प्रशंगवस : आशा गरौँ, अब ती अपांगता भएकी महिलाले राज्यबाट सम्मान पाउने छिन….!

गल्कोट २०७५ साउन ५ । आज बिहान एकजना मित्रले एक महिलाको तस्वीर सहित बाह्र वर्ष देखी मुढो झै बिस्तरामा पल्टी रहेकी नरेठाँटीकी अपांगता भएकी महिला जस्ले अझै अपांगताको परिचय पत्र प्राप्त गर्न सकेकी छैनन् र उनले राज्यबाट पाउने सम्मान पाउनबाट बन्चित हुनु परेको छ…….’
***
अपांगता भएका व्यक्तिहरुले राज्यबाट सम्मान (सामाजिक सुरक्षा भत्ता) पाउछन भन्ने जानकारी न अपांगता भएका व्यक्ति न घरका परिवार न परका ईष्टमित्रलाई थाहा छ …? भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर के गर्ने हाम्रा गाउँ घरमा राज्यबाट सुविधा पाईन्छ भन्ने थाहा नपाउनेहरु पनि रहेका छन् ।

धेरै कुनाकाप्चा वा दुर्गभ भेगमा मात्र होईन, गल्कोट नगरपालिकाको नरेठाँटी बजारमै एक अपांगता भएकी महिला विगत बाह्र वर्ष देखी हल न चल गरी ओछ्यान मै लडिरहेकी छन् । उनलाई हिँजो साउन ४ गतेको साँझ सम्म पनि अपांगता भएका महिला वा पुरुषहरुले सामाजिक सुरक्षा भत्ता पाउछन भन्ने पत्तो नै रहेनछ । ती महिलालाई मात्र पत्तो नभएको होईन, घरका अरु सदस्यहरुलाई नि जानकारी रहेन छ । यति सम्मकी त्यस घरमा अपांगत भएकी महिला छिन् भन्ने वडाध्यक्ष हिमबहादुर भण्डारीलाई नै थाहा रहेन छ । थाहा हुँदो हो त सायद एक महिना पहिले गल्कोट हटिया बजारमा सन्चालित एकीकृत घुम्ती सेवा शिविरबाट अपांगताको परिचय पत्र प्राप्त गर्न अवशर मिल्थ्यो ।

हामीले वडाध्यक्ष भण्डारीलाई सोध्यौँ, ‘हिँजो मात्र तपाईलाई नरेठाँटी बजारमा एक अपांगता भएकी बृद्ध महिला रहेको कसरी थाहा लाग्यो ?’

भण्डारीको जवाफ यस्तो थियो- ‘बुर्तिवाङमा पहिरो पीडितलाई राहत वितरण गरेर सदरमुकाम फर्किरहेको सिडियो साहेब बेदप्रसाद खरेलज्यूको टोलीसंग नरेठाँटी बजारमा हरियो मकै (खाजा) खाईरहँदा त्यहि होटेलसँगै जोडिएको पल्लो घरकी युवतीले टोलीका सदस्य अर्जुन ढकालसंग ‘आमा अपांग भएकोले केहि सहयोग मिल्छ कि ? सिडियो साहेबलाई कुरा राखि दिनुस् न…’ भनेको कुरा ढकालजीले सिडियो साहेबलाई अवगत गराएपछी सिडियो साहेब स्वयं र हामी सबै ती अपांगता भएकी महिलालाई हेर्न गयौँ र उनका बारेमा बिस्तृत जानकारी भएको हो ।

हलचल गर्न नसक्ने अवस्थाकी ती महिलाको स्थिति हेरेपछी तत्कालै सिडियो साहेबले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीलाई गल्कोट स्वास्थ्य केन्द्रबाट उहाँको स्वास्थ्य परीक्षण गराई रिपोर्ट सहित अपांगताको परिचय पत्र बनाउन पहल सुरु गर्न निर्देशन दिनु भएको हो । ती बृद्ध अपांग महिला स्वयं सदरमुकाम पुगेर परिचय पत्र लिन सम्भव नरहेपछी कार्यालयबाट बनाई पठाउने व्यवस्था मिलाउन पनि सिडियो साहेबले भन्नु भएको छ ।

‘तपाई चिन्नु हुन्छ उहाँलाई ?’

वडाध्यक्ष भण्डारीले भने, ‘उहाँहरुको घर नरठाँटीको केहि माथी पर्छ, झण्डै दुई वर्ष देखी नरेठाँटी बजारमा बस्दै आउनु भएको रहेछ र उहाँका परिवारले चाउचाउ उद्योग सन्चालन गर्नु भएको छ ।’

बाह्र वर्ष देखी अपांगताको शिकार बनेर मुढो झैँ ओछ्यानमा लडिरहेकी नरेठाँटीकी ६० वर्ष उकालो लागेकी तिलकुमारी घर्तीमगरको दर्दनाक अवस्था हेर्दा कसको मन नदुख्ला ? कस्का आँखा नरसाउलान ?

झण्डै एक महिना पहिलेको त कुरा हो, जिल्ला प्रशासन कार्यालयबाट गल्कोट नगरपालिका-११ रिघामा सन्चालित एकीकृत घुम्ती सेवा शिविरमा नागरिकता प्रमाणपत्र बनाउन नपाएर राज्यबाट पाउने सुविधाहरुबाट बन्चित रहेकी एक अपांगता एवं सुस्त मनस्थिती भएकी महिलालाई प्रजिअ खरेलले नागरिकताको प्रमाणपत्र र अपांगताको प्रमाण पत्र हस्तान्तरण गरिहँदा गल्कोट नगरपालिकाकी उपमेयर रेणुका काउचा मगरका आँखा रसाएका थिए भने स्वयं प्रजिअ खरेलका आँखा जलजल भएका थिए । त्यतिमात्र पनि होईन, गल्कोट कै हटिया, तमानखोला गाउपालिकाको बोँगादोभान र जैमिनी नगरपालिकाको जैदी बेलबगरमा सन्चालित घुम्ती शिविरमा पनि यस्ता थुप्रै पुरुषहरु, महिलाहरु थिए जस्लाई राज्यबाट प्राप्त गर्ने सम्मान सामाजिक सुरक्षा भत्ताबारे ज्ञान रहेनछ ।

बाह्र वर्ष देखी मुढो भएर बिस्तारामा सुती रहेकी आफुलाई जन्मदिने ममतामयी आमाको स्याहार सुसार गरिरहेकी ती छोरीले केहि सहयोग पाउन सक्छिन कि ? भनेर सोध खोज नगरेको भए अपांगता भएकाहरुले राज्यबाट पाउने सम्मान पाउन उनलाई अझ कति वर्ष विस्तरामा लडिरहनु पथ्र्यो होला ? त्यो कल्पनातीत छ ।

गजब छ हाम्रो समाज, गजब छ हाम्रो परिवेश । लौरो टकेर खन्च्याङ खन्च्याङ गरेर अपांगताको नाटक मन्चन गर्नेहरुले महिनै पिच्छे अपांगता भत्ता बुझेका छन् र सुविधा प्रयोग गरिहेका छन् । वर्षै पिच्छे व्दन्व्द पीडितमा सिफारिस गर्न अनुनय विनय गरेर हजारौँ हजार रकम खान पल्लेकाहरु पनि यसै समाजमा रहेका छन् । उता अपांगता भएकी एक बृद्ध महिलालाई बाह्र वर्ष देखी मुढो झैँ पल्टिरहदा सम्म राज्यबाट प्राप्त हुने सम्मान बारे संज्ञान छैन ।

आशा गरौ, अब उनले राज्यबाट सम्मान छिट्टै नै पाउने छिन् । अनि घुम्ती सेवा शिविरलाई निरन्तरा दिएर गाउँगाउँमा सिंहदर्बारको प्रत्याभूति होस र गाउगाउँमा रहेका तर विभिन्न कारणबस नागरिकता प्रमाणपत्र वा अपांगता परिचय पत्र नपाएकाहरुले पाउन सकून । अस्तु:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *