राज्यले खेल क्षेत्रमा पर्याप्त लगानी नगर्दा खेलाडीहरु खेलबाट पलायन हुने अवस्था अन्त्य भएन – नेपाली

सुमन सुनार, बुर्तिवाङ २०७५ जेठ २५ । बुर्तिबाङमा गत शनिबार देखि सुरु भएको आईटिएफ तेक्वान्दोको १ हप्ते सेमिनार आज सम्पन्न भएको छ ।

आईटिएफको प्रशिक्षण लिएका खेलाडीहरुलाई तेक्वान्दोप्रति प्रोत्साहित गर्न आयोजना गरिएको स्पेशल ट्रेनिङ कोर्स सम्बन्धी सेमिनारको समापन कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले राज्यले खेल क्षेत्रको विकासका लागी पर्याप्त लगानी गर्न नसक्दा खेलाडीहरु खेल क्षेत्रबाट पलायन हुने अवस्थाको अझै पनि अन्त्य हुन नसकेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख नेपालीले खेलाडीलाई खेल क्षेत्रमा टिकाईराख्न र खेलकुदको विकासका लागी राज्यले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए । यस्तै नगरप्रमुख नेपालीले ढोरपाटन नगरपालिकामा खेलकुदको विकासका लागी आगामी बर्ष खेलकुदकै लागी भनेर छुट्टै बजेट विनियोजन गर्ने योजना बनाएको समेत खुलासा गरे । सोही अवसरमा नेपालीले पश्चिमाञ्चल तेक्वान्दो संघलाई ब्यक्तीगत रुपमा नगद रु ५० हजार सहयोग समेत गरेका थिए ।

कार्यक्रममा पुर्व जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अर्जुन शेरचन, युवा समाजसेवी टेकराज पौडेल, न्यु मोर्डन एकेडेमी बुर्तिबाङका कम्पनी अध्यक्ष उत्तम बहादुर महतले समेत मन्तव्य व्यक्त गर्दै दक्षिण एसियाली सार्क गेममा नेपाललाई सवै भन्दा धेरै स्वर्णपदक जिताउने खेल तेक्वान्दो भएको बताउँदै यसको संरक्षण र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए । साथै पश्चिम क्षेत्रले नेपालको आइटिएफ विकासको लागि अतुलनीय योगदान पु¥याएको भन्दै यसको विकासमा जिल्लाका स्थानिय तहहरुले ध्यान दिन आवश्यक रहेको समेत उल्लेख गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल आईटिएफ जिल्ला समिति बागलुङका अध्यक्ष सस बहादुर पुन, जिल्ला भलिबल संघ बागलुङ उपाध्यक्ष यामु पौवी, एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना, न्यु मोर्डन एकेडेमीका प्रिन्सीपल दिपक कुँवर लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको रुपमा दिनेश बुढा मगर, शर्मिला महत, बसन्ती बुढा मगर, दिपक गौतम लगायतका खेलाडप्लाई सम्मानपत्र सहित खादा, अविर लगाएर सम्मान समेत गरिएको थियो भने सहयोगी संघसंस्था, प्रशिक्षक, पुर्व खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

पश्चिमाञ्चल तेक्वान्दो संघका सचिव तथा राष्ट्रिय व्लाकबेल्ट कमिटिका अध्यक्ष घमबहादुर थापाको अध्यक्षता रहेको समापन कार्यक्रमको सञ्चालन जिल्ला सदस्य प्रतिक घर्ति मगरले गरेका थिए ।

पश्चिमाञ्चल तेक्वान्दो संघ र राष्ट्रिय व्लाकबेल्ट कमिटिको संयुक्त आयोजनामा १ हप्ता सम्म जारी रहेकोे सेमिनारमा बागलुङका विभिन्न स्थानका खेलाडी तथा छिमेकी जिल्लाहरु गुल्मी, कास्की र नवलपरासीका गरी १ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको थियो ।

सेमिनारलाई कोरियाली सिनियर मास्टर जे चुङ होले सहजीकरण गरेका थिए । तेक्वान्दोको आँठौ डान होले खेलाडीहरुलाई स्पाइरिङ, प्याटर्न, टेक्निक्स तथा पावर ब्रेकिङलगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो । सिनियर मास्टर जे चुङ होले विभिन्न देशहरुमा स्पेशल ट्रेनिङ कोर्सको बारेमा प्रशिक्षण दिँदै आएका छन् ।

पश्चिम बागलुङ आइटिएफ तेक्वान्दोको उर्बर भूमि भएकोले यो क्षेत्रमा अन्तराष्ट्रिय स्तरको प्रशिक्षकका उपस्थितीमा सेमिनारको आयोजना गरिएको पश्चिमाञ्चल तेक्वान्दो संघका सचिव तथा राष्ट्रिय व्लाकबेल्ट कमिटिका अध्यक्ष थापाले जानाकारी दिए ।

केन्द्रको तथ्याङ्क अनुसार बागलुङ जिल्लाबाट मात्रै करिब ५ सय खेलाडीले व्लाकबेल्ट प्राप्त गरेका छन् । त्यस्तै, बुर्तिबाङमा ३ पटक व्यवसायिक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र समय समयमा जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरु सम्पन्न भैसकेका छन् । यो सेमिनारबाट पश्चिम बागलुङका खेलाडीहरु प्राविधिक रुपमा दक्ष हुने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *