पन्त पश्चिमान्चल क्षेत्रबाट उत्कृष्ट इन्सेक प्रतिनिधिका रुपमा पुरस्कृत !

बागलुङ, २०७३ फागुन ८ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का बागलुङ प्रतिनिधि सिर्जना पन्त सन २०१६ मा कुशलतापूर्वक कार्य सम्पादन गरेकीले पश्चिमाञ्चल क्षेत्रबाट उत्कृष्ट प्रतिनिधिका रुपमा पुरस्कृत भएकी छिन् । शनिवार पोखरामा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन कार्यक्रममा उत्कृष्ट जिल्ला प्रतिनिधि पन्तलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले नगद ७ हजार सहित प्रंशसापत्रद्वारा सम्मान गरेका थिए ।

सन २०१६ मा मानव अधिकार अनुगमन तथा प्रलेखन कार्यमा उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा पन्तलाई पुरस्कृत गरिएको इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले बताए ।

मानव अधिकारको क्षेत्रमा देशकै अग्रणी संस्थाका रुपमा स्थापित इन्सेकले हरेक वर्ष देशभरबाट उत्कृष्ट एक जना र पाँच वटै विकास क्षेत्रबाट एक एक जना प्रतिनिधिलाई पुरस्कृत गर्दै आइरहेको छ । बागलुङबाट २०६८ सालमा तत्कालीन इन्सेक प्रतिनिधि रामबहादुर जिसी उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा पुरस्कृत भएका थिए ।

सम्मानित पन्त आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिकाका सम्वाददाताका रुपमा कार्यरत छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *