अस्वस्थताका कारण उपराष्ट्रपति पुन अभिनन्दन ग्रहण गर्न बुर्तिवाङ आउने कार्यक्रम रद्द !

निसी-भूजीका जनताहरुमा निराशा, मगर दिवसको प्रमुख अतिथीको रुपमा बादल आउने !

बुर्तिवाङ २०७३ फागुन १४ । भोलि फागुन १५ र १६ गते मगर सेवा समाज केन्द्र बुर्तिवाङको आयोजनामा हुने ३५ औ मगर दिवस तथा सम्माननीय उपराष्ट्रपतिको भव्य नागरिक अभिनन्दन गरिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा केहि समय अघिमात्र समारोहका प्रमुख अतिथी एवं उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अस्वस्थताका कारण बुर्तिवाङ आउने कार्यक्रम रद्द भएको छ । श्रोतले दिएको जानकारी अनुसार उपराष्ट्रपति पुन फुडप्वाइजनिङका कारण विरामी परेकाले अन्तिम समयमा आएर भ्रमण रद्द गरिएको हो । भोलि हुने मगर दिवसका अवसरमा प्रमुख अतिथीकोरुपमा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल आउने निश्चित भएको पनि श्रोतले बतायो ।

मगर दिवसका अवसरमा उपराष्ट्रपति पुनको भव्य अभिनन्दन गर्न उत्साहित बुर्तिवाङ क्षेत्रका मगर समुदायमात्र नभएर सबै जातजाति, रानजीतिक दलहरु लगायत निसी भूजीका जनताहरुको व्यापक सहभागिता हुने आयोजकले बताईरहेको बेला समारोहको पूर्व सन्ध्यामा प्राप्त भएको उपराष्ट्रपति पुनको भ्रमण रद्दको समाचारले आयोजक एवं संम्पूर्ण निसीभूजीवासीमा निराशा छाएको सहकर्मीहरुले जानकारी दिएका छन् ।

मगर दिवसका अवसरमा प्रदर्शनका लागि मगर संस्कृतिमा आधारित निसीको भल्कोटबाट झाँक्री नाच, तमान र भिङगिठेबाट पञ्चेबाजा, अधिकारीचौरबाट कौडानाच तथा भिङगिठेबाट मारुनी नाँच तथा सांस्कृतिक झाँकीहरु बुर्तिवाङ आईपुगेको आयोजकले जानकारी दिएका छन् ।

मगर दिवसका अवसरमा उपराष्ट्रपति पुनलाई नागरिक अभिनन्दन गरिने भएपछि बुर्तिवाङमा रहेका सरकारी कार्यालय, विभिन्न गैरसरकारी संघ संस्था र आम नागरिकलाई कार्यक्रममा सहभागी हुनका लागि आव्हान गर्दै पत्राचार भईसकेको थियो । भोलिको कार्यक्रममा समाजशास्त्री डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार भवानी बराल, बागलुङका पुर्व जिविस सभापती लिलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडी लगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने तयारी गरिएको छ ।

यस सम्वन्धमा थप जानकारी लिन माओवादी केन्द्रका बागलुङ ईन्चार्ज चन्द्रबहादुर बुढा तथा मगर सेवा समाज बुर्तिवाङका अध्यक्ष थम प्रकाश पुनसंग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.