सत्तामा लम्पसारवाद, सत्ता बाहिर राष्ट्रवाद !

विजय राना

शनिवार मात्रै भारतीय प्रधानमन्त्री दुईदिने नेपाल भ्रमण सकेर भारत फर्किएका छन् । उनले नेपाल भ्रमण गरिरहँदा सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई आधार मान्ने हो भने करिव ८० प्रतिशत भन्दा बढि उनको विपक्षमा प्रतिक्रिया आएका छन् । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने सरकार आफ्नो सत्ता स्वार्थको लागि चाकडीवाज गर्छ तर नेपाली जनता स्वाभिमानी देश र सरकार खोजिरहेका छन् ।

सामाजिक सञ्जालहरुमा आएका विचारहरुमा भारतीय प्रधानमन्त्रीको मात्रै होइन नेपाल सरकार र नेपालका प्रधानमन्त्रीको पनि तिब्र आलोचना गरिएका छन् । विशेष गरि नेपालको संविधान जारी गर्ने समयमा भारतले लगाएको नाकाबन्दीको विपक्षमा उभिदा ओलीको परिचय राष्ट्रवादी नेताको रुपमा बनेको थियो । त्यही छविका कारण स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेकपा एमाले नेपालको पहिलो पार्टी बन्न पुग्यो ।

विडम्बना पुनःसत्तामा पुग्दा बित्तिकै ओलीको परिचय बदलिएर ‘लम्पसार वाद’कै बन्न थालेको छ । कारण प्रधानमन्त्री ओली तथा नेपाल सरकारको तर्फबाट नेपालले राष्ट्रिय महत्वका र राष्ट्रियताको सवालसंग जोडिएका कुनै पनि विषय भारतीय पक्षसंग उठाउन सकेन । नाकाबन्दीको विषयमा एक एक शब्द बोल्न सकेन, आम नेपाली जनताले भारतले लगाएको नाकाबन्दी बिर्सन सकिरहेका छैनन् । जनताको प्रतिनिधी आवाज स्वरुप विवेकशिल साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणललाई लिएर बखुन्डोलस्थित आफ्नो केन्द्रीय कार्यालयमा टाँगेको व्यानर प्रहरीद्वारा फाल्न लगाईयो । नाकाबन्दीको बिरोध स्वरुप कालो पृष्ठभुमिको ब्यानरमा लेखिएको थियो ‘मोदीलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ ।

लज्जास्पद विषय भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाको साँचो हस्तान्तरण गरिएको छ । बाह्र बिघा मैदानमा आयोजित अभिनन्दन समारोहमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरेका हुन् ।

उनले मोदीलाई चाबी हस्तान्तरण गर्दै अब जनकपुरको विकासको जिम्मा पनि मोदी र उनको भारत सरकारको भएको बताए । त्यतिबेला नेपालका प्रधानमन्त्रीले ट्वाँ परेर हेर्नुकोे बिकल्प रहेन । एउटा उपमहानरपालिकाको चावी छिमेकी देशलाई सुम्पिनु कति जायज हो ? जहाँ उप्रति जहिल्यै शंका छ । यस घट्नाले प्रष्टाउँछ की अँझ पनि हाम्रा नेताहरुमा नेपाल प्रति विश्वास छैन, नेपाल सरकार र नेपाली जनता प्रति विश्वास छैन । अँझ भनौँ उनीहरु आफैलाई आफै प्रति विश्वास छैन । उपमहानगरकै चावी बुझाउनुले थुप्रै शंका उब्जाएको छ । कतै आगामी दिनमा नेपालको प्रदेश न. २ कै चावी हस्तान्तरण गर्ने त होइनन् ? अर्थात नेपालबाट प्रदेश न. २ अलग हुने त होइन ?

धेरै पहिलेका कुराहरु नखोजौँ । यही साता मात्रै भएका घट्नालाई मात्र हे¥यौँ भने त्यो शंकामा तेल थप्ने विषय अरु पनि छन् । मोदीको अभिनन्दन कार्यक्रममा स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गरियो । अभिनन्दनका क्रममा केही सहभागीले स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गरेका थिए । सहभागीहरुको भिडमा दुई ठाउँबाट ब्यानर देखाइएको थियो । ब्यानरमा ‘मधेश देश’ लेखिएको थियो । कतै त्यो ब्यानर सुनियोजित त थिएन ? ‘मोदी स्वागत छ तर नाकाबन्दी भुलेका छैनौँ’ लेखेको ब्यानर हटाउनेले त्यो किन हटाउन सकेनन् ?

अहिले पनि भारतले नेपालको संविधानलाई स्वीकारी सकेको अवस्था छैन । यही अवस्थामा प्रदेश न. २ का मुख्य मन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरुको संघर्ष जारी रहेको बताएका छन् । मोदीको नागरिक अभिनन्दन कार्यक्रममा उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका हुन् । प्रदेश न. २ लाई पहाडबाट अलग्गाउनु, ‘मधेश देश’ लेखेको ब्यानर प्रदर्शन गर्नु, संविधान प्रति अझै पनि रोष प्रकट गर्नु, चावी हस्तान्तरण गर्नुले नेपाल टुक्रिदैत छैन ? भन्ने चिसो आम नेपाली जनमा पसिरहेको छ ।

प्रसङ्ग त्यति मात्र होइन । अहिले नै भारतीय सांसद किर्ति आजादले गरेको ट्वीट पनि चर्चामा छ । उनले आफ्नो ट्वीटर मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका छन् । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो । यस्ता अभिव्यक्ति प्रति अहिले सम्म नेपाल सरकारको कुनै प्रतिक्रिया छैन ।
त्यसबाहेक मोदीले सम्बोधन गर्ने क्रममा हेपाहा प्रवृति देखाएका छन् । उनले आफ्नै छिमेकी राष्ट्रका प्रमुख ओलीको नाम समेत राम्रोसंग भन्न सकेनन् । रामायण सर्किटको उद्घाटनका क्रममा जानकी मन्दिर परिसरमा ५ मिनेट लामो मन्तब्य राख्ने क्रममा मोदीले तीन पटकसम्म ओलीलाई ‘कोली’ भन्दै सम्बोधन गरे । त्यति मात्र होइन प्रधानमन्त्री ओलीलाई ‘आदरणीय मेरा भाइ सा’व नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भने जहाँकी नेपाली समाजले नेपाल र भारतको सम्बन्ध ठुल्दाजु र सानदाजुको होइन ‘साथि’को सम्बन्ध चाहिरहेका छन् । असल छिमेकीको सम्बन्ध खोजिरहेका छन् ।

यी माथि उल्लेखित घट्नाले के प्रष्ट पार्छ भने अँझै पनि भारतको नेपाल प्रति हेपाहा प्रवृति छ । नेपाल सरकार र नेपालको आत्म विश्वास छैन । नेपाली नेतामा आफ्नै देश, आफ्नै नागरिक र आफै प्रति पनि विश्वास छैन । उनीहरु आफ्नै देशमा भएको श्रोतहरुको खोजी, परिचालनमा भन्दा मागेर नै जीविको पार्जनमा खुसी देखिन्छन् । अर्को महारोग हाम्रा नेतृत्वहरुमा प्रष्ट रुपमा दुई जिब्रा छन् । सत्ता बाहिर हुँदा उनीहरु अत्यन्त ‘राष्ट्रवादी’ हुन्छन् । सत्तामा पुगेपछि ‘लम्पसारवादी’ बन्छन् । जसको कारण उनीहरु देशको विकास, समृद्धि, राष्ट्र हित, नागरिकको हितमा भन्दा पनि सत्ता टिकाउनमा ज्यादा केन्द्रित हुन्छन् । त्यसैको परिणाम हो ‘सत्ता भित्र लम्पसारवाद, सत्ता बाहिर राष्ट्रवाद !

२०७५ बैशाख ३० ।
बागलुङ
लेखक पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *