै सम्पन्न गरिएको अध्यक्ष थापाको भनाई छ ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले योजना काममा भन्दा पनि कागजमा सक्ने प्रवृत्ति अझै छिटफुट देखिएकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा वडाका तर्फबाट काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका अध्यक्ष केशव थापाले नेपाल पत्रकार महासंघ बागलुङले भवन निर्माणका लागि थालेको हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर अभियानमा १० हजार रुपैयाँ पत्रकार महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रम वडा अध्यक्ष केशव थापाको अध्यक्षता, वार्ड सदस्य टिकाकुमारी बिकको स्वागत मन्तव्य र वार्ड सचिव पहलमान थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *