डोजर माथीबाट खसेको पहिरोमा परि मृत्यु भएका चालक सिर्पालीलाई रु ७ लाख सहयोग !

सुमन सुनार, बुर्तिबाङ २०७५ असार २८ । बडीगाड गाउँपालिका–१० निगलपानीमा सडकको ट्रयाक खोल्ने क्रममा डोजर माथीबाट खसेको पहिरोमा परि मृत्यु भएका डोजर चालक तमानखोला गाँउपालिका–५ खुंखानीका प्रेम सिर्पालीको परिवारले राहत रकम पाएका छन् ।

बैदेशिक रोजगारीमा रहेका प्रबासी नेपालीहरुव्दारा सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चालन गरिएको राहत संकलन अभियानबाट संकलित रु ७ लाख २९ हजार ४ सय ४० रुपैयाँ रकम मृतक सिर्पालीका परिवारलाई आज हस्तान्तरण गरिएको छ ।

ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौर साहुथोक घर भई हाल बैदेशीक रोजगारीको शिलसिलामा कतारमा रहेका समाजसेवी नर बहादुर सिर्पालीको विशेष सक्रियतामा सामाजिक सञ्जाल फेसबुकमा “हाम्रो प्यारो साथी प्रेम सीर्पालीको नानी बावुलाई सहयोग अभियान” नामक ग्रुप खोलेर अभियान सञ्चालन गरिएको थियो । उक्त फेसबुक ग्रुपमा सम्मिलित देश तथा विदेशमा रहेका करिव १ सय जना भन्दा बढि फेसबुक प्रयोगकर्ताहरुले आर्थिक सहयोग गरेको अभियन्ता नर बहादुर सिर्पालीले बताए । अभियानबाट संकलित रकम मृतक सिर्पालीका भाई खगेन्द्र सिर्पाली र ससुरा बुवा मोम बहादुर रसाईलीको नाममा प्रभु बैंकको खातामा जम्मा गरिएको छ ।

राहत रकम आज बुर्तिबाङ बजारमा रहेको सिर्पालीको घरमा पुगेर स्थानिय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको रोहबरमा चेक मार्फत हस्तान्तरण गरिएको छ ।

राहत संकलन अभियानका सदस्य तथा तमानखोला गाँउपालिका–५ का वडा अध्यक्ष हिरा बहादुर सिर्पाली र अभियानका सदस्य बुद्धि प्रसाद सिर्पालीले मृतक सिर्पालीकी श्रीमती चेतना सिर्पालीलाई ७ लाख २९ हजार ४ सय ४० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

राह्त रकमको चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष सिर्पालीले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आफ्नो परिश्रमको केहि अंश छुट्याएर गरेको सहयोग रकमलाई सहि ठाँउमा सदुपयोग गर्न आग्रह गरेका थिए । त्यसैगरि अभियानका अभियन्ता र सहयोगी सबैलाई मृतकका श्रीमती चेतना सिर्पालीले धन्यबाद ज्ञापन गरेकी िथिईन ।

उक्त राहत रकम संकलन अभियानमा बैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेका तमानखोला गाँउपालिका–२ भैरबोंगाका याम रसाईली र साउदीमा रहेका तमानखोला गाँउपालिका– ५ नर्जाका टोप बहादुर सिर्पालीले पनि सक्रिय भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा स्थानिय समाजसेवी तथा बुद्धिजिविहरु बेग बहादुर सिर्पाली, तुलेन्द्र सिर्पाली, नेत्र गोतामे, प्रविण सीर्पाली, रेडियो बुर्तिबाङका योगेन्द्र विश्वकर्मा, सामुदायिक रेडियो ढोरपाटनका तुल्सीङ सिर्पाली लगायतको उपस्थिति रहेको थियो ।

गत २०७४ फागुन २२ गतेका दिन जिल्लाको बडिगाड गाउँपालिका वडा १० निगलपानीमा ट्रयाक खोल्ने क्रममा डोजर माथि ढुङ्गा सहितको पहिरो खस्दा ३२ बर्षिय चालक सिर्पालीको मृत्युभएको थियो ।

चालक सीर्पाली सहित सोही पहिरोमा परि ढोरपाटन नगरपालिका–४ कुतखोलाका सह–चालक गिर प्रसाद फगामीको समेत घटना स्थलमा नै मृत्युभएको थियो । दिउँसो करिव ३ बजेको समयमा गंगरे हुदै भिमगिठे जोड्ने मोटर बाटो खन्दै गरेको अवस्थामा एकासी माथीबाट ढुङ्गा सहितको पहिरो खस्दा दुर्घटना भएको थियो । मृतक सिर्पालीको श्रीमती सहित ९ वर्षका छोरा र २२ महिनाकी छोरी रहेका छन् । सिर्पालीको स्थायी घर खुंखानी भएपनि उनका परिवार अस्थायी रुपमा बुर्तिबाङमा बस्दै आएका छन् ।
तस्बीर – योगेन्द्र विश्वकर्मा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.