तल्लो दर्जाका कर्मचारीको मातहतमा बस्नुपर्दा उपल्लो दर्जाका स्वास्थ्यकर्मी आन्दोलित !

बागलुङ २०७३ फागुन १० । गाविस सचिवहरु र जिविसका कर्मचारीहरु आन्दोलन –धर्ना) कार्यक्रम पछी जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् । आफु भन्दा तल्लो तहका कर्मचारीहरुको मातहतमा रहेर काम गर्नुपरेको भन्दै बागलुङका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

संयुक्त ट्रेड युनियन संघर्ष समितिले सोमबारबाट जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङमा धर्ना दिन सुरु गरेका छन् । सरकारले तल्लो तहका कर्मचारीलाई बढुवा गरी अधिकृत तहको सेवा सुविधा दिएपनि जिम्मेवारी बाँडफाँड नगर्दा समस्या भएको बताइएको छ ।

पद नाम दिइएपनि पद अनुसार काम गर्न नदिएको भन्दै स्वास्थ्यकर्मीहरुको हक हित संरक्षणको माग गर्दै विरोध स्वरुप धर्ना दिएको समितिका संयोजक सोमराज पाण्डेयले बताए । सरकारले लामो समय देखि पदनाम दिएका स्वास्थ्यकर्मीलाई कामको जिम्मेवारी नदिदा छैठौँ तहका कर्मचारीले पाँचौ तहका कर्मचारीको मातहतमा बस्नुपरेको बताएका छन् ।

पद अनुसारको काम नपाउदा मानसिक तनाब समेत थपिएको उनीहरुको भनाई छ । सरकारले २०५४ सालमा तहगत बढुवा गरेका स्वास्थ्यकर्मीको पदस्थापना हुन नसकेपछि स्वास्थ्य सम्बद्ध विभिन्न संगठन देशव्यापी रुपमा आन्दोलित भएका हुन ।

चौथो तहका कर्मचारीलाई पाँचौ, पाँचौलाई छैठौँ र छैठौँलाई सातौँ तहमा बढुवा गरिएको थियो । यसअघि २०६४ सालमा स्वास्थ्यकर्मीले देशव्यापी आन्दोलन गरेपछि सरकारले स्वास्थ्य ऐन संशोधन गरी पदनाम दिइएका सबैलाई जिम्मेवारी दिने प्रतिबद्धता गरेको थियो । सरकारले प्रतिबद्धता जनाएको लामो समय सम्म जिम्मेवारी नपाएपछि आफुहरु फेरी आन्दोलनमा उत्रिनु परेको सिगाना स्वास्थ्य चौकीका इन्चार्ज बिष्णु शर्माले बताए ।

शर्माले स्वास्थ्य सेवा ऐन अनुसार विशेष पदस्थापनाको व्यवस्था गरेपनि कार्यान्वयन नभएकाले आफ्ना माग संवोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । जिल्लामा चौथो देखि छैठौँ तहसम्मका ६४ जना कर्मचारी कामको जिम्मेवार बिहिन रहेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *