साताको तस्वीर : फड्को मार्दै ताराखोला !

शब्द/चित्र : विजय राना,

बागलुङ २०७५ बैशाख २४ । केहि दशक पहिले सम्म दुर्गम एवं अनकण्टारको पर्यायवाची मानिने ताराखोला गाउपालिका (साबिक तारा, अर्गल, हिल, अमरभूमि गाविसहरु) मा मोटरबाटो पुगे पछी अहिले त्यस्तो छैन । आफ्नै भेष भूषा, संस्कार, सँस्कृति र परम्पराले धनी ताराखोला पछिल्लो समय विकासको हरक्षेत्रमा फड्को मारेको छ । यहाँको प्राकृतिक श्रोत स्लेट ढुंगा एवं स्थानीय उत्पादन डाला डाली नाङलाले बजार पाएपछी स्थानीयको जीवन शैलीमा निकै परिवर्तन आएको देख्न सकिन्छ ।

यसैबीच हिँजो आईतबार ताराखोला गाउपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । ताराखोला गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, ताराखोला स्वास्थ्य चौकी र ताराखोला वडा न. ४ र ५ को संयुक्त आयोजनामा पूर्णखोप गाउँपालिका घोषणा गरिएको हो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप हाम्रो प्रतिबता भन्ने नाराका साथ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकामा १६ देखि २३ महिना सम्मका १ सय ४४ जना बालबालिका रहेका छन् । जसअनुसार वडा न. १ मा २५, २ मा ३०, ३ मा ३०, र ४, ५ मा ५९ बालबालिका रहेका छन् । ति मध्ये सबैलाई खोप लगाई सकिएको छ । गाउँ पालिकामा १५ महिना सम्मका २ सय २८ जना शिसु रहेको बताईएको छ ।

पूर्ण खोप घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले खोप बालबालिकाको स्वास्थ्य संग सम्बन्धित रहने भएकाले आगामी दिनमा पनि एक जना बालबालिकालाई पनि खोप लगाउनबाट छुटाउन नहुने बताए ।

ढुङ्गानाले गाउँ पालिकामा खोप लगायतका विभिन्न कार्य गर्नको लागि नेतृत्व पंक्ति संगै आम मानिसको पनि उत्तिकै सक्रिता आवश्यक हुने भन्दै तारा गाउँको विकासको लागि सबै नागरिकहरु एक जुट भएर लाग्ने विश्वास व्यक्त गरे ।

प्रसस्त मात्रामा श्रोत रहेको ताराले थोरै मेहनत गर्दा बित्तिकै विकासको मुल फुटाउने बताउँदै ढुङ्गानाले आन्तरिक श्रोत र साधनको प्रयोगमा अत्याधिक ध्यान दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी, ताराखोला गाउँपालिकाका प्रशासकीय अधिकृत तोपलाल भुषाल, जिल्ला सुआहारा संयोजक जगदिशराम लोहार, ताराखोला गाउँपालिका वडा न. १ का अध्यक्ष यामबहादुर श्रीष, स्वय सेविकाको तर्फबाट कोपिला कँडेल, क्लवको तर्फबाट अर्गल खेलकुद विकास मञ्चका सचिव सूर्य घर्तिमगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष डिलकुमारी पुनले गर्नु भएको थियो । कार्यक्रममा पञ्चेवाजा सहित नृत्य समेत प्रस्तुत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *