बुर्तिवाङवासी समक्ष लाजमर्नु प्रश्न: ‘कति दिन प्रहरी, प्रशासन र संस्थाले बजार बढारी दिने ?

राम सुवेदी, बुर्तिबाङ २०७३ फागुन ८ । बुर्तिबाङ यातायात व्यवसायी समितिको सक्रियतामा सरोकारवाला सहित शनिबार बुर्तिबाङ बसपार्क सरसफाई गरिएको छ ।

बुर्तिबाङदेखि दैनिक रुपमा लामो तथा छोटो दुरीका लागि यातायातका सवारीहरु आवत जावत गर्ने गर्दछन् । यस्तो स्थानमा देखिएको फोहोरले, बसपार्कलाई कुरुप पारेको भन्दै यसको सरसफाईका लागि बुर्तिबाङ यातायात व्यवसायी समितिले पहिलो पहल थालेको समितिका सचिव कुविर विश्वकर्माले बताए ।

सरसफाई अभियानमा बुर्तिबाङ बसपार्कमा रहेका विभिन्न यातायात व्यवसायी समितिका काउन्टर प्रतिनिधि, स्थानीय राजनैतिक दल, एकीकृत सेवा केन्द्र, इलाका प्रहरी कार्यालय तथा ट्रापिक प्रतिनिधि सहित स्थानीय समाजसेवी र विभिन्न प्रशासनिक निकाय तथा सञ्चार प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सरसफाईका क्रममा बसपार्कमा रहेका प्लाष्टिकका खाली वोतल तथा प्लाष्टिकजन्य बस्तुहरु जल्नेलाई जलाइएको छ भने नजल्नेलाई बसपार्कदेखि वाहिर व्यवस्थापन गरिएको छ । यो अभियानलाई समितिले निरन्तरता दिने समितिका महासचिव नरहरी भुसालले बताए ।

स्मरणीयछ, केहि दिन पहिले एकीकृत सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय सहितको अनुगमन टोलीले बुर्तिवाङ बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजारका सडक पेटीहरुमा विक्रीका लागी राखिएका सामानहरु जफत गरिएको थियो । तरपनि स्थानीयवासी एवं व्यापारीहरुको सोँचमा परिवर्तन आउन नसक्नु लाजमर्नु कुरा भएको चर्चा हुन थालेको छ ।

भावी नमूना शहरको रुपमा विकास भैरहेको बुर्तिवाङ बजारको सडक/आगन प्रहरीले बढारी देओस, प्रशासनले फोहोर व्यवस्थापन गरिदेओस, संघसंस्थाहरुले तेल घसी दिउन भन्ने मानसिकतालाई बुर्तिवाङवासीले त्याग्नु जरुरी छ । अझै कति दिन प्रहरी प्रशासन र संस्थाहरुले बुर्तिवाङ बजार सरसफाई गरिदिने ? यो लाजमर्नु प्रश्नको जबाव बुर्तिवाङवासीसंग छ ? यहि बन्यो चिन्ताको विषय पनि !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !