भैँसीखर्कको सरस्वती आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव !

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७५ जेठ २५ । ढोरपाटन नगरपालिका–५ भैँसीखर्कमा रहेको सरस्वती आधारभूत विद्यालयका करिब ५० जना विद्यार्थी अहिले पनि खुला आकाश मुनी बसेर अध्ययन गरि रहेका छन् । विद्यालयको भौतिक अवस्था पनि उस्तै देखिन्छ ।

वि.सं २०५१ सालमा स्थापना भई ढोरपाटन नगरपालिका–५ नाथुरीमा विद्यालय भवन निर्माण गरि कक्षा संचालन गर्दै आएको उक्त विद्यालय नाथुरी तथा त्यस आसपासका बालबालिबाहरुलाई पाइक नपरेको भन्दै यसै शैक्षिक सत्रदेखि भैसीखर्कमा स्थानान्तरण गरिएको थियो ।

अहिले विद्यालयमा २ वटा भवनमा ४ वटा कक्षाकोठा रहेका छन् । विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । विद्यालयमा भवन अभाव हुँदा एउटा कक्षाका विद्यार्थीहरुलाई बाहिर राखेर कक्षा संचालन गरेको विद्यालयकी प्रधानाध्यापिका हिराकुमारी गौतमले बताईन् ।

त्यसैगरी विद्यालय भवन मात्रै नभई प्रत्येक कक्षा कोठाहरुमा विद्यार्थीहरु बसेर अध्ययन गर्ने डेक्स बेन्च समेत छैनन् । विद्यार्थीहरुले भुइँ मै बसेर अध्ययन गरि रहेका छन् । प्राप्त फर्निचर, खानेपानी, शौचालय तथा खेल मैदानको समेत अभाव रहेको छ ।

विद्यार्थीहरुलाई कक्षाकोठा नभए र खुल्ला आकाश मुनी राखेर पठनपाठन गर्दा विद्यार्थीलाई पढाई प्रति ध्यान केन्द्रीत गराउन, शिक्षण विधिहरु प्रयोग गरेर अध्यापन गराउन नसक्ने, हुरी बतास चल्दा र वर्षा हुँदा शिक्षण कार्य संचालन गर्न नसकिने र सिकाई प्रभावकारी बनाउन नसकिएको प्रअ गौतमको भनाई छ ।

अहिले उक्त विद्यालयमा ६ जना शिक्षक शिक्षिका रहेका छन् । जस मध्य, २ राहत, १ दरबन्दी र अरु स्थानीय स्रोतका रहेका छन् । यस विद्यालयमा ढोरपाटन नगरपलिका–५ नाथुरी, भैसीखर्क, बाहुनगाउँ, लामतारा तथा त्यस आसपासका करिब १ सय जना बालबालिकाहरु अध्ययन गर्न आउने गर्दछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *