आजको तस्वीर : नगरपालिकाका आँखाले नदेखेका भूजीखोलाका झुले पुलहरु…

शब्द/चित्र : डम्मर बुढा मगर,

बुर्तिवाङ २०७५ जेठ ७ । पन्चायतकालमा तत्कालीन अर्थमन्त्रीले बजेट बक्तव्यमा बागलुङलाई झोलुङ्गे पुलको जिल्ला भनेर उल्लेख गरेका थिए । खासगरी ढोरपाटन र गल्कोट नगरपालिका क्षेत्रमा झोलुङ्गेहरु प्रशस्तै थिए र छन् । तर ती पुलहरु अहिले कतै मरमतको अभावमा त कतै बाढी पहिरोका कारण जीर्ण अवस्थामा रहेका छन् । ढोरपाटन नगरपालिका साबिक अधिकारीचौर र बोवाङ गाविस भएर बग्ने भूजीखोलामा बनेका अधिकाँश पुलहरुको अवस्था जीर्ण छ । स्थानीयबासीहरु, जीर्ण पुलहरु देखाउदै कटाक्ष गर्छन, “यी पनि झोलुङ्गे पुल हुन र ? अहिले त यी झुले पुलहरुमा रुपान्तरित भएका छन् ।”

नयाँ वर्षारम्भ सँगै वर्षा हुन थालेपछी खोला नालाहरुमा बाढी आउनु पूर्व मरमत सम्भारका लागि स्थानीयबासीले गुहार माग्न थालेका छन् । तर जिम्मेवार पक्षको ध्यानाकृष्ट नहुँदा उनिहरुमा चिन्ता बढेको छ । ‘हाम्रा मेयर सा’बले कहिले कुन त कहिले कुन बिद्यालय, संघसंस्थाहरुलाई मन फुकाएर सहयोग दिएको र गरीब दलितहरुका खरका छाप्राहरुमा कर्कट पाताले छाईदिने गरेका गुणकारी कार्यहरु देखे सुने पनि ढोरपाटन नगरपालिकाको कार्यालय नजिकै रहेको भूजीखोलाका तीन चार ठाउँमा काठको टेका लगाएर अडाएका झुले पुलहरु मेयर साबको आँखामा नपर्नुलाई आफ्नै दुर्भाग्य’ भनेर कुण्ठित बनेका छन् । उनिहरु भन्छन, “बुर्तिवाङमा घरका छानाबाट हेलिकप्टर उड्छन् तल भूँईमा सवारी साधनहरुले खुट्टा राख्ने ठाउँ छैन, लाखौको लागतमा बुर्तिवाङ बजारमा महिनौ देखी ढल निर्माण जारी छ, तर दुर्भाग्य बुर्तिवाङ बजार देखी एक डेढ किलोमिटरको दूरीमा रहेका झोलुङ्गे पुलहरु झुले पुल बन्दा पनि कसैको नजरमा पर्न सकेन ।”

२०७३ साउन ११ गते भुजीखोलामा आएको भीषण बाढीले गर्दा बिग्रिएको ढोरपाटन नगरपालिका–५ साउथोक र ढोरपाटन नगरपालिका–६ आमबोट जोड्ने तीन चार ठाउँमा काठको टेका लगाएर अडाएका झोलुङ्गे पुल अझैसम्म मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रत्येक दिन त्यही पुल मार्फत वारपार गरी बजारसम्म पुगेर माल सामान किनमेल गर्ने, खेतबारीमा काम गर्ने लगाएतका अन्य क्रियाकलापहरु गर्ने गरेका स्थानीयहरुलाई बाढीले पुल जीर्ण गराई दिए पछि कष्टकर तथा जोखिम मोलेर यात्रा गर्नु परेको हो ।

अहिले पुलको करिब आधा भाग बाङ्गिएको र भत्किएको छ भने छेउ तथा बिच भागमा काठ टेको लगाइएको छ । त्यस्तो काठले टेको लगाएको झोलुङ्गे पुलमा बालबालबालिका तथा बृद्धबृद्धालाई यात्रा गर्न धेरै गाह्रो भएको स्थानीय निममाया घर्ती मगरले बताईन् ।

उक्त पुल पुनः मर्मत नहुँदा सुब्जागाउँ, साउथोक, आमबोट, सहिखोला लगाएत त्यस स्थानका करिब १२ सय घरदूरीका जनतालाई यात्रा गर्न गाह्रो भएको घर्तीको भनाई छ ।

बाढीले भुजीखोलामा रहेका करिब ५/६ वटा झोलुङ्गे पुल बगाएको थियो भने हजारौँ रोपनी खेतीयोग्य जमिन, दर्जनौ घर तथा पशु चौपाया बगाएको थियो ।

“बाढीले पुल बगाए पछि २/२ वटा चुनावहरु भए धेरै जनप्रतिनिधीहरुलाई भोट दिएर जितायौँ तर हाम्रो यो समस्यालाई कसैले पनि बुझेन, आश्वासन मात्र बाँडे” स्थानीयहरुको दु:खेसो छ । एकातिर झोलुङ्गे पुलहरुको यस्तो बेहाल छ अर्कोतिर जथाभावी उत्खनन् गरेर भूजीखोलाको व्यापक दोहन भैरहेको छ यस्तो दु:खलाग्दो परिदृश्यलाई टुलुटुलु हेर्न सक्ने हाम्रा जनप्रतिनिधीहरुका आँखा धन्य हुन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *