निसीखोला गाउँपालिका वडा नं. २ मा “१० घर, एक ब्यवसायी” कार्यक्रम सञ्चालन !

सुमन सुनार, बुर्तिबाङ २०७५ असार ३० । निसीखोला गाउँपालिका वडा नं. २ ले “१० घर, एक ब्यवसायी” कार्यक्रम सञ्चालन गरेको छ ।

बेरोजगार युवा, आर्थिक रुपमा पिछडिएका गरिब, विपन्न, दलित, एकल महिला तथा अपाङ्गता भएकाहरुलाई कृषि मार्फत ब्यवसायीक बनाउदै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्धेश्य सहित वडाले उक्त कार्यक्रमको सञ्चालन गरेको वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । वडालाई कृषिमा अत्मनिर्भर बनाउन तथा परम्परागत कृषि प्रणाली अंगालीरहेका किसानहरुलाई ब्यवसायिक रुपमा तरकारी खेती, कुखुरा पालन, पुशुपालन तर्फ आकर्षित गर्नका निम्ती कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष विश्वकर्माले बताए । उक्त कार्यक्रमका लागी आर्थिक बर्ष २०७४÷०७५ मा गाउँपालिकाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटबाट यस आर्थिक वर्षमा कृषकहरुको क्षमता अभिबृद्धिका लागी ब्यवसायीक कृषि खेती र पशुपालन सम्बन्धी प्रशिक्षण, कृषकहरुका लागी बाख्रा वितरण लगायतका कार्यक्रमहरु गरिएको छ ।

यसैविच “१० घर, एक ब्यवसायी” कार्यक्रम अन्तर्गत वडाका ४० जना गरिब, विपन्न, एकल महिला तथा अपाङ्गता भएकाहरुलाई ब्यवसायिक बाख्रा पालनका लागी करिव १ लाख ६० हजार बराबरको पैँचो बाख्रा वितरण गरिएको कार्यक्रमका संयोजक ठग बहादुर विश्वकर्माले बताए ।

संयोजक विश्वकर्माका अनुसार प्रति ब्यक्ती २÷२ ओटाका ८० ओटा पैँचो बाख्रा वितरण गरिएको हो । यसपाली बाख्रा पाएका कृषकले १८ महिनापछि अरुलाई हस्तान्तरण गर्नुपर्ने नियम बनाइएको छ । पाँच वर्षको अविधीमा वडाका सबै घरमा ब्यवसायीक रुपमा बाख्रापालन गराउने योजना रहेको संयोजक विश्वकर्माले ईबागलुङलाई जानकारी दिए ।

कार्यक्रमको प्रभावकारी कार्यन्वयनका लागी वडाले आगामी आर्थिक बर्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको वडा अध्यक्ष विश्वकर्माको भनाई थियो ।

वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई रोक्न र गाउँमै युवा स्वरोजगारी वा उद्यमशीलताको विकास गर्न युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाँउमै स्वरोजगार र उद्यमशीलताका लागी आगामी आर्थिक वर्षमा ५ युवा एक समुह लेयर्स कुखुरा पालन कार्यक्रम सञ्चालन गर्ने, विभिन्न सिपमुलक तालिमहरु सञ्चालनका साथै ब्यवसायीक पशुपालन गर्नेहरुका लागी वडा स्तरबाटै पशु विमा कार्यक्रमको ब्यवस्था गर्ने लगायतका विभिन्न योजना रहेको उनको भनाई छ ।

त्यसैगरि कृषिलाई ब्यवस्थीत र आधुनिकिकरण तथा ब्यवसायीकीकरण बनाउन पानीका मुहान नभएका तथा पानीको समस्या भएका स्थानमा प्लास्टिक पोखरी निर्माण गरी आकासे पानी संकलन गरि सिंचाईको ब्यवस्था मिलाउने योजना समेत बनाईएको वडा अध्यक्ष विश्वकर्माले बताए ।

उक्त कार्यक्रम सञ्चालन गरिएपछि त्यसको प्रभाव स्थानिय नागरिकमा पनि पर्न थालेको वडा अध्यक्ष कुविर विश्वकर्माको भनाई छ । परम्परागत कृषि प्रणालीलाई परित्याग गरि ब्यवसायीक बन्न सके गाँउमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोँचका साथ कृषकहरुले ब्यवसायीक रुपमै तरकारी खेती तथा पशुपालन ब्यवसायको सुरुवात गर्न थालेको वडा अध्यक्ष विश्वकर्माको भनाई छ । हाल वडामा २२ कृषक समुह मार्फत ब्यवसायीक रुपमा तरकारी खेती गरिएको छ भने करिव १५ घर परिवार बाख्रा पालन ब्यवसायमा आबद्ध रहेको अध्यक्ष विश्वकर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *