पर्वत बाच्छामा चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते !

निर्मल पौडेल, पर्वत, २०७५ बैशाख ३१ । गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ भने छ महिने बालक घाइते भएका छन् । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका ६ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो ।
चट्याङ लागेर स्थानीय डम्बर विकको गोठ भत्किएको छ भने गोठमा रहेको एउटा भैँसी मरेको छ । त्यस्तै तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलबहादुर विक, सुनबहादुर विक, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर विकको घरमा चट्याङ लागेर क्षति भएको स्थानीय उत्तम परियारले जानकारी दिए । बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले वर्षासँगै बिहान ३ः३० बजेतिर चट्याङ परेको जानकारी दिए । चट्याङ लागेका घरमध्ये अधिकांश चर्किएर बस्न नमिल्ने भएका छन् । दलित समुदायको बस्तीमा परेको प्राकृतिक विपत्तिले स्थानीय समस्यामा परेको उनले बताए । घटनालगत्तै पुगेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *