एमाले प्रचार विभागद्वारा पत्रकार महासंघको टोलीलाई स्वागत एवं वधाई !

बागलुङ, २०७३ फागुन ५ । नेकपा एमाले बागलुङको जिल्ला प्रचार विभागले एक स्वागत कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठौ अधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रीय सभासद, प्रदेश सभासदहरुलाई बधाई ज्ञापन गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले विकासको अभियानलाई आम जनताका बीचमा लैजानका लागि सञ्चार क्षेत्रको सशक्त भूमिका हुनु पर्नेमा जोड दिँदै राजनीतिक परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताईन् ।
राज्य सञ्चालनको जिम्मेवारी लिनेदेखि सबै सरोकारावालाहरुले सञ्चार क्षेत्रलाई विकासको साझेदारका रुपमा ग्रहण गर्न उनको आग्रह थियो ।
नव निर्वाचित महासांघको नेतृत्वलाई वधाई ज्ञापन गर्दै नेतृ केसीले पत्रकारहरुको क्षमता विकास, सञ्चार संस्थाको संस्थागत विकास र महासंघको भवन निर्माणका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताईन् ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरु, पत्रकार लगायत सरोकारवालाहरुबीच समन्वय हुनु पर्नेमा जोड दिएका थिए ।

महासंघका निर्वाचित जिल्ला कार्यसमितिको तर्फबाट बोल्दै अध्यक्ष दिल शिरीशले पत्रकारहरुको पेशागत हकहितसंगै समाज रुपान्तरणको अभियानमा पत्रकारहरुको भूमिका बढाउनका लागि महासांघले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि सिलान्यास समेत भइसकेको अवस्थामा आर्थिक सहयोग गर्न र पत्रकारहरुको क्षमता विकासका लागि योगदान गर्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम एमाले प्रचार विभागका प्रमुख धनबहादुर परियारको अध्यक्षता, जिल्ला उपाध्यक्ष कृष्ण पाठकको धन्यवाद, सचिव लालबहादुर थापाको स्वागत र उपसचिव विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य र सभासदहरुलाई एमालेका नेताहरुलाई फूलमाला र खादा लगाएर वधाई ज्ञापन गरेका थिए ।

फागुन ३ गते सम्पन्न नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनबाट दिल शिरिषको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति, १८ सदस्यीय केन्द्रीय सभासद र २४ सदस्यीय प्रदेश सभासद सर्वसम्मत चयन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.