देशकै उत्कृष्ट सञ्चार सहकारी बनाउने प्रतिवद्धता सहित दुई सहकारीवीच एकीकरण !

रविना बोहरा बागलुङ, २०७३ फागुन १६ । सहकारी मार्फत सञ्चार र आर्थिक विकास भन्ने मुल नाराका साथ बागलुङका दुई भिन्न उद्देश्यले सञ्चालित सहकारीहरुबीच एकीकरण भएको छ ।

२०५८ सालमा रेश गाविसमा स्थापना भएको रेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र २०६३ मा बागलुङ बजारमा स्थापना भएको आदर्श सञ्चार सहकारी संस्था बीच एकीकरण भएको हो । ५ वटा गाविस कार्यक्षेत्र भएको रेश बहुउद्देश्यीय र धौलागिरि अञ्चलकै पहिलो तथा बागलुङ जिल्लाभर कार्यक्षेत्र भएको आदर्श सञ्चारबीच एकीकरण पछि संस्थाको नाम आदर्श सञ्चार सहकारी संस्था लिमिटेड रहने भएको छ ।

दुई सहकारी एकीकरणपछि मुख्य उदेश्य अनुसार सञ्चार सहकारीलाई देशभरकै उत्कृष्ट सञ्चार सहकारीका रुपमा स्थापित गर्ने दुवै संस्थाका सञ्चालकहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, धौलागिरि टेलिभिजनमा साझेदारी गर्नुका साथै वचत तथा ऋणको कारोबार लगायत सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

रेश गाविसमा संस्थाको सेवा केन्द्र स्थापना गर्ने, सहकारी तथा सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने, रेश गाविसमा १ हजार भन्दा बढी शेयर सदस्य बनाउने लक्ष्यका साथ एकीकरण गरिएको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापाले बताए ।

सहकारीहरु धेरै हुने भन्दा पनि सदस्य, वित्तीय अवस्था, कारोबार, सेवामा गुणस्तरीय बनाउनका लागि एकीकरण आवश्यक छ भन्ने सोचेर दुई संस्थाहरुबीच एकीकरण गरिएको रेश बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु)ले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.