बुर्तिबाङ देखी बागलुङ सम्म औपचारिक रुपमा ट्याक्सी सेवा सञ्चालन !

सुमन सुनार, बुर्तिवाङ २०७५ असार १५ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ देखि जिल्ला सदरमुकाम बागलुङ सम्म सिधा ट्याक्सी सेवा सञ्चालनमा आएको छ । बुर्तिबाङ क्षेत्रका यात्रुहरुको चाहना र समयको मागलाई मध्यनजर गर्दै बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.लि. ले ट्याक्सी सेवा सञ्चालनमा ल्याएको हो ।

अनौपचारिक रुपमा गत बैशाख १ गते देखि सेवा सञ्चालन गर्दै आए पनि संस्थाले कम्पनी ऐन बमोजिम सम्पुर्ण दर्ता प्रकृया पुरा गरिसकेपछि आज देखी औपचारिक रुपमा सेवा शुभारम्भ गरको छ । आज होटल भ्यालीटपको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा उद्घाटन समेत गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले परिवर्तित समय अनुसार यात्रुहरुको सुविधा सम्पन्न सवारीको उपयोग गर्ने चाहनालाई संस्थाले पुरा गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख नेपालीले यातयात सेवा प्रत्यक्ष जनतासंग जोडिएको क्षेत्र भएकाले ब्यवसायीले नाफामुखी भन्दा पनि सेवामुखी ढंगले सेवा सञ्चालन गर्न आग्रह गरे ।

उनले यातायात क्षेत्र अझैपनि सुरक्षित हुन नसकेको भन्दै बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै यातायात ब्यवसायीले सवारी चालक तथा सह–चालक छनौटमा विशेष ध्यान दिन पनि आग्रह गरे ।

यस्तै जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकृत नारायण सापकोटाले यातयात ब्यवसायीहरु विच रहेको अस्वस्थ प्रतिष्पर्धालाई हटाउदै एक आपसमा समन्वय गरेर जानुपर्ने बताए । यातायात ब्यवसायीले दिने सेवा बृद्ध, बृद्धा तथा अपाङगमैत्री हुनुपर्ने भन्दै सेवा दिने नाममा कसैले पनि यात्रुहरुलाई ठगी तथा दुब्र्यवहार गर्न नहुने समेत बताए ।

यस्तै कायक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक ओम प्रकास यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रलाल अर्याल, नेपाली कांग्रेसका शालिकराम शर्मा, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका गुञ्ज बहादुर भण्डारी, बुर्तिबाङ ढोरपाटन यातयात ब्यवसायी संघ बुर्तिबाङका महासचिव नरहरी भुसाल, पश्चिमाञ्चल बस ब्यवसायी संघका राम प्रसाद आचार्यले पनि सुभकामना मन्तब्य दिएका थिए ।

बुर्तिबाङ ढोरपाटन यातयात सेवा प्रा.लि ले पहिलो चरणमा १५ ओटा ट्याक्सी सञ्चालनमा ल्याएको र आवश्यकता अनुसार थप गरि सेवा विस्तार गर्दै जाने जनाएको छ । बुर्तिबाङ देखी भिमगिठे सम्मको १ सय ५०, खाल सम्म २ सय, खौलार सम्म ३ सय, न्वार ३ सय ५०, खर्बाङ ४ सय, हटिया ६ सय र बागलुङ १ हजार १ सय ५० रुपैयाँ भाडा दर कायम गरेको सञ्चालक समितिले जनाएको छ ।

समितिले ट्याक्सी सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका जनता प्रत्यक्ष लाभांन्वित हुने अपेक्षा गरेको छ ।

बुर्तिबाङ ढोरपाटन यातयात सेवा प्रा.लिका अध्यक्ष सहविन अर्गेजाको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजिवी, पत्रकार लगायतको पनि उपस्थिति रहेको थियो ।

सञ्चालक समितिका कोषाध्यक्ष दिपक कुमार अदैको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन भने सचिव नर बहादुर क्षेत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *