निलगिरि अस्पतालमा दमका २५ जना विरामीको निःशुल्क उपचार !

बागलुङ, २०७५ जेठ २३ । धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित निलगिरि सहकारी अस्पतालले एक दिने श्वास प्रश्वास तथा दम रोगका विरामीहरको निःशुल्क स्वास्थ्य परिक्षण शिविर मंगलवार सम्पन्न गरेको छ ।

श्वास प्रश्वास तथा दमका रोग सम्बन्धी विरामीहरुको फोक्सोको कार्य क्षमता पल्मोनरी फङ्सन टेष्ट प्रयोग गरी श्वास प्रश्वास सम्बन्धमा फोक्सोको जाँच गरिएको अस्पतालमा मेडिकल निर्देशक डा.गोविन्द गौतमले जानकारी दिए ।

मानिसको श्वास प्रश्वास प्रक्रियामा फोक्सोले राम्रोसंग काम गरे नगरेको जाँच गरी उपचारमा सहयोग पुग्ने भएकाले यो जाँच आवश्यक रहेको डा. गौतमको भनाई थियो ।

सिप्ला फार्मासेउटिकल कम्पनीको सहयोगमा आयोजना गरिएको १ दिने शिविरमा २५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । कम्पनीका कर्मचारी बिनिता पौडेल र निलगिरि अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतम लगायतका स्वास्थ्यकर्मीहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

साविक धौलागिरि अञ्चलमा पहिलो पटक सहकारी मार्फत स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उदेश्यका साथ स्थापित निलगिरि सहकारी अस्पतालले नियमित रुपमा विभिन्न किसिमका रोगको उपचारका लागि शिविरहरु सञ्चालन गर्दै आइरहेको छ ।

अस्पतालबाट नियमित रुपमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टरहरु सहितका स्वास्थ्यकर्मीहरुबाट स्त्री रोग सम्बन्धी सेवा, प्रसूति सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, नाक, कान, घाँटी, जनरल मेडिसिन, सुझाव तथा परामर्श, बालरोग, प्रयोगशाला, एक्सरे अल्ट्रासाउण्ड, कल्पोस्कोपी, फार्मेसी, इकोकार्डियोग्राफि, छाला तथा यौन रोग, क्रायो सर्जरी, कल्चर, अर्थोपेडिक लगायतका सेवा सञ्चालन गर्दै आइरहेको छ ।

संस्थाले सञ्चालन गर्दै आइरहेका सेवाहरुलाई थप प्रभावकारी बनाउदै स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्ने लक्ष्य लिइएको मेडिकल निर्देशक डा.गोविन्द गौतमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *