गल्कोट समाज जापानद्वारा रामेछापमा विद्यालय निर्माण !

गल्कोट २०७५ असार १८ । बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माण गरिएको छ । गल्कोट समाज जापानमार्फत् सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन बनेको हो । २५ लाख रुपैयाँको लागतमा निर्मित ४ कोठे पक्की भवनको आइतबार गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले उद्घाटन गरेका थिए । उद्घाटनपछि उक्त भवन समाजको तर्फबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन निर्माण गरिएको समाजका अध्यक्ष थापाले बताए । अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा गरिएको सांगीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय बनाउन खर्च गरिएको उनको भनाइ छ ।

‘टिकटमा भएको सांस्कृतिक कार्यक्रममा जुटेको रकम विद्यालय निर्माणमा लगायौं’ अध्यक्ष थापाले भने, ‘यो जापानमा बस्ने नेपालीहरुको सहयोग र सद्भावबाट सम्भव भएको हो ।’ भवन नभएपछि बालबालिकाले खुल्ला चउरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले गत वर्षको असारदेखि भवन निर्माण शुरु गरेको थियो । भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण गरेर समाजले प्रशसंनीय कार्य गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद गौतमले बताए ।

‘टाढाको संस्थाले यहाँसम्म आएर विद्यालय बनाएको छ,’ उनले भने, ‘भवन अब हाम्रो सम्पत्ति भएको छ, समाजप्रति हामी ऋणि छौं ।’ समाजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । हरेक नेपालीको दुःख, सुखमा साथ दिन समाज सँधै कृयाशिल रहेको अध्यक्ष थापाले बताए । उनले प्रवासी नेपालीले कमाइको केही हिस्सा समाज सेवामा खर्च गरेको उल्लेख गरे ।

समाजले बागलुङ जिल्लाका केही स्वास्थ्य संस्थालाई एम्बुलेन्स लगाएतका महँगा स्वास्थ्य उपकरण समेत सहयोग गरेको छ । शैक्षिक क्षेत्र, प्राकृतिक प्रकोपका बेला समेत आर्थिक लगाएतका विभिन्न खाले सहयोगमा समाज सक्रिय छ । गलकोट समाज अहिले जापान लगाएत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ । नेपालमा पनि गलकोट समाज काठमाडौं, पोखरा, बागलुङ र गल्कोटमै समेत कृयाशील छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *