जनतालाई छिटो, छरितो र जनमुखी न्याय दिनु अदालतको दायित्व : मुख्य न्यायाधीश सिवाकोटी

“मेलमिलाप गरौँ, विबाद नगरौँ” मुल नारा सहित बुर्तिबाङमा न्यायिक सम्बाद कार्यक्रम

बुर्तिबाङ २०७५ जेठ ४ । बुर्तिबाङमा आज न्यायिक काम कारवाहीको सम्बन्धमा नागरिकसंगको न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
सर्वोच्च अदालतको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना अन्तर्गत “मेलमिलाप गरौँ, विबाद नगरौँ” भन्ने मुल नारा सहित जिल्ला अदालत बागलुङको आयोजना तथा ढोरपाटन नगरपालिकाको समन्वयमा उक्त न्यायिक सम्बादको आयोजना गरिएको थियो ।

संविधानले प्रत्याभुत गरेको न्याय सम्बन्धी हकहरुलाई सुनिश्चित गरि कानुनी शासनको माध्यमबाट न्यायपुर्ण समाजको सृजनामा न्यायका मान्य सिद्धान्त अनुरुप न्याय सम्पादनको कार्य गर्न न्याय प्रशासन ऐन, २०४८ बमोजिम स्थापित जिल्ला अदालतले प्रदान गर्ने सेवा सुविधाको सम्वन्धमा न्यायका उपभोक्तालाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका करिब ५० जना भन्दा बढि स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।

उच्च अदालत पोखरा बागलुङ ईजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले नागरिकलाई कानुन सम्बन्धी जानकारी दिँदै जनताको पहुँच सम्म न्याय क्षेत्रलाई पु-याउनका लागि आफुहरु लागी परिरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य न्यायाधीश सिवाकोटीले अदालतले गर्ने काम कारबाहीहरुको बारेमा जानकारी दिँदै न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको भन्दै अदालतबाट जनतालाई प्रदान गरिने सेवा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताए । जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालतको दायित्व भएको समेत सिवाकोटीले बताए ।

कार्यक्रममा अदालतमा दर्ता हुँने लिखितहरु, लिखित साथ पेश हुने प्रमाणहरु तथा पु¥याउनुपर्ने रित, म्याद तारिख सम्बन्धी ब्यवस्था अन्तर्गत मेलमिलापको प्रकृया, प्रतिउत्तर लगाउने म्याद, मेलमिलाप प्रकृया, मुद्दा फिर्ता, त्यसैगरि फैसला कार्यन्वयन सम्बन्धी व्यबस्था, जिन्सी धरौटी फिर्ता तथा रोक्का फुकुवा सम्वन्धी ब्यवस्था लगायत अदालतबाट हुने विविध विषयमा उपस्थीत नागरिकलाई सचेतना दिईएको थियो ।

यस्तै कार्यक्रममा सम्बन्ध विच्छेदका मुद्दा र फैसलाको प्रकृया, महिला हिंसा सम्वन्धी मुद्दा, साईबर क्राईम, जातिय विभेद लगायतका विषयमा नागरिकले जिज्ञासा समेत राखेका थिए ।

जिल्ला अदालत बागलुङका न्यायाधीश प्रकाश प्रसाद पण्डितको अध्यक्षता रहेको नागरिकसंगको न्यायिक सम्बाद कार्यक्रममा उच्च अदालत पोखरा बागलुङका न्यायाधीश हरि प्रसाद पौडेल, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन, एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक नारायण शर्मा, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङकी मेडिकल अधिकृत लक्ष्मी अर्याल लगायतको सहभागिता रहेको थियो ।

जिल्ला अदालत बाग््गलुङका श्रेस्तेदार राम बहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला अदालत बागलुङका लेखापाल गोविन्द आचार्यले गरेका थिए ।

छिटो छरितो न्याय सबैको न्याय’ भन्ने नारा सहित न्यायसम्पादन छिटोछरितो बनाउने, न्यायलाई अनुमान योग्य र पहुँच योग्य बनाउने नागरिकको अदालत प्रतिको आस्था र विश्वासलाई अभिवृद्धि गर्ने उद्देश्यले सर्वोच्च अदालतले विक्रम सम्वत २०७१ साल साउन १ गते देखि तेस्रो पञ्चवर्षिय रणनितिक योजना लागु गरेको थियो ।

तस्वीर-झरना कँडेल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *