कमल थापा भारी बहुमतले राष्ट्रिय प्रजातन्त्र पार्टीकोे अध्यक्ष निर्वाचित !

कमल थापा जिन्दावादको नाराले भृकुटी मण्डप गुन्जयमान : कार्यकर्ताहरुमा खुशीको लहर !

काठमाडौँ, २०७३ फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट कमल थापा भारी बहुमतले अध्यक्ष निर्वाचित भएका छन् । केहि समय अघि सम्पन्न मत गणनाको परिणाम अनुसार अध्यक्ष थापाले २०५८ मत प्राप्त गरेका छन् भने उनको प्रतिव्दन्दी प्रदीपविक्रम राणाले जम्मा २५४ मत प्राप्त गरे ।

आज भएको अध्यक्ष पदको मतदानमा जम्मा ३१३९ मत खसेको थियो भने ८१ मत बदर भएको थियो ।

अध्यक्ष थापाको विजय सँगै आम पार्टी कार्यकर्ताहरुमा व्यापक खुशीको लहर छाएको छ । भृकुटी मण्डप ‘कमल थापा जिन्दावाद’को नाराले गुन्जयमान बनेको छ ।

थापाको नेतृत्वमा पार्टीले ऐतिहासिक फड्को मार्ने र मुलुकको एक नम्बर पार्टी बन्ने कुरामा आम कार्यकर्ताहरु विश्वस्त छन् ।

फागुन ४ गते पार्टीका शीर्ष चार नेताहरुले एकता महाधिवेशनबाट अध्यक्ष कमल थापालाई सर्वसम्मत अध्यक्ष निर्वाचित गर्र्ने सहमति गरेका थिए तर सहमतिको मसी सुक्न नपाउँदै सहमति पत्रमा हस्ताक्षर गर्ने डा प्रकाशचन्द्र लोहनीले सहमति तोड्दै अध्यक्षमा उमेदवारी दिने उदघोष गरेका थिए । पार्टीका तमाम कार्यकर्ताहरुबीच डा लोहनीको उमेदवारी घोषणाको तीब्र विरोध भएपछी डा. लोहनीले अन्तत उमेदवारी दिने हिम्मत गरेनन् ।

अध्यक्ष कमल थापा विरुद्ध उमेदवारी दिने राणा काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष हुन । अन्य पदहरुको निर्वाचन भने भोलि हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !