आवागमन नै बन्दहुने गरी मालबाहक ट्रक घण्टौँ सडकमा तेर्साएर राखेको दृश्य किन देख्दैन नगरपालिकाको आँखाले ?

बागलुङ २०७५ जेठ २० । बागलुङ नगरपालिका एक कुरा, दुई कुरा, तीन कुराले मात्रै चर्चा कमाई रहेको छैन, हरेक दिन जानी नजानी केहि न केहि कुराले चर्चामा आईनै रहेको हुन्छ ।

पछिल्लो समय गत जेठ १३ गते बागलुङ नगरपालिकाले सडक साँघुरो भयो भनेर बागलुङ बजारका पसलहरुका पेटीमा राखिएका र झुण्डाईएका सरसामानलाई चोरीको सामान नियन्त्रणमा लिएजस्तै एक्कासी प्रहरी प्रयोग गरेर उठाएर लगेको र पछी सडकको मध्यभागमा फ्याँकी देखिएको दृश्यले केहि समय बजारमा एक प्रकारको आतंक नै छायो । पूर्व सूचना नदिई यसरी सामान उठाएर लैजाने कार्यको बिरोधमा व्यापारीहरुले बजार नै बन्द गराए । यस घटनाले व्यापारी र नगरपालिकाबीच पानी बाराबारको अवस्था ल्यायो ।

नगरपालिकाले व्यापारीहरुसंग समन्वय गरी पसलका पेटीहरुबाट समान हटाएर सहयोग गर्न भनेको भए हामी स्वयं हटाएर नगरपालिकालाई सहयोग गथ्यौँ अहिले व्यापारीहरु भनि रहेका छन् पसलका पेटीमा राखिएका सामानले सडक साँघुरो बनाएकै कारण यस्तो आतंक मच्चाउनु पर्ने स्थिति आएको हो भने विशालकाय सवारी साधन मालबाहक हेभी ट्रकहरु, मध्य दिउँसो आवागमन नै बन्दहुने गरी घण्टौँ सडकमा तेर्साएर राखेको दृश्य किन देख्दैन नगरपालिकाको आँखाले ? व्यापारीहरुले उठाएको यो प्रश्न चुनौतीपूर्ण छ ।

एक डेढ वर्ष पहिले सम्म नगरपालिका, ट्राफिक प्रहरी नागरिक समाजको सहमति अनुसार ठुला मालबाहक ट्रकहरु विहान ९ बजे देखी साँझ ५ बजे सम्म बजार क्षेत्रमा प्रवेश गर्न बन्देज थियो तर अहिले मालबाहक ट्रकहरु सामान लोड अनलोड गर्दा लगभग दिनभरीनै सडकमा रहन्छन । टाफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक छबबहादुर घर्तीलाई यस सम्वन्धमा जानकारी लिन खोज्दा उनको भनाई थियो विहान ९ बजे पछी साँझ ५ बजे सम्म ठूला हेभी बाहक बाहनहरुलाई बजार क्षेत्रमा प्रवेश निशेध गर्न बारम्बार नगरपालिकामा प्रस्ताव गरिरहेको छु तर नगरपालिकाको ध्यानाकर्षण गराउन सफल भएको छैन ।
उनले भने हार्डवयरका सामान लिएर आउने हेभी ट्रकहरुले सबभन्दा बढी समस्या पारेका छन् । घरनै भत्काउने गरी बजारमा गुडाउदा कुनैपनि समय दुर्घटना हुन सक्ने संभावनालाई नकार्न सकिन्न ।

दुई वर्ष पहिले लोकतान्त्रिक चोकमा लामो समय सम्म पार्किङमा राखिएको जीपलाई ट्राफिक प्रहरीले ताल्चा लगाएर जरिवान तिराएको थियो, रङ्ग साईड पार्किङ गर्ने सवारी साधनहरुलाई जरिवाना असुल्ने गरिएको दृश्यहरुपनि नदेखिएका होईनन् । तर अहिले आएर त्यो दृश्य देख्न पाईएको छैन ।

चाहे बलेवा बिमानस्थलमा बिमान सेवा सन्चालन होस, चाहे नगरबासीको बासैउठ्ठा हुने गरी साबिक पैयुँपाटा र नारायण स्थान गाविसको मोटरबाटोको मापदण्ड कायम गर्ने विषय होस, चाहे फोहोर मैला व्यवस्थापनको जिम्मा आफ्नालाई दिलाउन किन नहोस नगरपालिकाले चर्चा आर्जन गरिरहेको छ ।
एकवर्षको उपलव्धी गिनाउन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख जनकराज पौडेलले बलेवा बिमानस्थल सन्चालन, बसपार्क निर्माण, माझीबस्ती निर्माणलाई मुख्य उपलव्धी बताएपछी उपस्थित नगरबासीले बडो मुस्किलले हाँसो रोकेका थिए ।

हिँजो शनिवार बिहान प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको स्वागतमा नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथी मुख्यमन्त्री गुरुङ केन्द्र सरकारको जमेर आलोचना गरिरहँदा अध्यक्षको आसनमा बसेका नगरप्रमुख पौडेलले नाक मुखलाई हातले छोपेर मोबाईल फोनमा कुरा गरिरहेको दृश्यपनि चर्चाको विषय बन्यो ।

बिहानले दिउँसो जनाउछ भन्ने उखान झैँ कार्याप्रारम्भ मै बसाई सराई, हिँडाई डुलाई, हेराई गराई लवाई खवाई आदित्यादि कुराहरुमा मार्केबल परिवर्तन देखिएपछी नगरपालिकाले चर्चा पाईरहने उतिबेलै देखी नगरबासीहरुको ठम्याई थियो ।
तस्बीर भिडियो : दीपक शर्मा, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *