गल्कोटको समृद्धिका लागि सहकारीसंग समन्वय गछौ – नगर प्रमुख गैरे

बागलुङ, २०७५ असार २४ । ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङले गल्कोट नगरपालिकामा सहकारी ऐन २०७४ र सम्पत्ती शुद्धिकरण निर्देशिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिवार गल्कोटमा सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले विपन्न वर्गका जनतालाई आर्थिक सामाजिक रुपमा रुपान्तरण गर्नका लागि सहकारी उपयुक्त माध्यम भएको बताउनु भयो । गल्कोट क्षेत्र स्रोत र साधनले पूर्ण स्थान भएकाले यसको विकासका लागि स्थानीय स्रोत परिचालनमा जोड दिइने भन्दै उनले त्यसका लागि सहकारीहरुसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख गैरेले नगरको दीगो विकासका लागि सहकारीहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा क्रियाशिल हुन आव्हान गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन र सम्पत्ती सुद्धिकरणका बारेमा सहजीकरण गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन नियमको पालना र व्यावसायिकतामा जोड दिनु पर्ने बताएका थिए ।

नगरपालिका र गाउँपालिकाहरुमा सहकारी ऐन बन्ने क्रममा रहेको भन्दै उनले संघीय ऐन विपरित हुने गरी ऐन नियम निर्माण नगर्न र आफ्नो पालिकाको आर्थिक सामाजिक विकासमा सहकारीहरुलाई साझेदार निकायमा रुपमा लिएर अगाडि बढ्न आग्रह गरेका थिए । संविधानले नै तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको छ, त्यसलाई कार्यान्वयन गर्नु तीन वटै तहका सरकारहरुको जिम्मेवारी भएको भन्दै उहाँले सहकारीलाई वेवास्ता गरेर अगाडि बढ्दा संविधानको मर्म विपरित हुने समेत उल्लेख गरे ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले सहकारी ऐन नियमको परिधीमा रहेर गलकोट क्षेत्रका सहकारीहरुलाई प्रवद्र्धन, अनुगमन र नियमन गरिने भन्दै आफ्नो परिधीमा रहेर काम गर्न सहकारी संघ संस्थाहरुलाई आग्रह गरे।

कार्यक्रममा गल्कोट माविका प्रधानाध्यापक देवेन्द्र खत्री, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उपसभापति रामबहादुर खत्री, सहभागीहरुका तर्फबाट सहयोगी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था हरिचौरका अध्यक्ष भगवती मल्ल लगायतले गलकोट क्षेत्रका सहकारीहरुको प्रवद्र्धन र विकासका लागि कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र आगामी दिनमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सचिव तेजेन्द्र थापाको सञ्चालन र संघका सञ्चालक अन्तरक्रिया कार्यक्रमका संयोजक चिन्तामणी शर्माको स्वागतमा सम्पन्न भएको थियो ।
गल्कोटमा क्रियाशिल सयपत्री बुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गल्कोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयोजनमा सम्पन्न कार्यक्रममा गलकोट क्षेत्रका ४० भन्दा बढी सहकारी संस्थाका १ सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *