जैमिनी – ७ जैदीमा दलित समुदायका १८ घरपरिबारलाई विद्युतीय सामाग्री प्रदान

साजन परियार, कुस्मीसेरा २०७५ जेठ १० । लामो समयदेखी अन्धकारमा बस्दै आएका जैमिनी नगरपालिका ७ जैदीका अति विपन्न दलित समुदायका १८ घरधुरीलाई बुधवार विद्युतीय सामग्री वितरण गरिएको छ । वडा सदस्य केन्द्र रसाईलीको पहल र नेपाल विद्युत प्राधिकरण बागलुङको सहयोगमा मिटर, एउटा बक्स, एउटा एम.सी.वि, ३० मिटरको दरले सामग्री वितरण गरिएको हो ।

वडा सदस्य रसाईलीले दलित समुदायको आवश्यकता र पहिचानलाई मध्येनजर गरेर सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार समुदायमा अति विपन्न भई लामो समयदेखी अन्धकारमा बस्न बाध्य भएका १८ घरधुरीलाई विद्युतीय सामग्री वितरण गरिएको हो । वडा कार्यालयले लक्षित बर्गको कार्यक्रम अनुसार सामग्री वितरण गरेको रसाईलीले बताए ।

विद्युतीय सामग्री वितरणका अवसरमा वडा अध्यक्ष जितवहादुर राना, वडा सदस्य केन्द्र रसाईली, कुमारी थापा राना र विमला सुनार लगायत सयौको उपस्थिती रहेको थियो । वडा अध्यक्ष रानाले दलित समुदायको आत्मबल बढाउन वडाले विभिन्न काम गर्ने बताए । उनले विकास निर्माण सँगै वडा कार्यालयले समुदायको पछि परेका बर्गको निम्ती काम गर्न उद्घोष गरे ।

कार्यक्रममा बौल्दै दलित वडा सदस्य केन्द्र रसाईलीले जीवनमा धेरै काम गरेको भएपनि आज वास्तविक दलित समुदायका निम्ती काम गर्दा खुशी भएको बताए । साथै उनले आफ्नो सम्पूर्ण जीवन दलित तथा पछाडी परेका बर्गहरुको उत्थानका लागि खर्च गर्ने बताए । प्राविधिक कारणले गर्दा आजसम्म उज्यालै बनाउन सकिएको थिएन, उनले भने ‘अधुरो काम पुरा गर्न पाउँदा खुशी लागेको छ ।’ साथै उनले विद्युत प्राधिकरणलाई धन्यवाद दिँदै अव कसैको घर अन्धकार नहुने दावी गरे ।

विद्युतीय सामग्री पाएपछि गंगे सार्कीले खुशी व्यक्त गरे । ‘हामी त जिन्दगी भर अन्धकारमा बस्नुपर्ने सोचेका थियौँ । रकमको अभावमा ट्रासमिटर किन्न सकेका पनि थिएनौ । बल्ल हामीलाई स्थानीय सरकार आएको महशुस भयो’ सार्कीले भने ।

उता जैदी नगरपालिका–७ विराउनेकी मन्धरी नेपालीले पनि धेरै बर्षपछि ट्रासमिटर पाउँदा खुशी लागेको बताईन । ‘मैले सोचेको पनि थिईन–उनले भनीन, हामीले वडा कार्यालयले वितरण गरेको सामग्री प्रति हामी ऋणी छौँ ।’ विद्युतीय सामग्री पाएपछि स्थानीयवासी हर्षित भएका छन् ।

लामो समयदेखी अन्धकारमा बस्दै आएका दलित, विपन्न समुदाय विद्युतीय सामग्री पाएपछि आफ्ना अन्धकारका दिन समाप्त भएको बताएका थिए ।

वडा कार्यालयले सामग्री हस्तान्तरण सँगै जड्नको समेत व्यवस्था गरिदिएपछि स्थानीय झन हर्षित भएका छन् । वडाले विद्युत जडानका लागि दलित विद्युत जडान उपभोक्ता समेत गठन गरेको छ । वडाले कमल नेपालीको अध्यक्षतामा ११ सद्यस्यीय समिति गठन गरेको जनाएको छ । गाउँमा विद्युत नहुँदा विशेष गरि विद्यार्थीहरु ठुलो समस्यामा परेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *