बुर्तिबाङमा कर शिक्षा सम्बन्धीे अन्तरक्रिया सम्पन्न : कर तिर्नु नागरिक दायित्व !

प्रशान्त घर्ती, बुर्तिबाङ २०७५ जेठ ४ । बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको समन्वय तथा करदाता सेवा कार्यालय बागलुङको आयोजनामा आईतवार बुर्तिबाङमा एक दिने कर शिक्षा तथा त्यस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कर शिक्षा कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव कुमार उप्रेतीले, व्यवसायीले आम्दानी गरेवापत निश्चित आयकर तिर्नुपर्ने तथा सबै करको मुख्य दाता उपभोगकर्ता भएको बताए । राज्यका नागरिकले आम्दानी वापतको कर तिर्नु नागरिक दायित्व भएको उनको भनाई थियो ।

यसैबीच उपस्थित व्यवसायीबाट आएका प्रश्न तथा गुनासा र जिज्ञासाको समेत जवाफ दिंदै प्रमुख कर अधिकृत उप्रेतीले व्यवसायीले बस्तु बेचेवापत खरिदकर्ता उपभोक्ताबाट लिएको पैसा नै राज्यले निश्चित मापदण्ड बनाएर करको रुपमा राज्यलाई बुझाउनु पर्ने व्यवस्था रहेको बताए ।

उनले नागरिकले सेवा उपभोग गरेवापतको रकम राज्यकोषमा जम्मा पार्ने माध्यम व्यवसायी भएकोले आफ्नो दायित्व पूरा गर्न सचेत र जिम्मेवार व्यवसायीहरुलाई धन्यवाद दिए । नागरिकको पसिनाबाट संकलन भएको करको वजेटले देशको विकास निर्माण हुँदै राज्यका कर्मचारीको तलव तथा जनप्रतिनिधिहरुको भत्ता समेत जोडिएर आउने भएकाले राज्य कोषमा जम्मा भएको कर रकमबाट प्राप्त वजेट सही ठाउँमा सदुपयोगका लागि करदाता जनता समेत सचेत र जागरुक भई सरकारी काम कार्वाहीमा खवरदारी र निगरानी राख्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा करदाता सेवा कार्यालय बागलुङका प्रमुख सूर्य प्रसाद चापागाईले, व्यक्तिगत व्यवसाय सञ्चालनमा व्यवसाय दर्ता तथा स्थायी लेखा नम्बर प्यान लिनुपर्ने अवस्था, २० लाख भन्दा तलको साना व्यवसाय सञ्चालन गर्दा तिर्नुपर्ने न्यूनतम करको दायरा तथा पछिल्लो ऐन नियम संशोधनपछि नगरपालिकामा सञ्चालनमा आउने व्यवसाय जो अनिवार्य भ्याटमा जानुपर्ने प्रावधान, समयमा व्यवसाय सञ्चालनको जानाकारी तथा लागेको कर तिर्नुपर्ने व्यवस्थाका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको समन्वय तथा करदाता सेवा कार्यालय बागलुङको तर्फबाट गत जेठ २०, २१ र २२ गते सञ्चालन गरेको व्यवसायिक शिविरबाट स्थायी लेखा नं. प्यान लिएका ९७ जना व्यवसायीलाइलाई प्यानको प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेलले बोल्दै, उद्योग वाणिज्य संघ संग नगरपालिकाले हातेमालो गरेर काम गर्न चाहेको बताए । स्थानीय सरकारले पनि आफ्नो तर्फबाट करको दायरा तोकेकोले त्यस विषयमा नमिलेका कुराहरु बसेर मिलान गर्न नगरपालिका तयार रहेको पोख्रेलले बताए ।

यस्तै कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघ बागलुङका वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले व्यवसाय व्यवस्थापनमा स्वयं सञ्चालक सजग हुनुपर्ने बताउँदै व्यवसायिक हितका लागि संघले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बागलुङ उद्योग वासणज्य संघ इकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षता सल्लाहकार ढालेन्द्र छन्त्यालको स्वागत मन्तव्य तथा संघका महासचिव रामनारायण सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *