राष्ट्रिय जनमोर्चा बुर्तिबाङद्धारा बाढी तथा पहिरो पीडितहरुलाई राहत रकम वितरण !

सुमन सुनार, बुर्तिबाङ २०७५ साउन १२ । राष्ट्रिय जनमोर्चा, ढोरपाटन नगरको वडा समितिले बुर्तिबाङका बाढि तथा पहिरो पिडितलाई राहत रकम वितरण गरेको छ ।

राष्ट्रिय जनमोर्चा वडा नं. १ बुर्तिबाङले बजार क्षेत्रमा सञ्चालन गरेको राहत रकम संकलन अभियानबाट संकलित रु ७१ हजार ६ सय ५० रकम आज एक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो ।

गत साउन १ गते राति अविरल बर्षासंगै प्राथमिक स्वास्थ्य केन्द्रको नजिकै रहेको ठाडो खोल्सामा आएको बाढी तथा पहिरोका कारण बुर्तिबाङमा करोडौंको क्षति पुराउनुका साथै बुर्तिबाङ बजार नै तहसनहस बनाएको थियो । उक्त बाढी तथा पहिरो प्रभावितहरुको अवस्थाको ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट संकलन गरिएको घटनास्थलको मुचुल्का र पार्टीले गरेको अनुगमनको आधारमा राहत रकम वितरण गरिएको राष्ट्रिय जनमोर्चा वडा नं. १ का अध्यक्ष दल बहादुर भण्डारीले ईबागलुङलाई बताए । अध्यक्ष भण्डारीका अनुसार बाढी पहिरो प्रभावितलाई ३ भागमा बर्गिकरण गरि राहत रकम वितरण गरिएको छ । पुर्ण रुपमा घरबास क्षती भएकालाई क श्रेणिमा, पूर्ण रुपमा व्यवसाय क्षेति तथा टहरा क्षति भएकाहरुलाई ख श्रेणी र घर टहरा वा व्यवसायमा आंशिक क्षेति भएकाहरुलाई ग श्रेणीमा वर्गीकरण गरी राहत रकम वितरण गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । जसअनुसार “क” श्रेणीका परेका ६ घरपरिवारलाई प्रतिपरिवार रु ३ हजारका दरले रु १८ हजार, “ख” श्रेणीका १७ घरपरिवारलाई प्रतिपरिवार २ हजारका दरले रु ३४ हजार वितरण गरिएको छ । त्यसैगरि “ग” श्रेणीमा परेका २० घरपरिवारलाई प्रतिपरिवार १ हजारका दरले रु २० हजार गरि ४४ घरपरिवारलाई नगद रु ७१ हजार राहत रकम वितरण गरिएको राजमोले जनाएको छ ।

उक्त राहत रकम वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति बाग्लुङका सदस्य गौरीस्वर पाण्डेले वितरण गरिएको राहत रकमले क्षती पुर्ति गर्न नसके पनि राष्ट्रिय जनमोर्चाले पीडितको घाउमा मलहम लगाउने प्रयास गरेको बताए । आपत विपत जो कसैलाई पनि पर्न सक्ने भन्दै विपत ब्यवस्थापनमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । यस्तै उनले बुर्तिबाङमा बाढी, पहिरोले करोडौँको क्षती पु¥याउदा समेत राज्यले आफ्नो उपस्थिति जनाउन नसकेको भन्दै दुःख ब्यक्त गरेका छन् । पाण्डेले जनतालाई परेको आपत, विपतमा राज्यले ध्यान दिन नसक्दा जनता राज्य विहिन जस्तो भएर बस्नुपरेको समेत गुनासो गरे ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महत, राष्ट्रिय जनमोर्चा जिल्ला समिति बाग्लुङका सदस्य दुर्गादेबी घर्तिमगर, नेपाली कांग्रेस ढोरपाटन नगर समितिका सभापति शालिकराम शर्मा लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका–१ का अध्यक्ष दल बहादुर भण्डारीको अध्यक्षता रहेको उक्त राहत वितरण कार्यक्रमको सञ्चालन तिलक बुढा मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *