बुर्तिवाङमा मगर दिवस तथा उपराष्ट्रपति पुनको नागरिक अभिनन्दनको भव्य तयारी !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन ११ । बुर्तिबाङमा फागुन १५ र १६ गते आयोजन गरिने मगर दिवस विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नागरिक अभिनन्दन कार्यक्रमको भव्य तयारी भएको छ । कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न आयोजकहरु युद्धस्तरमा लागेका छन् ।

मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रदर्शन गर्न मगर संस्कृतिमा आधारित निसीको भल्कोटबाट झाँक्री नाच, तमान र भिङगिठेबाट पञ्चेबाजा, अधिकारीचौरबाट कौडानाच तथा भिङगिठेबाट मारुनी नाँच ल्याउने तयारी भईरहेको उपाध्यक्ष शेरमान घर्तीले जानकारी दिए ।

मगर दिवसका अवसरमा उपराष्ट्रपति पुनलाई नागरिक अभिनन्दन गरिने भएपछि बुर्तिवाङमा रहेका सरकारी कार्यालय, विभिन्न गैरसरकारी संघ संस्था र आम नागरिक नागरिकलाई कार्यक्रममा सहभागी हुनका लागि आव्हान गर्दै पत्राचार भईसकेको आयोजकले जनाएका छन् ।

सहभागी सवैलाई आफ्नो संस्कृतिमा आधारित झाँकी तथा ब्यानर सहित संस्थागत रुपमा सहभागी भई उपराष्ट्रपति पुनको नागरिक अभिनन्दन गर्न अपिल गरिएको अध्यक्ष थमप्रकाश पुनले बताए ।

कार्यक्रममा अभिनन्दन पत्र सहित उपराष्ट्रपतिलाई विशेष सम्मान गरिने र समाजशास्त्री तथा जनजाति आन्दोलनका अगुवा डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार भवानी बराल, बागलुङका पुर्व जिविस सभापती लिलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडी लगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने तयारी गरिएको छ ।

सो अवसरमा चार्चित कलाकारहरु, कुमार पुन, राजु परियार, तिर्सना घर्ती, जुना श्रीस, निर आले लगायतले सांगितिक एवं सांस्कृतिक प्रस्तुति दिने आयोजकले जानकारी दिए ।

उपराष्ट्रपतिको सुरक्षा संवेदनशीलतालाई व्यवस्थापन गर्न र कार्यक्रममा सहभागी हुन बागलुङका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायत जिल्लाका सरकारी अधिकारी फागुन १४ गते बुर्तिबाङ आउने कार्यक्रम रहेको पनि आयोजकले बताए ।

कार्यक्रमको अवसरमा आयोजना गरिएको ताराखेल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार र व्दितिय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उपराष्ट्रति पुन फागुन १५ गते पोखरा विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर दिउसो १ बजे कार्यक्रम स्थल बुर्तिबाङ आईपुग्ने कार्यक्रम तय भएकोछ ।
नेपाली राजनीतिमा स्थापित बर्तमान राष्ट्रिय मुद्दा तथा मुलुकै राजनितिक परिवर्तनमा विशेष योगदान गरेका उपराष्ट्रपति पुन, मगर समुदायबाट राष्ट्रको विशिष्ट पदमा पुग्नुभएकाले मगर दिवशमा नागरिक स्तरबाटै अभिनन्दन गर्न लागिएको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *