झिसमिसे विहानीमा आईपरेको आपतबाट अझै व्युँतिन सकेका छैनन पीडितहरु…. !

टिकाराम भट्टराई,बुर्तिबाङ २०७५ साउन ७ । साउन १ गते अर्थात साउने संक्रान्तिका दिन बुुर्तिवाङबासीमाथी ठुलो बिपत आईप¥यो । संक्रान्तिमा छोरी चेली बोलाई खानपिन गरी पर्व मनाउने परम्परा पहिले देखि चलिआएको हो । धेरै ठाउँहरुको संगम स्थल बुर्तिबाङ बजारको सिमसारमा कोही माईती घर आएका थिए त कोही माईती घर पुगेका थिए कोही जादै आउदै क्रंम चलिरहेको थियो । साउन १ गते सोमबार दिउँसोबाट अबिरल वर्षा सुरु भयो ।

बुर्तिबाङ बजारकै सिमसारमा विगत १० बर्ष यता बस्दै आएका लिलाधर अर्यालको परिवारमा पनि संक्रान्ति छाएको थियो । बुहारी र नाति माईती पुगेका थिए भने कान्छा छोरा हिमाल पनि मामा घर पुगेका थिए । जेठा छोरा रोजगारीको शिलशिलामा बिदेशमा छन,जेठी छोरीको बिहे भैसकेको थियो । घरमा माईली र कान्छी छोरी आमा बुबा सगं बसिरहेका थिए । दिउँसोबाट केहि पानी पर्न थाल्यो त्यसमा पनि आफ्नो घर कच्ची, साँझ बाटोमा बगिरहेको पानी केहि बढ्ने संकते देखेपछि स्काभेटरको सहायताले बाटोको कुना तिर केहि खनेर गहिरो बनाईएको थियो जसले गर्दा पानी तल तिर सजिलैै बगिरहेको थियो ।

आफ्नो घरको तल्लो तलामा नव निर्मित स्वास्थ्य चौकी निर्माणमा काम गर्ने ८ जना कामदार समेत बस्ने गर्दथे । साँझ परे सगैँ सबैजना खानपिन गरी सुतिसकेका थिए । राती करिब १ः३० बजेको थियो उनीहरु मस्त निद्रामा थिए .एक्कासी घर छाएको टिन माथी ढुङ्गाले हानेको आवाज आयो ……..ढुङ्गाले हानेका थिए माथी बाटोमा बसेका मानिसहरुले त्यस पछि लिलाधरकी श्रीमती मनिकला ब्युझनुभयो र हत्तपत्त श्रीमानलाई उठाउनुभयो र क्रमश छोरीहरु । लगत्तै बाहिर निस्कनुभयो बाढी नजिकै आईसकेको थियो भाडामा बस्ने मज्दुरहरु अझै मस्त निद्रामा थिए मनिकला निकै आत्तिईन र दौडेर उनीहरु सुतिरहेको कोठाको ढोका ढकढकाईन ……उनीहरु पनि उठीहाले र लगत्तै बाहिर निस्किहाले । जब घर बाहिर निस्कीय तब बाढी पनि घर भित्र गईहाल्यो । मनिकलाले बाहिर निस्कदा सम्म केहि थाहा पाएकी थिईनन्, त्यस पछि उनि बेहोस भईन ………।!! होहल्ला मच्चियो जनतन मनिकलालाई केहि जुटेर स्वास्थ्य चौकी सम्म पु¥याए । बल्ल तल्ल २४ घण्टामा होस खुल्यो र श्रीमतीलाई बचाईयो लिलाधर भने “अझै जोखिम छ भन्छन के गर्नु अरु ठाउँमा जग्गा छैन,अब केहि सहयोग पनि उपलब्ध भयो अब जनतन बनाउने सोचमा छु, यस्तो विपद कसैलाई नपरोस्” ।

उता सुमन सुनारको परिवार पनि खानपिन गरी सुतिरहेका थिए । टिनले छाएको घर सानो पानी आउदा पनि ठुलै आवाज सुनिन्थ्यो अझ घर छेउमै रहेको नास्पतीको बोटमा निकै नास्पतस् फलेको थियो । छानामा ठुलै आवाज सुनिएको थियो सुमनका श्रीमान कृष्ण ब्युझिएका थिए उनलाई लागेको थियो नास्पती छानामा झ¥यो …..!! तर घरको छानामा इट्टाले हानिएको थियो, इट्टाले हानेर पनि नउठे पनि पानी बनाउने एक मिस्त्रीले ढोका ढकढकाउन पुगेका थिए । सबै जना ब्युझिए तर गर्नु के ……। चारैतिरबाट पानीले घेरीसकेको थियो बल्लतल्ल छेउमा रहेको घर भित्र जाने मौका मिल्यो । सबैजना छिमेकीको घरको छतमा पुगे वरिपरीका घरमा बस्ने करीब ६०–७० जना रहेका थिए,सबैजना निकै आत्तिएका थिए । आत्तिएर के गर्नु ? चारै तिर बाढी थियो । बिहान करिब ४ बजेको समयमा स्काभेटरको बकेट मार्पmत उद्घार गरिएको थियो । सुमन भन्छिन “बाच्नु नै ठुलो कुरा थियो, बल्लतल्ल बाँचिया,े धन सम्पति त जोड्न सकिएला नि ” केहि समय पहिले देखि सबैको भाग्य रेखा बताईदिने गरेकी सुमनले गह भरी आँशु लिदै भनिन “ कतिलाई बचाए,कति बिरामी सन्चो बनाए सकेसम्म सबैको सेवा गरे तर अहिले म माथी नै यस्तो आई लाग्यो……….!!

उता निसीखोला गाउँपालिका बडा नम्बर २ उपल्लो बेङ्ग्रीकी यम कुमारी बिकले पनि विगत ८ महिना यता सिमसारमै साथीभाई रेष्टुरेन्ट चलाउदै आएकी थिईन । दुई छोरी सहित ४ जनाको परिवार रहेकोमा उनका श्रीमान रिम बहादुर बिकले पेट्रोल पम्प नजिकै ग्यारेज सञ्चालन गर्दै आएका थिए । केही आम्दानी थियो छोरीलाई बोर्डिङ स्कुल पठाउँथे जे होस हाँसीखुसी दिनहरु बितिरहेका थिए । साउन १ गतेका दिन यम कुमारी होटल बन्द गरि दुई छोरी सहित माईत पुगेकी थिईन सक्रान्ति खान । यता उनका श्रीमान रिम बहादुर बि.क दिनभरी ग्यारेजमा काम गरि बेलुका खानपिन सहित सुतेका थिए । साझँ देखि नै नव निर्मित हस्पिटलमा बाढी पस्न सुरु गरेको थियो भने हस्पिटल रोडमा केहि भलखोल गरेको थियो । बसैलाई पत्तो समेत थिएन कि त्यति ठुलो बाढी आउँला भन्ने ।

राति करिब १ ३० बजेको थियो,पानी परिरहेको थियो,बुर्तिवाङबासीहरु मस्त निद्रामा थिए बुर्तिवाङ बजार देखि केहि माथी भब्रेटाबाट एक्कासी रेलो सहितको बाढि बाटो काटी सिमसार तिर लाग्यो ……….!!

केहिले बाढी पसेको थाहा पाए र सुरु गरे हार गुहार ….. !! र केहि बल्ल तल्ल घरका छतमा जम्मा भए । कोहीलाई अझै पत्तो थिएन, थिए मस्त निद्रामा….. । कोहीको आफ्नै घर थियो कोही सटर भाडामा लिएर व्यापार व्याबसाय गरेका थिए त कोहि छोरा छोरी पढाउन कोही आफै पढ्न समेत बसेका थिए । माथी माथी घरमा रहेका जनतन सकुशल रहे उता दिनभरको थकाई अझ श्रीमती माईत लागेकी केहि पिएर सुतेका रिम बहादुरले केहि पत्तो समेत पाएनन । धन्न उनका भाई बुहारीले ब्युझाए र बाच्न सफल भए ।

केहि क्षणमै बुर्तिवाङ बजार क्षतविक्षत बन्यो । साउने सक्रान्तिको चाड मनाउन माईती घर पुगेकी यम कुमारी बिहान उठ्ना साथ फोन गयो…..बाढीले घर पुरियो …..!! जब उनको कानमा बाढीले घर पुरियो आवाज पुग्यो तब उनको होस चेत उड्यो र लागिन बुर्तिबाङ बजार तिर …… !! उनी भन्छिन “दाजुले के भन्नुभएको हो बहिनी भन्नु भयो तर मैले केहि अत्तो पत्तो पाईन, मेरा छोरीहरु मेरै साथमा नै थिए मलाई आफ्नो त प्रवाह नै थिएन, प्रवाह थियो त आफ्नो श्रीमान रिम बहादुरको ” जब उनि बुर्तिबाङ आईपुगिन धन्न उनका श्रीमानलाई केहि भएको थिएन । उनलाई लाग्यो यो प्राकृतिक विपतले बिचल्लीमा त पा¥यो पा¥यो जसो तसो जिउँनु प¥यो गरेर खाने हात खुट्टा त सकुशल छन् । सबैको रुवाबासी थियो उनि भक्कानिदै ………. भनिन अरुलाई हेरेरै भए पनि मन बुझाउनु प¥यो । अब बस्ने ठाउँ छैन बुर्तिबाङ बजारमा कोठा नपाएको र पाए पनि एउटा कोठाको भाडा रु ४५०० सम्म भन्ने गरेको दुखेसो समेत पोखिन ।

घरबास गुमाएरहरुका लागि स्कूलको भवनमा आश्रय लिन भनिएको थियो केहीले आश्रय लिए केही आफन्तको आश्रयमा पगका छन् । नगरपालिका ,रेड्क्रस एवंम केहि सघं संस्था र पार्टीबाट केहि राहत वितरण गरिएको थियो । अहिले स्काभेटर लगाएर आफ्ना पुरिएका सर सामान निकाल्दै छन् भने कोही ओठ मुख सुकाई हेरिरहेका थिए । पुरिएका अन्न र कुखुरा कुहिएको गन्ध आईरहेको थियो । पीडितहरुको मुहारमा त्यहि कहाली लाग्दो क्षणको प्रतिबिम्ब देखिन्थ्यो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *