तेक्वान्दोको स्पेशल ट्रेनिङ कोर्सको लागि कोरियन सिनियर मास्टर बुर्तिबाङमा !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७५ जेठ १९ । बुर्तिबाङमा आजदेखि आईटिएफ तेक्वान्दोको १ हप्ते सेमिनार शुरु भएको छ । आइटिएफ्को प्रशिक्षण लिएका खेलाडीहरुलाई तेक्वान्दोप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले स्पेशल ट्रेनिङ कोर्स सम्बन्धी सेमिनार शुरु गरिएको हो ।

पश्चिमाञ्चल तेक्वान्दो संघ र राष्ट्रिय व्लाकबेल्ट कमिटिको संयुक्त आयोजनामा शुरु भएको सेमिनारमा बागलुङका विभिन्न स्थानका खेलाडी तथा छिमेकी जिल्लाहरु गुल्मी, कास्की र नवलपरासीका गरी करिब १ सय खेलाडीहरुको सहभागीता रहेको छ ।

सेमिनारलाई कोरियाली सिनियर मास्टर जे चुङ होले सहजीकरण गरिरहेका छन् । तेक्वान्दोको आँठौ डान होले १ हप्तासम्म खेलाडीहरुलाई स्पाइरिङ, प्याटर्न, टेक्निक्स तथा पावर ब्रेकिङलगायतको विषयमा प्रशिक्षण दिनेछन् । सिनियर मास्टर जे चुङ होले विभिन्न देशहरुमा स्पेशल ट्रेनिङ कोर्सको बारेमा प्रशिक्षण दिँदै आएका छन् ।

पश्चिम बागलुङ आइटिएफ तेक्वान्दोको उर्बर भूमि भएकोले यो क्षेत्रमा अन्तराष्ट्रिय स्तरको प्रशिक्षकका उपस्थितीमा सेमिनारको आयोजना गरिएको पश्चिमाञ्चल तेक्वान्दो संघका सचिव तथा राष्ट्रिय व्लाकबेल्ट कमिटिका अध्यक्ष घमबहादर थापाले जानाकारी दिए । पश्चिम क्षेत्रले नेपालको आइटिएफ विकासको लागि अतुलनीय योगदान पु¥याएको स्मरण गर्दै थापाले थप संस्थागत विकासको लागि आयोजना गरिएको यो सेमिनारले उत्कृष्ट खेलाडी उत्पादनमा थप सहयोग गर्ने अपेक्षा गरे ।

केन्द्रको तथ्याङ्क अनुसार बागलुङ जिल्लाबाट मात्रै करिब ५ सय खेलाडीले व्लाकबेल्ट प्राप्त गरेका छन् । त्यस्तै, बुर्तिबाङमा ३ पटक व्यवसायिक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र समय समयमा जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरु सम्पन्न भैसकेका छन् । यो सेमिनारबाट पश्चिम बागलुङका खेलाडीहरु प्राविधिक रुपमा दक्ष हुने अपेक्षा गरिएको छ ।
सेमिनार जेठ २५ गतेसम्म सञ्चालन हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *