स्थानीय पालिकाले वडा वडामा प्रहरी युनिट राख्ने योजना तर्जुमा गर्न प्रउ रेग्मीको आग्रह !

बागलुङमा १० महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु ४७ जना घाईते, ६५१६ सवारी साधन कार्वाहीमा !

सुमन सुनार, बुर्तिवाङ २०७५ जेठ ४ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा शुक्रबार बुर्तिबाङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नागरिक सुनुवाई कार्यक्रममा स्थानीयस्तरका समस्या, प्रहरी र जनताको सम्बन्ध प्रगाढ, नागरिक सचेतनाका विषयमा प्रहरीले गर्न सक्ने कार्यहरु र स्थानीय स्तरमा भए गरेका घटना सम्बन्धमा प्रहरी र नागरिक मिलेर समस्या पहिचान तथा निरुपणमा गरिदै आएका विषयमाथि जिज्ञासा, राय तथा सुझाव आएका थिए ।

सबै राय सुझाव र प्रश्नको उत्तरदिंदै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले, नागरिक वर्दी बिनाको प्रहरी र प्रहरी बर्दी सहितको नागरिक भएर समाजमा रहेका समस्याहरु हलगर्दै जानु पर्ने बताए । उनले अहिले पहिलेको जस्तो एउटामात्र बागलुङ नभई १० वटा बागलुङ भएकाले स्थानीय पालिकाले आफ्ना वडामा प्रहरी युनिट राख्ने गरि योजना तर्जुमा गर्न सक्नु पर्ने राय व्यक्त गरे ।

प्रहरीले गरेका कार्य प्रगति प्रस्तुत गर्दै प्रहरी उपरीक्षक रेग्मीेले, जिल्लामा दर्ता भएका १ सय ६२ मुद्दा मध्ये ९८ मुद्दा फरछौट गरिएको बताए । त्यस मध्ये ६४ मुद्दा अहिले पनि अनुसन्धानको क्रममा रहेको जानाकारी दिए ।

यस्तै जिल्ला भरका प्रहरी युनिटबाट १ हजार ५ सय १ जनाले नागरिक सहायता कक्षबाट सेवा लिएका छन भने ४१ जनाले संस्था दर्ता सिफारिस १९७ जनाले व्यक्तिगत चालचलन सम्बन्धी सिफारिस लिएका छन् । यता १ सय ५७ जनाले नागरिकताको सिफारिस लिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

यस्तै २०७४ साल साउन १ गतेदेखि हालसम्म बालवालिका सम्बन्धी ४६ मुद्दा दर्ता भएको, १० वटा मिलापत्र गरिएको ४ वटा अनुसन्धानमा रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

जिल्लामा साउन महिनादेखि हालसम्म साना ठूला गरी १९ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १४ जना पुरुष, २ जना महिला र १ जना वालिका गरि १७ जनाको ज्यान गएको छ भने, ३७ जना पुरुष, ६ जना महिला २ वालक तथा २ वालिका गरी ४७ जना घाइते भएको प्रहरी उपरीक्षक रेग्मीले जानाकारी दिए ।

यता साउन १ गतेदेखि हालसम्म जिल्लामा ६ हजार ५ सय १६ सवारी साधन कार्वाहीमा परेका छन् । जहाँ ४२ लाख ७६ हजार ५०० राजश्व संकलन भएको छ ।

प्रहरीले गत साउन महिनादेखि हालसम्म जिल्लाभरबाट ७ सय ३५ लिटर अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ भने कच्चा पदार्थ ४ हजार ४ सय ५० लिटर र ५ सय ७० केजी मर्चा बरामद गरि नष्ट गरेको नागरिक सुनुवाईमा जानाकारी दिइएको छ ।

जिल्ला भरका प्रहरी युनिटमा हरेक वर्ष ३÷३ महिनाको अन्तरालमा गरिदै आइएको नियमित कार्यक्रम अन्तरगतको नागरिक सुनुवाई कार्यक्रम बुर्तिबाङ स्थित इलाका प्रहरी कार्यालय प्राङ्गणमा गरिएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन, नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल, एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक नारायण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

नागरिक सुनुवाइ कार्यक्रमको रेडियो परिवर्तनको स्टेशन म्यानेजर राम सुवेदीले सहजीकरण गरेका थिए ।

तस्वीर-झरना कँडेल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *