पूर्वराजा रानीबाट विराट् गोरक्षा महायज्ञमा दर्शन तथा पूजाआजा !

चितवन २०७३ फागुन ९ । पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलबाट चितवनमा चलिरहेको विराट् गोरक्षा महायज्ञमा दर्शन तथा पूजा आजा गरेका छन् । रानी कोमलको जन्मदिन मनाउन तराईको यात्रामा निस्केका शाह आइतवार बिहान सो महायज्ञको दर्शन गर्न नारायणगढ पुगेका थिए ।

स्थानीय जातका वैदिक गाईको संरक्षणको लागि गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले सो महायज्ञ भइरहेको बताइएको छ । संगीतमय ढङ्गमा पं. दीपक सापकोटा र गोव्रती योगीसोमराजबाट भइरहेको सो गौकथाले मान्छेहरुको ध्यान गाईको महत्त्वतर्फ आकर्षण गरेको देखिएको छ । विराट् गोरक्षा महायज्ञ नाम दिइएको सो गौकथाको कार्यक्रममा महायज्ञमा शिव, श्रीमद्भागवत, देवीभागवत्, गणेश, ब्रह्म गरी पञ्चमहापुराणको पाठ पारायण भइरहेको छ भने महारुद्राभिषेक, सतचण्डी, हवन लगायतका हिन्दु पद्धतिका र बुद्धिष्ट पद्धतिका बज्राचाय र लामा गुरुहरूबाट अष्टमङ्गल शान्ति पाठ भइरहेको छ ।
विराट् गोरक्षा महायज्ञ मूल आयोजक समितिका सह–संयोजक विनु रायमाझी पौडेलका अनुसार महायज्ञ गत फाल्गुण ३ गते मङ्गलचौंथीको दिन शुरु भएको र १३ गते महाशिवरात्रिको पावन दिनको भोलीपल्ट बिहान समापन हुनेछ । देशभरीका स्थानीय जातिका गाईहरुको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ भइरहेको छ ।

महायज्ञका मूलकर्ता पं. गुणनिधि पन्थीका अनुसार आचार्य धर्मराज अर्यालको आचार्यकत्त्वमा हिन्दु पद्धतिका अनुष्ठानहरु र सेतो मच्छेन्द्रनाथका पूजारीसमेत रहेका अशोक मुनि बज्राचार्यको आचार्यकत्वमा बज्राचार्य विधिको साथै कारसाङ् लामाको आचार्यकत्त्वमा लामा पद्धतिअनुसार बुद्धिष्ट विधिबाट विभिन्न खालका अनुष्ठानहरु भइरहेको मूलकर्ता पन्थीले बताए ।

छोटो समयमा सम्पादन गर्न परेकोले सबै आवश्यक तयारी पूरा गर्न समयमै नसकिएको भएपनि महायज्ञ र यसको उद्देश्यप्रति आमसर्वसाधारणको सकारात्मक झुकाव देखिएको छ । क्रमशः दिनप्रतिदिन सहभागिहरुको सहभागिता बढेको देखिन्छ । आयोजकले गाईको बारेमा शोधखोज गरेका विशेष अन्वेषक वक्ताहरुलाई समेत उपस्थित गराई विशेष प्रवचन गराउने पनि गरेका छन् । ॐकार दर्शन तथा ॐकार परिवारका विज्ञहरुले पनि सो गोरक्षा महायज्ञको औचित्य वर्तमानमा उपयुक्त रहेको बताएका छन् । यसै सन्दर्भमा हिन्दु एवं बौद्धधर्मका विश्लेषक मोहन लामा, नेपाली काँग्रेसकी नेतृ गीता वाग्लेलगायतका व्यक्तित्त्वहरुले महायज्ञलाई सम्बोधन गरिसक्नु भएको आयोजकले बताएका छन् । सनातन धर्म भित्रका हिन्दु–बौद्ध आदि संप्रदायको मान्यतामा गाईको महत्त्वको बारेमा लामाले आफ्नो विश्लेषणात्मक अभिव्यक्ति दिँदै गर्दा मान्छेहरु स्तब्ध देखिन्थे । लामाले हिन्दु–बौद्ध समुदाय तथा धार्मिक मान्यताको विषयमा स्पष्टसँग प्रमाणहरु समेत दिएर अन्तरसम्बन्धको बारेमा बताएका थिए । पूर्व सांसद तथा धार्मिक नेता शङ्करप्रसाद पाण्डे, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेललगायतका व्यक्तिहरु यज्ञको दर्शन गर्न आएको सम्बन्धितले जानकारी दिए ।

गाईको नाममा महायज्ञ भन्दा झट्ट सुन्दा सामान्यजस्तो लाग्ने भएपनि प्रवचक, कथावाचक लगायतका प्रस्तुति एवं चर्चाहरुले यसको सार्थकता र महत्व बढाउँदै गएको महसूस सर्वसाधारणहरुले गरिरहेका छन् । महायज्ञको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सोको औचित्यको बारेमा महायज्ञ मूल आयोजक समितिका महासचिव दीपक सुवेदीले लोपोन्मुख स्थानीय जातिका वैदिक गाईको संरक्षण अपरिहार्य रहेको र सो हुन नसकेमा देश तथा जनता र समग्रमा विश्वनै असुरक्षित हुने कुरालाई पुष्टि गर्ने खालको कार्यपत्र पेश गरेका थिए । हामी सबैको संरक्षणको लागि सर्वप्रथम स्थानीय जातिका वैदिक गाईको संरक्षण हुनुपर्ने र सोको लागि महायज्ञमार्फत राष्ट्रियस्तरको गौ सेवा कोष स्थापना गरिने सुवेदीको भनाइ थियो । कोषले देश भरीका स्थानीय जातिका वैदिक गाईको संरक्षणको लागि कार्य गर्ने बताइएको छ ।

हिन्दु ॐकार भोलन्टियर्सको आयोजनामा भएको सो महायज्ञको बारेमा शुरुमा मान्छेहरुले खासै वास्ता नदेखाएपनि महायज्ञका प्रवचक, कथाकार एवं विभिन्न अधिकारीहरुको प्रस्तुति पछि महायज्ञले मान्छेहरुलाई बिऊँझाउन थालेको पाइएको छ । स्थानीय विभिन्न संस्थाहरु हुँदाहुँदै अन्तर्राष्ट्रिय हैसियतको सो संस्थाले एकाएक चितवनमा यसरी गोरक्षा महायज्ञ गर्दा धेरै व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिले पर्ख र हेरको व्यवहार गरेको देखिन्थ्यो र अझै पनि देखिन्छ । सुन्दा सामान्य लागेपनि बुझ्दाखेरी महायज्ञले दिन खोजेको सन्देश र गर्न खोजेको कार्य चानेचुने नभएको सो मुद्धामा एउटा दीर्घकालीन योजना लुकेको देखिन्छ । जुन कार्यान्वयन हुनसकेमा वेवास्तामा परेको स्थानीय जातिका वैदिक गाईको क्षेत्रको विशेष उद्धार हुने अनुमान गर्नसकिन्छ ।
शनिवार प्रजातन्त्र दिवसको दिन बिहान महायज्ञस्थलमा ‘गोरक्षा आजको आवश्यकता’ विषयक माध्यामिक विद्यालयस्तरीय वक्तृत्त्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा पढ्दै गरेका कलिला भाइबहिनीहरुले गाईको बारेमा दिएको प्रस्तुतिले धेरैलाई गम्भीर पनि बनाएको देखिन्थ्यो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *