जैमिनी पूर्ण खोपयुक्त नगरपालिका घोषित : दक्षिण भेगको बिकासको लागि सडकलाई प्राथमिकता !

निर्मल पौडेल, कुस्मीसेरा २०७५ वैशाख १३ । जैमिनी नगरपालिकालाई पुर्ण खोपयुतm नगरपालिका घोषणा गरिएको छ । जैमिनी नगरभित्रका १५ देखी २३ महिना उमेर समुहका ४ सय ५० जना बालबालिकाले सबैखाले खोपको मात्रा पुरा गरेपछि बुधबार जैमिनी नगरपालिकालाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरीएको हो । सबै प्रकृया पुरा गरेर नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कुस्मीसेराका प्रमुख डा. बिजय शर्माले बताए । नगरभित्रका वडाहरुलाई पहिलो चरणमा वडास्तरमा पुर्ण खोपयुक्त घोषणा गरेको नगरपालिकाले बुधबार वडा नं १ कुस्मीसेरा सहित पुरै नगरलाई पुर्ण खोप युक्त घोषणा गरेको हो ।

घोषणा सभामा बोल्दै प्रतिनिधि सभाका सदस्य डा. सूर्य पाठकले बागलुङको दक्षिण क्षेत्रको बिकासको लागि सडकलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । पाठकले जिल्लाको सदरमुकाम देखी जैमिनी नगरको केन्द्र कुस्मीसेरा बजार हुँदै शान्तिपुर सडक खण्ड र जैमिनीधाम देखी दमेकमा रहेको पर्यटकीय क्षेत्र गाजाको दह सम्मको सडकलाई स्तरोन्नती गर्न मन्त्रालय स्तरमा पहल भैरहेको बताए ।

जिल्ला सदरमुकाम देखी भौगोलिक दुरीका हिसावले निकै टाढा रहेका स्थानिय तह समेत सुगम भैसकेको अवस्थामा जैमिनी नगरपालिका दुर्गम रहेको भन्दै सांसद पाठकले पुर्व शासकहरुका कारण जैमिनीको विकास हुन नसकेको बताए । स्वार्थको राजनीती गर्दा जैमिनीको विकासमा ध्यान दिन नसकेको भन्दै पाठकले अव त्यो बाटो तोडेर अगाडी बढ्ने बताए ।

स्वास्थ्य क्षेत्रमा जैमिनीको आशाको केन्द्रको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चौध बर्षदेखी दरबन्दीमा रहेका स्टाफ नर्स सम्पर्क बिहिन भएको प्रति लक्षीत गर्दै पाठकले दरबन्दीमा रहेर काममा नआउने कर्मचारीलाइ कानुन अनुसारको कारवाही गर्न मन्त्रालयस्तरमा छलफल भैरहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा १ को ख का सदस्य कृष्ण थापाले प्रदेश सभाको कार्ययोजनामा रहेको पुर्ण खोप कार्यक्रमलाई सार्थक बनाउन सहयोग गरेको भन्दै जैमिनी नगरपालिकालाई धन्यबाद ज्ञापन गरे । खोपको नाममा बिकशित मुलुकहरुले परिक्षण गरिरहेको चर्चा आम सर्वसाधारणमा चल्ने गरेको भन्दै थापाले यस तर्फ सरोकारवाला सचेत बनेर सरकारको कार्यक्रमलाई सघाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका स्रोत व्यक्ति वीरेन्द्र जैसवाल, प्राथमिक स्वास्थय केन्द्र कुस्मीसेराका डा. अर्जुन पौडेल, नेपाली कांग्रेस जैमिनी नगर संयोजक काँशिराम आचार्य, नगर कार्यपालिका सदस्य डिल कुमारी श्रीष, शान्ति माध्यमिक बिद्यायका प्रद्यानाध्यापक यम बहादुर जिसी लगायतले बोलेका थिए ।

आठवटा स्वास्थ चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेको जैमिनी नगरपालिकाले सबै वडाका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई पुर्ण खोप युक्त घोषणा गर्न महत्वपुर्ण योगदान गरेको भन्दै सम्मान गरेको थियो ।

बुधबारकै घोषणा कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका सबै कर्मचारीलाई सम्मान गरिएको थियो । जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलको अध्यक्षता, वडा नम्बर २ का वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको स्वागत र प्रथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट गोविन्द आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न कार्यक्रममा बिभिन्न सांस्कृतिक समुहले बिबिध सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply