समाचार टिप्पणी : पर्वतका निष्ठुरी सांसदहरुले पहिरो पीडितहरुको घाउमा मल्हम लगाएनन् !

महेन्द्र केसी, पर्वत २०७५ साउन ६ । साउन महिनाको पहिलो दिन अविरल बर्षाका कारण जलजला गाउँपालिकामा बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षती भयो । एक जनाको ज्यानै गएको छ । पहिरोबाट जलजला ८ का मात्रै २२ घर बिस्थापित भएका छन भने सुकुम्बासी बस्तीका ९ घर पुर्ण क्षति भएका छन र १४ घर आँशिक क्षति भएकाले जोखिममा छन । जब बर्षा शुरु हुन्छ तब फेरी पनि बाढी, पहिरोले घरबासनै लैजाने हो कि भन्ने पिरमा छन् स्थानीयबासी ।

पर्वत जिल्ला क्षेत्रफलका हिसाबले अतिनै सानो जिल्ला हो । जति छानो जिल्ला भएपनि भौगोलिक हिसाबले त्यतिनै कठिन र बर्षासँगै खतराको घण्टी बजाइरहने जिल्ला पनि हो ।
बाढी पहिरोका कारण सडक खण्ड हिलाम्य र जोखिमपूर्ण त हुनेगर्छन् त कतिपय ठाउँमा बस्तीनै जोखिमा समेत रहेका छन् । भूकम्प (२०७२ बैशाख १२) ले जमिनलाई चलाएमान गराइदिएको छ जसले गर्दा पनि पहाडी जिल्ला पहिरो, बाढीको उच्च जोखिममा छ ।

मालढुंगामा रहेको सुकुम्बासी बस्ती विगतदेखिनै जोखिमा छ तर त्यहाँको बस्ती स्तानान्तरण हुन सकेको छैन । कुनै पनि बेला त्यहाँ अप्रिय घटना घट्नसक्ने सम्भावना छ । कालीगण्डकीको कटानसँगै बाढीको जोखिम पनि उत्तिकै छ ।

जब विपद पर्छ तब राज्यले अनेक उपाय र योजना ल्याउँछ, बर्षायाम विस्तारै ढल्दै जान्छ तब ती योजनाहरु पनि विस्तारै पन्छिदै जान्छन् । यसले गर्दा पनि देशले हरेक बर्ष प्राकृतिक विपदबाट ठूलोमात्रमा जनधनको क्षती व्यहोरिरहेको छ ।

भौगालिक हिसाबले सानो जिल्ला पर्वत भएपनि राजनीतिक हिसाबले ठूलो फड्को मारेको छ पर्वत जिल्लाले । संघीयता कायम भएसँगै पर्वत जिल्लाले मात्रै ७ जना सांसद पाएको छ । दुइ निर्वाचन क्षेत्र कायम भएको पर्वतले राष्ट्रियसभाको प्रमुखका रुपमा गणेशप्रसाद तिमिल्सिना पाएको छ । त्यस्तै प्रनिधिसभामा पदम गिरी र लालकाजी गुरुङ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका छन् ।
प्रदेशस्तरतर्फ गण्डकी प्रदेशमा समेत पर्वतले सभामुखमा नेत्रनाथ अधिकारी, बन तथा बातबरणमन्त्रीमा विकास लम्साल पाएको छ । त्यस्तै जुनादेवी नेपाली र ललितकला गुरुङ सासद पनि पाएको छ ।
विडम्वना चुनावको बेलामा पटक पटकसम्म भोट माग्न बस्तीबस्तीमा पुग्न हतार गर्ने मान्यवरहरु यो दुखद घडीमा एक पटक पनि फर्केर हेर्न आएका छैनन् ।
केन्द्रदेखि प्रदेशसम्म सानो जिल्ला भएर पनि आधा दर्जन सांसद पाएको जिल्लामा विपद पर्दा सांसदहरु एक पटक फर्केर आउने चेष्टा नगर्दा दुखी पीडितहरु मन छियाछिया बनेको छ । जलजलाबासीको हार गुहार, पीडाका ती हृदयविदारक शब्दहरु सुन्न सक्ने हिम्मत हाम्रा यी नेताहरुमा देखाउन सकेनन् ।
गणेश तिमिल्सिना, राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले घटनाबारे जानकारी पाउँदासाथ एक विज्ञप्ती जारी गरे । उनले उक्त विज्ञप्तीमार्फत उक्त घटनाप्रति दुख, घाइतेको शिघ ्रस्वाथ्यको लाभको कामना गरे । तर त्यहाँको बस्तुस्थीति, एक जिम्मेवार नेताको हिसाबले स्थलगत अबलोकन गर्न र पीडितलाइ प्रत्यक्ष भेटघाट गरी सहानुभूति भने देखाउन सकेका छैनन् । जिल्लाको जोखिमपूर्ण क्षेत्रको पहिचान गरी बस्ती स्थान्तरणको लागि पनि केहि पहल गर्न सकेका छैनन । राज्यको उच्च पदमा पुगेपनि जिल्लाको यो पीडामा मल्हम लगाउनको लागि सरकारको ध्यानाकर्षण गरी तत्काल पीडितलाई राहत र सम्भावित घटना र जोखिमपूर्ण क्षेत्रको पहिचान र त्यहाँको बस्ती स्थानन्तरणको लागि भूमिका निर्वाह गर्न सकेका छैनन् ।
पदम गिरी, प्रतिनिधिसभा सदस्य
झण्डै १८ बर्षपछि युवा पुस्ताको जोश र जाँगर सँगै जिल्लाको विकास र सहाराका रुपमा विजयी भएर प्रतिनिधिसभामा पुगेका सांसद पदम गिरी चर्को आलोचना पछि मात्रै गृहजिल्ला प्रवेश गरे । घटनाको बारेमा बुझ्न स्थलगत अबलोकनमा पुगे । विभिन्न प्रतिबद्धता व्यक्त गरेर फर्किए । तर उनले जिल्लाको समग्र सम्भावित जोखिमको अबस्था न्यूनिकरणको लागि भने खासै चाँसो देखाएको देखिएन । जिल्लाको जनप्रतिनिधिको हैसियतले उनले जून भूमिका निर्वाह गर्न आवश्यक थियो त्यो उनीबाट हुन सकेको छैन ।
लालकाजी गुरुङ, प्रतिनिधिसभा सदस्य
समानुपातिक नेका पर्वतबाट सिंहदरबार पुगेका लालकाजी गुरुङ गुमनाम नेताजस्तै बनेका छन् । जिल्लाको बस्तुस्थीतिको बारेमा अनविज्ञनै बनेर बसेको देखिन्छ । सांसद भएदेखि जिल्लामा कमैमात्र आएका गूरुङ जिल्लाको विपद व्यवस्थापनको लागि खासै चाँसो देखाएको देखिदैन । पार्टीलाइ सहयोग गरेको समानुपातिकमा परेको भन्ने एउटा घटनाजस्तै भएको देखिन्छ । समानुपातिकबाट संसदभवनमा पुगेका उनी आफ्नो कुनै पनि जिम्मेवारी नभएजस्तो गुमानाम सांसद बनेर बसेका छन् ।
नेत्रनाथ अधिकारी, सभामुख गण्डकी प्रदेश
समाजबादको लागि र नागरिकको अधिकारको लागि लड्ने चुनावी नारा र विजयी भएपछि पनि सोही नारा लिएर हिडेका सभामुख नेत्रनाथ अधिकारी जिल्लामा विपद पर्दा एक विज्ञप्ती मार्फत सहानुभूति पनि देखाउन सकेका छैनन् । सायन उनी पनि महिनादिन देखि विरामी भएको र बेडमै रहेको भएर पनि हुनसक्छ । तर पनि एक जनप्रतिनिधिको हैसियतले जिल्लामा यत्रो दुखद घटना घट्दा आफू आउन नसकेपनि आफ्ना कर्मचारीहरुलाइ परिचालन गरी बस्तुस्थीतिको बारेमा जानकारी लिन सक्नुपर्दथ्यो त्यो भने हुन सकेको छैन ।
विकास लम्साल, मन्त्री, बन तथा बातवरण, गण्डकी प्रदेश
वन तथा वातवरण प्रदेश मन्त्री विकास लम्सालले पनि जिल्लाको बारेमा केहि बोध गरेको जस्तो देखिएको छैन । वन तथा वातवरण सम्बन्धी मन्त्री आफै भएपनि जिल्लाको भौगालिक अबस्था, जोखिम अबस्थाको बारेमा प्रतिवेदन तयारी गरी जिल्लामा रहेका जोखिपूर्ण बस्तीलाइ स्थान्तरण गर्नको लागि केहि पहलगर्न सकेको देखिदैन । उनले पनि जलजलाको विपदबारे कहि बोल्न खोजेका छैन । सायद उनी क्षेत्र २ बा निर्वाचित सांसद भएर क्षेत्र १ को बारेमा चाँसो नदिएका पो हुन कि भन्ने आम नागरिकमा भान हुन थालेको छ ।
जुनादेवि नेपाली, सांसद, गण्डकी प्रदेश
सांसद जुनादेवी नेपाली पनि जलजला गाउँपालिकामा भएको विपदको बारेमा केहि बोल्न सकेकी छैनन। त्यस्तै अन्य क्षेत्रमा हुने सम्भावित जोखिमको बारेमा समेत केहि योजना र कार्यदिशाको खाका तयार पार्न र त्यसको बारेमा प्रदेश सरकारसँग माग उठाउनसक्ने सामथ्र्य पनि राखेको पाइदैन । जनताको दुखसुखमा मलम लगाउनको लागि उनी पनि निष्ठुरी बनेको देखिन्छ ।
ललितकला गुरुङ सांसद, गण्डकी प्रदेश
सांसद ललितकला गुरुङ पनि जिल्लाको विपद व्यवस्थानको बारेमा केहि बोल्ने प्रयासमा नभएको देखिन्छ । जिल्लाका कुनकुन ठाउँहरुमा जोखिपूर्ण अबस्थामा रहेका छन् त्यसको बारेमा खोज र त्यस्ता सम्भावित जोखिमपूर्ण क्षेत्रका बस्तीहरु स्थानतरणको लागि पहल गर्न नसकेको देखिन्छ ।

छ जना सांसद पाएको पर्वत जिल्लाले विपद पर्दा एक जना समेत सांसदको सहानुभूति पाउन सकेको छैन । केहि आलोचना खेप्न नसकेर आएपनि अन्य भने गुमनाम जस्तै देखिन्छन् । पाँच बर्षको लागि सांसदको जागिर पाक्यो त्यसपछिको समय देखा जायगा भन्ने सोचको भावमा डुबेकका हुन कि भन्ने पनि महसूस भएको छ ।
जलजलाको घटना एक उदाहरण मात्रै हो । यस्तै अन्य क्षेत्रमा पनि घटना घट्न सक्ने अबस्था जिल्लाभरी नै छ । कुनबेला हुने हो भन्ने डर क्रासमा अझै पनि नागरिकहरु बाँचिरहेका ठाउँहरु पनि छन् । राज्यको माथिल्लो निकायसम्म पुगेका जिल्लाका सांसदहरुले बेलैमा जिल्लाको भौगोलिक जोखिमपूर्ण क्षेत्रको अध्ययन र अबलोकन गरी त्यस्ता क्षेत्रमा रहेका बस्तीहरुको स्थानतरण गर्नको लागि बेलैमा सोच्नुपर्ने देखिन्छ । अन्यथा जलजलामा भएको भन्दा ठूलो घटना अन्य क्षेत्रमा नहोला भन्न सकिने अबस्था छैन । चरी लैजा समाचार, हामी भयौ बेघरबार भन्ने दिन जलजलबासीको मात्रै होइन अन्य पर्वत जिल्लाबासीको पनि नहोला भन्न सकिदैन । त्यसैले बेलैमा सोचौ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *