आर्थिक अभावका कारण उपचार नपाउँदा एक हप्तादेखि विशाल परियार अलपत्र

लोकेन्द्र निरासी, बुर्तिबाङ २०७५ जेठ १५ । ढोरपाटन नगरपालिका वडा नं. २ खल्बाङ स्थायी घर भई लामो समयदेखि निसीखोला वडा नं. १ हुल्दीमा आरने काम गर्दै आएका विशाल परियार तातो फलाममा परेर गम्भीर घाइते भएपछि आर्थिक अभावका कारण उपचार नपाउँदा एक हप्तादेखि अलपत्र परेका छन् ।

उनी गत जेठ ९ गते आफ्नै आरनमा तताएको तातो फलाममा बाँया हात जल्दा गम्भीर घाइते भएका हुन् । आरनमा फलाम तताएर बाहिर राखेको र आफूलाई छारे रोग भएकाले सोही समयमा बेहोस भइ पल्टदा उक्त तातो फलाममा परेको परियारले बताए ।

आफूसंग उपचारको लागि एक रुपैयाँसम्म नभएकाले तत्काल उपचारको लागि कतै जान नसकेको उनले बताए । जलेको घाउ झन झन गम्भीर बन्दै गएपछि उनी सोमबार मात्र प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको लागि आएका थिए । अहिले उनी ईमरजेन्सी कक्षको २ नं. बेडमा अलपत्र परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार हुन नसक्ने भएपछि उनलाई रिफर गर्नुपर्ने भएको अस्पताल स्रोतले बताएको छ । घाउ इन्फेक्सन भएर गम्भीर बनिसकेकाले र अप्रेसन गर्नुपर्ने भएकाले यहाँ उपचार हुन नसकेकाले रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख डा. विजय श्रेष्ठले बताए ।

रिफर भइसकेपछि कहाँ गएर कसरी उपचार गर्ने भन्ने कुराले घाइते परियारलाई निकै चिन्तित बनाएको छ । उनको परिवारमा विहान बेलुकी हातमुख जोर्न समेत मुस्किल छ । उनकी श्रीमतीले दिनभर अरुको काम गरेर परिवार धानेकी छन् । आफूलाई बाँच्ने रहर भएकाले उपचारको लागि आर्थिक सहयोग गरिदिन परियारले सबैलाई अपिल गरेका छन् ।

उनलाई आर्थिक सहायता र उपचारको लागि विभिन्न व्यक्ति र निकायमा पहल भइरहेको र उपचारका लागि तत्काल पोखरा पुराउन लागिएको निसीखोला वडा नं. २ का अध्यक्ष कुबीर वि.क.ले बताए । उता केही आर्थिक सहयोगका लागि नगरपालिकामा समेत पहल गर्ने ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर भण्डारीले बताए । अहिले परियारलाई उपचारको लागि पोखरा पुराउन लागिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *