मुसिकोट नगर भित्र यसरी सुधार हुँदैछ वस्ती, विकट थलोबाट अभियान सुरु !

प्रेम सुनार, गुल्मी २०७५ असार २१ । जनतालाई आधारभुत कुरा गास वास कपासको ग्यारेन्टी । यो नारा पञ्चायत काल देखि कै हुनु पर्दर्छ । तर गास र कपास त परै जाओस उचित वासको व्यवस्था समेत नेताहरुले गर्न नसकेको जगजाहेरै छ ।

तर, स्थानिय तहको निर्वाचन पछिका जनप्रतिनिधीहरुले गुल्मीका थुप्रै स्थानिय तहका गरिव विपन्नहरुलाई उचित वासको ब्यवस्था मिलाउन कम्मर कसी रहेका छन् । त्यस मध्ये क्षेत्र नम्वर २ मा यो अभियानलाई तिव्रता दिईएको छ ।

क्षेत्र नम्वर–१ म वस्ती सुधारको गत आर्थिक वर्षमा खासै चर्चा भएन । क्षेत्र नम्वर २ मा भने सवै स्थानिय निकायमा खरको छानारहित घर बनाउने अभियान सुरु देखि नै चल्यो । अवको आर्थिक वर्षमा पनि थप तिव्रता दिईने भएको छ । यस क्षेत्रका प्राय सवै थानिय तहले जस्ता पाता वितरण गरी सकेका छन ।
ति मध्ये हकमा वस्ती सुधारको पहिलो श्रेय मुसिकोट नगरपालिकाले लिएको छ । त्यस नगरपालिकामा केहि घरहरु निमार्ण भई परिवारजन बस्न थालेकोले पहिला वस्ती निमार्णको श्रेय त्यस नगरपासलकालाई प्राप्त भएको हो ।

विकट थलोबाट अभियान सुरु
मुसिकोट नगरपालिकाको सवै भन्दा विकट र सदियौं देखि पछाडी परेको गाउँवासी हुन वडा नम्वर ९ , साविक, अर्लाङ्गकोटको उर्लेनीमा रहेको दलित बस्ती । जुन वस्तीको आफ्नै ऐतिहाँसिक कथा छ । समुन्द्री सतह देखि करिव २ हजार मिटर उचाईमा रहेको हिलेको लेक कै काँखमा आज भन्दा ५० वर्ष अघि सम्म फलाम खानी सञ्चालन थियो ।
त्यही खानी कै छेउँ जंगलमा हालको उर्लेनी गाउँमा बाग्लुङ्गबाट फलाम खानी उत्खनन गर्न ति बिश्वकर्मा समुदायका दलितहरुलाई ल्याईएको थियो । स–साना खरका झुपडीमा दिनभरी खानीमा काम गर्ने र साँझ विहान वास मात्रै दिएर राखिएका उनिहरु खानी उत्खनन गर्न छाडिए पछि बेखर्ची बन्न पुगेका थिए ।

पछि तिनै झुपडी छेउँछाउ खनेर दुई चार डोका मकै उव्जेनी हुने वारी बनाएर बसेका उनिहरुको आर्थिक अवस्था अहिले पनि दयानिय छ । त्यही दयानिय अवस्थामा नजर पुग्यो सोही क्षेत्रका प्रतिनिधी सभा सांंसद तथा हालका मन्त्री गोकर्णराज विष्ट सहित मुसिकोट नगरपालिकाको । उनिहरुले सवैतिर रकम छर्नु भन्दा पनि पहिला सवै भन्दा पछाडी परेका स्थान र समुदायलाई माथी उकास्दै जाने योजना बनाए ।
सोही अनुरुप वाग्लुङ्ग संग जोडिएको त्यस क्षेत्रको पुर्वी गाउँ उर्लेनी रोजेका हुन । अन्य चारपाँच घरधुरी त्यहाँ जिविका चलाउन नसकेर विस्थापित भई सकेका छन । अहिले ३३ घरधुरी ति समुदाय रहेका छन् । एका दुई जना खाडी मुलुक वाहेक विदेश जाने रकम नभएर अधिंकांस युवाहरु भारतमा कोठी र चौंकीदारी गर्छन ।

नेताहरुको भाषण सुन्दा नाक खुम्चाउँथे
२०६४ साल देखि हरेक चुनावहरुमा यो सम्वादाता त्यस वस्तीमा पुग्दै आएको छ । पहिलो संविधान सभा निर्वाचनमा पुग्दा के के न पाईन्छ जस्तो गरेर उनिहरु निकै उत्साहित देखिन्थे । दोश्रो निर्वाचनमा पुग्दा त्यो उत्साहमा कमी देखिन्थ्यो ।
गत संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको चुनावी सभा र त्यस पछि वामगठबन्धनको चुनावी सभा हुँदा नेताहरुको भाषण एकातिर उनिहरुका कान–आँखा अर्कोतिर जस्तै मुद्रामा देखिन्थे ।

वामगठबन्धनका उमेदरवार गोकर्णराज विष्ट , मुसिकोट नगरपालिका मेयरका उमेदवार सोमनाथ सापकोटा लगायतका नेताहरुले एक घर एकधारा र खरको छाना रहित घर बनाई दिन्छौं भन्दै गरिएको चर्को भाषणलाई उनिहरुले गरिव माथी वेकार सपनाको खेती जस्तै ठानिरहेका थिए ।
‘ एउटी बृद्धाले नाक खुम्चाउँदै र ब्याङ्ग गर्दै भन्दै थिईन–‘ लौ वाय हो, चुनाव नसिकने वेला सम्म टिनको छानमा बसम केरे, चुनाव सकिए पछि यीनै खरका झुपटी छँदै छन् । ’ विगतमा चुनावताका नेताहरुले दिएको आश्वासन र त्यस पछिका अवस्था हेर्दा उनको ब्याङ्ग जायज नै थियो ।

अहिले भने नपत्याएको भई दियो
यसै समाचारदातालाई हो २०७० सालमा त्यस स्थानमा पुग्न दुई दिन लागेको । यसै वर्षायामको कुरा थियो सदरमुकाम देखि वामीटक्सार सम्म पुग्ने मोटरबाटो ठाउँ ठाउँमा पहिरो, गाडी फँस्ने खाडल र घण्टौं सम्मको जामले साँझ पुगियो । डोरी लगाएर एक गाडीले अर्को गाडी तानिदै थियो ।
अर्को दिन लेउ लागेर चिप्लो गोरेटोबाटो जुकाले खुट्टा रक्ताम्मे पार्दै हिडेर त्यस गाउँमा पुग्न करिव ४ घण्टा लागेको थियो । अहिले सदरमुकामबाट त्यस वामीटक्सार सम्म ग्रावेलिङ्ग गरेको सडकमा गाडी हुँईकाउँदै एक घण्टामा पुगियो ।
त्यहाँबाट पारी खर्वाङ्ग हुँदै काँडेवास र त्यहाँबाट माथी उर्लेनी गाउँ पुग्न करिव डेढ घण्टा लाग्यो । अझै व्यवस्थीत हुन नसके पनि त्यस गाउँ सम्म गाडी पुग्नुलाई विकासको सुरुवात मानियो । हिजो त्यही चौर थियो जहाँ दिशा पिशाव र फोहर हुने गर्दथ्यो ।
जहाँ अहिले सफा खेला मैदान र विद्यालय देखियो । पहिला धुलै फुर्सै त्यो चौरमा खेल्ने वालिकाहरु त्यहाँ स्थापना गरिएको देउराली प्राविमा स्कुल डे«शमा चिटिक्क परेर जाँदै गरेको दृश्य देखियो । जुन विद्यालयमा एक जना पनि अरु समुदायका विद्यार्थी नभएको र २२ जना पुरै दलित समुदायका रहेको बताईयो ।
त्यहाँको जुन मन्दिर कुनै समय खरको छाना सहित टिठ लाग्दो थियो । अहिले बस्ती सुधार कार्यक्रमका क्रममा निलो जस्तापाताले छाएर चिटिक्क पारिएको रहेछ । ति हिजोका खरका झुपडीहरुको भग्नावशेषका रुपमा विस्थापित एकादुई परिवारको झुपडी हेर्नु पर्ने अवस्था रहेछ ।
पुरै ३३ घरधुरीलाई निलो रंगका जस्तापाता वितरण भई १८ वटा चिटिक्क परेका घरहरु निर्माण भई सकेका रहेछन । अरु बन्दै गर्न थालेको त्यस वस्ती सुधार कायक्रमका अध्यक्ष नन्दबहादुर बिकले बताए ।
बनि सकेका घरहरुले त्यसगाउँको कुरुपतामा सुन्दरता थप्दै लगेको छ । दशैं सम्ममा त्यस गाउँमा थप सुन्दरता थपिने वडाध्यक्ष नरेशराज खरेलले बताए । त्यस टोल सहित उनको वडा नम्वर ९ मा यस आर्थिक वर्षमा ४५ वटा वस्ती सुधारका घरहरु बन्ने र अरु बाँकी करिव डेढ सय वटा खरका छाना आगीमी दुई वर्ष भित्र बनाईने उनले जानकारी दिए ।
वस्ती सुधारका स्थानिय अभियान्त नन्द बिक भन्छन –‘अघिल्लो चुनाव सम्म यस्तो होला भनेर पत्याएकै थिएनौं , अहिले चाँही नपत्याएकै गरियो । अव अरु कुरामा पनि आशा पलाएको छ ।’
दुर्ई घण्टा लाग्ने पानी अहिले घर–घरमा
त्यस टोल देखि धेरै तल कुना खरिया भन्ने घनघोर जंगलमा जनावरको समेत डर हुने गरी एक गाग्रो पानीका लागि दुई घण्टा सम्मको उकालो ओरालो गर्ने त्यहाँका वासीन्दाका अहिले त्यही मुहानको पानी लिफ्ट गरेर माथी घर घरमा आई पुगेको छ ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरणले साविकको जिल्ला विकास समिति र अर्लाङ्गकोट गाविस समेतको साँझेदारीमा कुना खरिया लिफ्टीङ्ग सिस्टम खानेपानी योजना सम्पन्न गरे पछि घर घरमा धाराको सुविधा उनिहरुले पाएका हुन् ।
त्यस परियोजनाका फिल्ड संयोजक कृष्ण बिश्वकर्मा लगायतका निर्माणकर्ताहरुलाई निकै सम्झे त्यहाँका वासीन्दाले । उनिहरुले खानेपानी योजनामा काम मात्रै नगरेर उनिहरुलाई सरसफाई र अन्य कुराहरुमा जनचेतना छर्ने काम पनि गरेका रहेछन् । त्यहाँका पत्रकार सुदन खरालका अनुसार पहिलाको तुलनामा त्यस वस्तीमा जनचेतना र सभ्यताको विकास पनि भएको छ ।
‘अँध्योरो झुपडीमा बस्थे , पानी ल्याउन दुई घण्टा बढि समय लिएर जान्थे’–उनले भने –स्कुल समेत नजिक नहुँदा यहाँका वालवालिका पढ्न कमै जान्थे अहिले ति सवै सुविधाहरु त्यसै टोलमा उपलव्ध हुनु सवैलाई परिवर्तनको महशुस गराउनु हो । ’
फलामखानीका जिवित साँछी
त्यस गाउँका ७४ वर्षिय बृद्ध तिलबहादुर बिश्वकर्मा र अर्का ६४ वर्षिया गोमबहादुर बिश्वकर्मामा आज भन्दा ५० वर्र्ष अघि सम्म सञ्चालनमा रहेको त्यस फलाम खानीका जिवित साँझी हुन । उनीहरु भन्छन–‘ बुवाहरुले त्यस फलाम खानीबाट चाँदी जस्ता सेता न सेता डल्लाहरु निकाल्नु हुन्थ्यो ।
खारेर फलामा बनाए पछि डोकोमा राखेर हामीलाई बेच्न पठाउनु हुन्थ्यो । हामीले गाउँ गाउँमा लगेर कहिले सुका धानी , मोर धानी त पछि रुप्पे धार्नी सम्म बेच्ने गर्दथ्यौं । टाढा टाढाबाट समेत फलाम झिकाउने गर्दथे अहिले त हामीले आरने काम समेत गर्न छाडेका छौं ।’
३३ घर धुरी मध्ये नयाँ पिढीमा नन्द बिकले मात्रै आरने काम गर्द रहेछन् । ति बृद्धहरुका अनुसार साविकको त्यसै अर्लाङ्गकोटको दाङसिङ्ग भन्ने गाउँको पारी पट्टि तामाखानी पनि थियो । केहि दिन अघि त्यस खानी भित्र नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ प्रवेश गरी मनखत लाग्दा धातुहरु झोलामा लिएर सदरमुकाम फर्केका थिए । कांग्रेसको ५० दिने अभियानमा त्यहाँ खटेका उनले त्यस ऐतिहाँसिक स्थानमा पुगेर ऐतिहाँसिक र गर्वित अभियानमा भाग लिन पाएको बताउँदै आएका छन् ।
अव समृद्धिको सम्भावना
उनिहरुलाई ब्यवस्थी घर , शौचालय, घर घरमा धारा र विद्युत भयो । यसबाट वासको समस्या समाधान गरियो अव आवश्यक छ गासको । त्यसका लागि अन्त कतै जान नपर्ने थुप्रै श्रोत र सम्भावना देखियो ।
औषधी मुलक र महँङ्ग फलफुल मानिने ग्राउड एप्पल र टिमुर त्यस गाउँमा रोप्नु पर्दैन र हेर चाह पनि गर्नु पर्दैन आफै उमे्रनी र फल्ने गर्दछ । स्थानि भुई स्याउ भनिने ग्राउड एप्पलले बजार नपाएर सडेर खेर जाने गरेको उनै नन्द बिक बताउँ छन् ।
टिमुर पनि वजारको अभावमा स्थानियले हुर्काउन नचाहेर फाँड्ने गरेको छ । अदुवा र सुन्तला प्रशस्तै फल्ने थलो र वाख्रा पालनका लागि पनि उचित थलो त्यस गाउँमा ।
तिनै कुराहरुलाई ब्यवसायीकरण गराई दिन नगरपालिका वा माथील्लो सरकारले पहल गरी दिन सके समृद्धिको श्रोत र सम्भावना त्यही छ । अझ सिङ्गो जिल्ला कै आम्दानीको श्रोत जुटाउन ति दुई फलाम र तामा खानी पुनः उत्खनन्मा ल्याउन जरुरी छ ।
वस्ती नमुना बनाउँदै लैजान्छौं ः मेयर
त्यस नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जतातै रकम नछरेर विशेष बिषेष वस्ती छनौट गर्दै नमुना वस्ती बनाउँदै लैजाने बताए । उनले भने हामीले निर्वाचन ताका एक घर एक धारा र खरको छानारहित घर निर्माण गर्ने प्रतिवद्धत्ता जनाएका थियौं ।
सोही अनुरुपम निर्वाचित भए पश्चात माननिय मन्त्री गोकर्ण विष्ट र हामी बसेर पहिला बस्ती छनौट गर्ने निर्णय ग¥यौं । सोही अनुरुप त्यस उर्लेनीको दलित बस्ती , वामी मैदानको दलित बस्ती, यता मुसिकोट दरवार वरीपरी रहेका दलित समुदायको वस्ती सुधारका लागि गत आर्थिक वर्षमा रकम छुट्टाएर काम सुरु गरेका हौं ।
दशैं सम्म यि तिन वटै वडामा टिनका छानाले सुन्रता थपेको देख्न पाईने छ । पानीको अभाव भएको मुसिकोटको एक स्थानमा लिफ्टीङ्ग सिष्टम खानेपानी योजना सम्पन्न भई पानी खसी सकेको छ । मुसिकोट दरवार वरीपरीको वस्तीमा आकाशे पानी संकलन घैटा निर्माण गरिएको छ ।
यस गत आर्थिक वर्ष मात्रै नगरपालिका भित्र ४ वटा खानेपानी योजना सम्पन्न भई सकेको छ । अवको दुई वर्ष भित्र एक घर एक धारा र खरको छाना रहित मुसिकोट नगरपालिका बनाईने छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णरज विष्टले क्षेत्र नम्वर २ भरी नै बढि आगमी तिन वर्ष सम्ममा खरको छानारहित वस्ती विकास गर्ने गरी काम भई रहेको बताए । वस्ती सुधारको श्रोत अहिले स्थानिय निकाय भए पनि योजनाहरु बनाउने कुरामा सवै तहका जनप्रतिनिधीहरु विच एकरुपता भएको भई रहेको उनको भनाई छ ।
गरिव विपन्न परिवारको वस्ती सुधार संगै उनिहरुको आर्थिक सुधारमा केन्द्र , प्रदेश र स्थानिय जनप्रतिनिधीहरु एकै थलोमा उभिने पर्नेमा मन्त्री विष्टले जोड दिए ।

तस्वीरः त्यस उर्लेनीको बस्ती पहिला र अहिले ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *